scheduleसोमवार आश्विन ८ गते, २०७५

‘जनतालाई व्यवस्थापन गर्न गएका नेता आफैं व्यवस्थित भए’

प्रशान्त सिंह

देश दौडाहा र अनुभूति
सातै प्रदेशको भ्रमण र राजनीतिक भेटघाट, छलफल र अन्तर्क्रियापछि मैले केही निष्कर्ष निकालेको छु । फरक पृष्ठभूमिबाट राजनीतिक अभियानमा जोडिएपछि मेरा दुई अवलोकन छन् । नेपालमा पछिल्लो समय यहाँका समस्याहरु धेरै नै बल्झाइएको जस्तो लाग्छ । हिमाली जनजाति, आर्यखस, मधेसी, मुस्लिम आदिसँग कुरा गर्दा अन्य देशमा जस्तो एकअर्काप्रति वैरभाव देखिँदैन । हाम्रोमा धेरै हदसम्म राजनीतिक अपरिपक्वता देखाइएकोले देश द्वन्द्वतिर गइरहेको जस्तो लाग्छ मलाई । देशव्यापीरुपमा घुम्दा पहिचान, विविधता र समावेशिताको कुरामा मानिसहरु संवेदनशील रहेको पाएँ । हामीले विविधताको व्यवस्थापन र समावेशिताको कुरा एउटै भाष्य र एउटै शैलीमा गर्दा सबै समुदाय भावनात्मक बनेका पायौं ।

हामी सबैको साझा मैदान छ, साझा बुझाई छ । झण्डै ३००० किलोमिटरको यात्रापछि ममा नयाँ आत्मविश्वास पैदा भएको छ । त्यो भनेको नेपालीको आपसी सहिष्णुताको कारण विविधताको व्यवस्थापन एकदमै सहज छ । नयाँ शक्ति देशलाई जोड्ने अभियानमा छ । समय लाग्छ, तर सकिन्छ, सम्भव छ । म सकरात्मक सन्देश लिएर आएको छु ।

अर्को पक्ष, हिजो विभिन्न आन्दोलन, जनयुद्ध आदिमा हजारौं मानिसहरु सहभागी भए । उनीहरुले आफन्त गुमाएका छन् । कतिका आफन्त अझै बेपत्ता छन् । कतिको अंगभंग भएको छ । व्यक्तिगत जिन्दगी अस्तव्यस्त छ । उनीहरुको पीडालाई राज्यले सम्बोधन गर्न नसकेको देखियो । उहाँहरुको मुद्दा छिनोफानो भएको छैन । उहाँहरुमा एकप्रकारको नैराश्य र दुःखको भावना छ । अंग्रेजीमा ‘हन्टेड’ भन्छ, जस्तो कि ‘भूतप्रेत’ लागेको जस्तो । एउटा पंक्तिमा त्यस्तै अनुभूति छ । मैले यस्तो अनुभूति गरेँ । यो समस्याहरुको सामूहिकरुपमा निर्क्यौल हुनुपर्छ । भौतिकवादीहरुले यसलाई नमान्न सक्नुहुन्छ । तर म अध्यात्मलाई पनि मान्छु । कसैको घरमा अकालमा मानिस मरे वा दुर्घटनामा परे भने त्यो ठाउँसम्म जान पनि मन लाग्दैन ।

कतिपयले त आफन्त बितेको कोठा बन्दै गरेर राखिदिन्छन् । एकजनाको परिवारमा घटना घट्दा त यस्तो हुन्छ भने हजारौंको परिवारमा यस्तो घटना घटेको छ । यसको प्रभाव कसरी नहोला र ? मानिसले आफ्नो आँखा अगाडि नरसंहार देखेका छन् । आफन्तहरु मरेको देखेका छन् । त्यसको ‘हिलिङ’ अहिलेसम्म नभएको जस्तो मैले महसुस गरेँ ।

राजनीतिकरुपले विभिन्न कागजपत्रमा हस्ताक्षर भए । हामीले ताली बजायौं । खुसी मनायौं । तर, सामाजिकरुपमा द्वन्द्वका घाउहरु भरिएको मैले महसुस गर्न सकिनँ । त्यही भएर मैले ‘हन्टेड कन्ट्री’ भनेको । यो दोस्रो निष्कर्ष चाहिँ दुःखद छ । यसलाई निर्क्यौल नगरी अगाडि बढ्न सकिन्नँ ।

अभिमन्यू धेरै जन्मिए, अर्जुन जन्मिएनन्
यिनै राजनीतिक आन्दोलनका नेतृत्व गरेका नेताहरु पटक पटक सत्तामा पुगे र छन् । उनीहरुले यो समस्या बुझेनन् कि बुझ्न चाहेनन् कि बुझेर पनि समाधान गर्न सकेनन् ? भन्ने प्रश्न पनि जन्मन सक्छ । यो प्रश्नको दुई पक्ष हुन्छन् । कतिपयमा संवेदनहिनता पनि हुन्छ । खासगरी मृत्यूकै बीचबाट हिंडेर आएकाहरुले मृत्यूलाई हेर्ने नजरिया र कहिल्यै पनि नजिकबाट मृत्यूलाई नव्यहोरेका मानिसले यसलाई हेर्ने दुष्टिकोण फरक हुन्छन् । त्यसो त, संवेदनहिनता भन्दा उहाँहरुलाई दोष दिएजस्तो देखिएला । तर, त्यस्तो माहोलमा संवेदनशिलता अलि क्षिण वा कमजोर भएको हो कि ? मैले जसरी यो कुरालाई एउटा प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरिरहेको छु, अरुले यस्तो गरेको पाउँदिनँ । यही प्रक्रियामा दुःख भोगेर आउनुभएको कतिपय नेतृत्वले पनि त्यति महत्व दिएको पाउँदिनँ । उहाँहरुभित्र पीडा भइरहेको चाहिँ कुराकानीको क्रममा महसुस गर्न सकिन्छ । तर, उहाँहरुले नै यही सवाल उठाउँदै बोलेको चाहिँ मैले पाएको छैन ।

अर्को दृष्टिबाट हेर्दा यहाँ कसैलाई दोष दिन मन लाग्दैन । विनाश चाहने सोच मानवमा कम नै हुन्छ । प्रायःले विकास नै सोचेको हुन्छ । जनयुद्ध र जनआन्दोलनका नेतृत्व गरेका नेताहरु यो समस्या बिर्सन चाहन्छन्, समाधान गर्न चाहँदैनन् भनेर म कहिले पनि विश्वास गर्न सक्दिनँ । समाधान गर्न चाहँदा चाहँदै पनि उहाँहरुमा क्षमता नै रहेन कि ? उहाँहरु कहिँ न कहिँ अल्झि रहनुभएको छ । संसारमा धेरै ठाउँमा स्वाधिनता र स्वतन्त्रताको लागि यस्ता आन्दोलनहरु भएका छन् । मान्छेहरु मरेका छन् । यस्ता गृहयुद्धहरु भएका छन् । पछि सहमति पनि भएका छन् ।

नजिकैको छिमेकी भारतमा स्वतन्त्रताको लडाईं लडेकालाई राज्यले छुट्टै सम्मान र सुविधा दिएको पाइन्छ । हाम्रोमा त्यस्तो भइरहेको छैन । त्यस्ता घटनाहरुबाट सिक्दा त्यति गाह्रो त थिएन । कहिलेकाँही हामी भन्छौं, हामीले अभिमन्यू मात्र धेरै पायौं, जो चक्रव्यूहमा पस्न हिम्मत चाहिँ देखाउन सक्छ, तर आफैं त्यही चक्रव्यूहको शिकार हुनेगर्छ । नेपालले पाउनुपर्ने त अर्जुन जस्तो पात्र हो नि । जो चक्रव्यूहमा पस्छ, नराम्रा तत्वहरुसँग लड्छ र त्यसबाट बाहिर निस्कन सक्ने हैसियत राख्छ ।

समस्याः नियत कि क्षमता ?
यहाँ क्षमता र अभिप्रायको कुरा हुन्छ । म भर्खरै राजनीतिमा आएको छु । त्यसैले म नेताहरुको अभिप्राय नै गलत छ भन्ने विश्वास गर्दिनँ । १३ वर्ष जेल बसेका, टाउकोमा कफन बाँधेर लामो र कष्टसाध्य राजनीतिक जीवन बिताएका नेताहरुको कसरी नियत नराम्रो हुन सक्ला र ? अहिले राजनीतिको बागडोर सम्हालिरहेका नेताहरु असाध्यै अप्ठेरो समयमा राजनीतिमा होमिनुभएको थियो । उहाँले धेरै जोखिम बहन गरेर उक्त बाटो रोज्नुभएको थियो । अब भन्नुहोस्, यस्ता नेताहरुको नियत नै नराम्रो छ भनेर कसरी विश्वास गर्ने ? यहाँ त व्यवस्थापनको समस्या नै मुख्य रह्यो कि जस्तो लाग्छ । मैले अघि पनि भनेँ, अभिमन्यूको क्षमता लडाई लड्नेसम्म मात्र हो । चक्रव्यूहभित्र पस्ने हिम्मत धेरैले गरे । बिपीले पनि लामो संघर्षपछि राजासँग सम्झौता गरे । बिपीले राजालाई भन्दा राजाले बिपीलाई खेलाएको जस्तो देखियो । त्यहाँ पनि व्यवस्थापनकै कमजोरी देखियो ।

पुराना शासकहरुले हरेक नेताहरुलाई खेलाउन खोजिहाल्छन् । ०४६ साल र त्यसपछि पनि शासकहरुले नेताहरुलाई खेलाएकै देखियो । नेपाली कांग्रेस र एमालेहरु त पूर्णरुपमा शरणमै गइसकेका थिए । महेन्द्र, विरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मले खेलाए । माओवादीले जनयुद्ध नगरेको भए अहिले पनि ज्ञानेन्द्रको शासन व्यहोर्दै पारसको शासनको प्रतिक्षा गरिरहेका हुनेथियौं हामी ।

अर्जुनको खोजी

प्रशान्त सिंह

यो श्रृंखला हेर्दा बिपीदेखि अहिलेका नेतासम्ममा व्यवस्थापनको समस्या देखियो । व्यवस्थापन गर्ने जाने नेताहरुलाई व्यवस्थाले नै व्यवस्थापन गरिदिएको पाइयो । जनतालाई व्यवस्थापन गर्न गएका, आफैं व्यवस्थित भए । बिपी पनि राजालाई व्यवस्थापन गर्न चाहन्थे, राजाले नै व्यवस्थापन गरिदिए ।

हरेक देशमा अन्य कुरा आयात गरे पनि नेता आयात गर्न सकिँदैन । सकिन्थ्यो भने नेपालको भुक्तानी सन्तुलनमा नै संकट हुन्थ्यो होला । नेता आफ्नै समाजमै उत्पादन गर्नुपर्ने हुन्छ । कहिले पाइएला भनेर कसरी अनुमान गर्ने ? हाम्रै नेतृत्वको कुरा गर्दा पनि जनतालाई आफ्नो कुरा सञ्चार गर्न सक्नु, बुझाउन सक्नु पनि व्यवस्थापनकै कुरा हो ।

यो व्यवस्थापनमा हामी पनि धेरै चुकिरहेका छौं । हामीसँग नेतृत्व गर्ने चिन्तन छ । मैले नै भन्दा अलि पक्षपाती जस्तो सुनिएला । तर, यी यावत समस्यालाई व्यवस्थापन गर्न सक्ने क्षमता डा. बाबुराम भट्टराईले देखाउन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ । हामी सबैले छातीमा हात राखेर सोचौं । हाम्रा देशका हरेक नेतालाई दिमागमा राखेर सोचौं । पहिलो पुस्ताका ओली, प्रचण्ड हुँदै देउवासम्म र दोस्रो पुस्ताका वामदेव, रामचन्द्र हुँदै अन्यलाई पनि । अनि डा. भट्टराईलाई पनि सोचौं । अहिलेको देश विदेश बुझ्न सक्ने चेतना, लगनशीलता र इच्छाशक्ति उहाँमा नै उच्च देखिन्छ । तर, उहाँले पनि सक्ने र नसक्ने कुरा समयले बताउला । हामी सुरुवाती यात्रामा छौं । गएको निर्वाचनमा हामीले जनतालाई बुझाउन सकेनौं । हाम्रा केही क्रियाकलापले पनि आशंका पैदा गर्‍यो ।

राजनीति गर्ने भनेपछि सुरुमा जनताको विश्वास जित्ने र सहयोग लिने व्यवस्थापन र देशकै नेतृत्व गर्ने व्यवस्थापन, यी दुवै कुरामा क्षमता देखाउन सक्नुपर्छ । निष्कर्षमा भन्दा अर्जुनको भूमिकामा आउन सक्ने नेता पहिलो र दोस्रो पुस्तामा हेर्दा डा. बाबुराम भट्टराई मात्रै हुन् । ठोकेरै भन्न सकिन्छ । १५–२० वर्षपछिको कुरा म भन्न सक्दिनँ । त्यतिबेलासम्म अरु नेतृत्व पनि जन्मिन सक्छन् । यसर्थ, केही दशकका लागि समृद्धिकरणको नेतृत्व गर्न सक्ने नेता नयाँ शक्ति पार्टीसँगै छ ।

डा. भट्टराईको चिरफार
डा. भट्टराईकै बारेमा समीक्षा गरौं । म आफैंले उहाँसँग संगत गरेको पनि लामै समय भइसक्यो । उहाँका सवल र दुर्वल पक्षबारे घोत्लिँदा, उहाँको पहिलो सवल पक्ष भनेको उहाँ नतिजाप्रति प्रतिवद्ध मान्छे हो । यही कुरा कहिलेकाँही उहाँको कमजोरीको रुपमा पनि देखिन्छ । नतिजाप्रति प्रतिवद्ध मान्छेको नजिकका साथीहरुलाई पनि खै उहाँ त मप्रति प्रतिवद्ध हुनुहुन्न जस्तो लाग्न सक्छ । झण्डै एक दर्जनजति मानिसको कोटरी बनाउने र उनीहरुलाई सर्वेसर्वा देख्ने अनि राजनीतिक विजय भयो भने मन्त्री र लाभका पदमा उनीहरुलाई लैजाने अभ्यास नेपालमा धेरै छ । उहाँले मसँगको कुराकानीमा आफूलाई त्यस्तो कामबाट बचाउँदै आएको बताउनुहुन्छ । यसको असर के हुन्छ भने नजिकैको मानिसहरुले आफूलाई अवसर नदिएको गुनासो गर्छन् । ‘उहाँ त एक्लै निर्णय लिनुहुन्छ’ भन्ने गुनासो पनि सुनिन्छ । तर यही बानीलाई सवल पक्षको रुपमा पनि हेर्नुपर्ने हुन्छ ।

विश्वका महान नेताहरु जस्तै मण्डेला, गान्धीको कुरा गर्ने हो भने उहाँहरु व्यक्तिप्रति कहिले पनि प्रतिवद्ध हुनुभएन । उहाँहरुले जहिले पनि नतिजा (इण्ड रिजल्ट)प्रतिको प्रतिवद्धता देखाउनुभयो । डा. भट्टराईमा पनि यो गुण देखिन्छ ।

कतिपयले उहाँलाई सानो पार्टीको ठूलो नेता पनि भनिरहेका छन् । तर मैले यसलाई अस्थायी सवालको रुपमा लिएको छु ।

गणतन्त्र स्थापना गर्ने उहाँको पहिलो लक्ष्य थियो । त्यो पूरा भएपछि उहाँ अब समृद्ध नेपाल बनाउने अर्थात् नेपालको समृद्धिकरणको चरणलाई सहजीकरण गर्ने लक्ष्यप्रति दृढ देखिनुहुन्छ । त्यसका लागि जस्तोसुकै जोखिम मोल्न पनि उहाँ तयार देखिनुहुन्छ । जसरी हिजो गणतन्त्र प्राप्तिको लक्ष्यप्रति प्रतिवद्ध र साहसी देखिनुभयो । जसले जतिसुकै आलोचना गरे पनि । उहाँले अहिले नयाँ लक्ष्यका लागि नयाँ मानिसहरु र नयाँ बन्न तयार मानिसहरु खोजिरहनुभएको छ ।

अर्को कुरा उहाँ राजनीतिशास्त्रको अध्ययन र व्यवहारिक प्रयोगमा अब्बल नै हुनुहुन्छ । पढेका कुरालाई व्यवहारमा उतार्ने जुन आँट, साहस र नतिजाप्रतिको धैर्यता छ, त्यो उहाँको अर्को सवल पक्ष हो । संसारमै मानिन्छ, नेतृत्व भनेको ८० प्रतिशत साहस हो र २० प्रतिशत क्षमता र प्रतिभाको कुरा हुन्छ । उहाँले जीवनभर साहस देखाइरहनुभएको छ । पिएचडी सकेर राजनीतिमा पस्दा, जनयुद्धमा होमिँदा होस् वा छँदाखाँदाको पार्टी छाडेर नयाँ शक्ति निर्माण अभियान सुरु गर्दा होस्, उहाँमा अत्यधिक साहस देखिन्छ ।

अंग्रेजीमा ‘नेभर से डाइ’ भनिन्छ । उहाँमा सधैंभरी केही न केही गरिराख्ने बानी छ । जस्तोसुकै प्रतिकूलतामा पनि हार नमान्ने र लक्ष्यप्रति प्रतिवद्ध रहनसक्ने बानी उहाँको सवल पक्ष हो । उमेर जतिसुकै भए पनि यसले उहाँमा जुझारुपन देखिन्छ । एक्लै भएपनि, चुनाव हारे पनि उहाँको जुझारुपनामा उतारचढाव आउँदैन । कतिपयले उहाँलाई सानो पार्टीको ठूलो नेता पनि भनिरहेका छन् । तर मैले यसलाई अस्थायी सवालको रुपमा लिएको छु ।

उहाँ अत्यधिक अध्ययन गर्न सक्नुहुन्छ । उहाँले रणनीतिक हिसाबले बोल्नुभएको कुरा कतिपय मानिसका लागि शास्त्रीय संगीत जस्तै नबुझिने पनि लाग्न सक्छ । उहाँले शास्त्रीय संगीतको ढंगले भन्नुभएको कुरा हामीले लोक लय, पप शैली आदिमा भन्दा मानिसहरु प्रसन्न भएर सुनेको र बुझेको पनि पायौं । यसरी हेर्दा उहाँको लक्षित समूह हेरेर कुरा बुझाउन नसक्नु अर्थात् सञ्चारमा अलि कमजोरी भइरहेको छ कि जस्तो पनि लाग्छ ।

पहिचान र समावेशिताः के बोलियो, के बुझियो
यो गज्जबको उदाहरण हुनसक्छ । किनभने, नयाँ शक्ति जातिवादी पार्टी हो भन्ने सन्देश गयो । कतिपय जातिवादी संकिर्ण सोच भएका नेताहरुको पनि आउनेजाने क्रम देखियो । त्यसैले प्रश्न उठ्यो कि के नयाँ शक्तिले जातिवादलाई प्रश्रय दिइरहेको छ ? नयाँ शक्ति भन्नासाथ कतिपयले जातिवादी द्वन्द्वलाई आगोमा पेट्रोल थप्ने काम गर्ने पार्टीको रुपमा लिने गरेको पनि पाएँ । जबकि सत्य अर्कै छ । नयाँ शक्तिले अगाडि सारेको पाँच सको अवधारणामा यो कुरा स्पष्ट छ । नयाँ शक्तिले जातियतालाई एउटा समस्याको रुपमा लिन्छ । जातिवादी द्वन्द्वलाई यसले सिध्याउन चाहन्छ । शोषक वर्ग होस् वा त्यसको काउन्टर गर्नको लागि आउने शाषित वर्गबाट होस्, सबै प्रकारका जातिय वर्चश्वलाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रतिवद्धतास्वरुप नयाँ शक्तिले लिखितरुपमा अगाडि सारेको छ । तर सन्देश अर्कै गयो । जनताले त ठिक उल्टो ढंगले बुझे ।

कोही त खुलम्खुला जातिवादी पार्टी बनाउनै कम्मर कसेर लागेका थिए । झण्डै विभिन्न जातिवादी पार्टीहरुको एउटा फेडेरेसन जस्तो ।

जस्तो मधेसी दलसँग एकताको प्रसंग चल्यो । त्यतिबेला त उपेन्द्र यादवलाई मधेसवादी चिन्तनबाट राष्ट्रवादी चिन्तनमा ल्याउनलाई डा. भट्टराईले प्रयास गर्नुभयो । त्यहाँ त अशोक राईहरु पनि छन् । अशोक राई र उपेन्द्र यादवको बीचमा डा. बाबुराम भट्टराई आउँदा एउटा साँच्चिकै समावेशी पार्टी बन्न सक्छ भन्ने बुझाई थियो । तर, उहाँहरुमा त्यस्तो सोच र रुपान्तरण नदेखेपछि त्यो कुरा हामीले रोक्यौं । उपेन्द्र यादवको पार्टीमा जनजाति पनि छन् भन्ने मानिसहरुलाई यादै नहुने अवस्था सिर्जना भएको रहेछ ।

उपेन्द्र यादवसँग हात मिलाउँदा जब अशोक राई बिर्सने कुरा हुन्छ, अनि मानिसहरुले त यो पनि मधेसवादी पार्टी सहयोग गर्न लागेको हो कि भन्ने बुझे । तर, हामीले त मधेसवादीलाई राष्ट्रवादी बनाउन खोजेको हो । हामीले वृहद् रुपमा इन्द्रेणी राष्ट्रवादको कुरा गरिरहेका छौं । जनजाति, आर्यखस र मधेसी मिलेर एउटा एकीकृत नेतृत्वसहितको पार्टी बनाउन खोजेको हो भन्ने कुरा हामीले सकैलाई बुझाउनै सकेनौं । आफ्नै पार्टीभित्र पनि चुनाव जित्न हाम्रा नेताहरु मधेसीसँग हात मिलाउँदै छन् भन्ने भ्रम भयो ।

साँचो कुरा के हो भने अहिले नेपालमा सायद नयाँ शक्ति मात्रै एउटा यस्तो पार्टी हो जसले उही शब्द, वाक्य र भाषा नेपालमा लिम्बू वर्चस्व भएको क्षेत्र होस् वा तामाङ, नेवार, तमु, आर्यखस् वा मधेसी र थारु वर्चस्व भएको ठाउँमा गएर भन्न सक्छ । अरु पार्टीले सबै ठाउँमा एउटै भाषा बोल्न सक्दैनन् । कतिपय नेताहरु त बिना सुरक्षा जानसक्ने अवस्था पनि रहेन । पुराना पार्टीका नेताहरु जहाँ जे बोल्दा ताली आउँछ, त्यही बोलिरहेका छन् । राजनेताले तालीको लागि बोल्दैन । ओली र प्रचण्डलगायत पुरानो पुस्ताका नेताले यस्तो गुण देखाउन सकिरहेका छैनन् । हामीले देखे भोगेकै कुरा हो । अहिले आएका कतिपय नयाँ पार्टीहरु पनि दर्शक र स्रोताको अनुहार हेरेर भाषा बदलेर बोल्छन् । तर, नयाँ शक्ति यदि सत्य कुरा हो भने एकदमै कडा कुरा पनि निर्भयका साथ बोलिरहेको छ । चाहे ताली बजोस् वा गाली । डा. भट्टराईले यो गुण देखाइरहनुभएको छ र नयाँ शक्तिले पनि ।

मधेसवादी अर्थात् जातिवादी
यो कुरा नयाँ शक्तिले सुरुदेखि नै सञ्चार गर्न सकेन । किनकी डा. भट्टराई बाहेक दोस्रो पंक्तिका नेताहरु अधिकांशत स्पष्ट थिएनन् । कोही त खुलम्खुला जातिवादी पार्टी बनाउनै कम्मर कसेर लागेका थिए । झण्डै विभिन्न जातिवादी पार्टीहरुको एउटा फेडेरेसन जस्तो । घुमाई फिराई यसलाई आर्यखसको वर्चस्व रहने पार्टी बनाउन चाहने अदृश्य जातिवादीहरु पनि त्यहीँ थिए । केही डा. भट्टराईको कुरा बुझ्ने पनि थिए । यसर्थ, त्यतिबेला जनतामा होइन, आफ्नो कार्यकर्ता तहमा पनि स्पष्ट सन्देश जान सकेन । तर अहिले नेतृत्व पंक्ति शतप्रतिशत स्पष्टता छ । कम्तिमा दोस्रो तहसम्म एकरुपता छ । अब हामी बिस्तारै सबै तहमा यो स्पष्टताको सञ्चार गर्दैछौं । अब पुराना कमजोरी दोहोरिन्नन् ।

मधेसवादी दल त पूर्णरुपमा हामीभन्दा फरक दल हो । तर उहाँहरुले चाहे भने समावेशिताको बाटो समाउन सक्ने सुविधा छ । आजसम्मको चिन्तन र कार्यशैली हेर्दा उहाँहरु समावेशिता र विविधताको सम्बोधन गर्ने बाटोबाट धेरै टाढा हुनुहुन्छ ।

उहाँहरुको सोचलाई एक वाक्यमा भन्दा आर्यखसहरुको बर्चस्वको विरुद्ध मधेसीहरुको बर्चस्वलाई सकिन्छ भने पूरै मधेसमा नसके पनि कम्तिमा दुई नम्बर प्रदेशमा स्थापित गर्ने लक्ष्य हो । आर्यखसका तर्फबाट गएका शासक वर्गले जस्तो व्यवहार मधेसीसँग गरे, त्यस्तै व्यवहार बदलामा दिने उहाँहरुको चिन्तन हो । उहाँहरुको भाषणहरु सुन्दा पनि तपाईं स्पष्ट हुन सक्नुहुन्छ । उहाँहरुले पास गर्न लागेको कानुनमा मधेसकै दलितलाई बेइमानी गर्न प्रयास गरेको पनि देखियो । पछि सच्याउनु भयो उहाँहरुले । तर सोचौं, सुरुमा त्यस्तो बेइमानी गर्न किन खोजेको होला ? समावेशिताको सोचका साथ अगाडि आएको भए त कम्तिमा मधेसभित्रको विविधतालाई प्रतिबिम्बित गर्नेगरी कानुन बनाउनुपर्‍यो नि त । यसरी हेर्दा, मधेसवादी दल आजको दिनमा जुन राजनीतिक चिन्तनमा आधारित हुनुहुन्छ, त्यसरी मूल्यांकन गर्दा नयाँ शक्तिभन्दा उल्टो सोच भएको पार्टी हो ।

राजनीतिक सपना
मसँग स्पष्ट सपना छ । जसरी हामीले समस्यालाई सल्टाउन सक्नेलाई उद्यमशील भन्छौं, व्यावसायिक कोणबाट हेर्दा व्यावसायिक उद्यमी, सामाजिक समस्या छिनोफानो गर्ने सामाजिक उद्यमशील भयो । हाम्रो देशमा राजनीतिमा पनि ठूलो समस्या छ । बिनाकारण नेपालीहरु नेपालीसँग लडभिड गर्नुपर्ने अवस्था सिर्जना भयो । विदेशीहरुले यसबाट फाइदा उठाइरहेका छन् र उनीहरुले हामीलाई हाँसोको पात्र बनाइरहेका छन् । यो समस्या हो । यसलाई समाधान गर्न म राजनीतिक उद्यमीको रुपमा आफूलाई उभ्याउने प्रयास गरिरहेको छु । राजनीतिक उद्यमशीलताबिना समृद्धिको सपना पूरा हुँदैन । यस्तो सोच राख्ने मान्छे पदको बारे सोच्दैन । उद्यमीहरु अरु कसैलाई सिइओ बनाउन तयार भइहाल्छ । उसको मुख्य ध्येय समाधान गर्न खोजेको समस्याको हल हुन्छ कि हुँदैन भन्नेमा हुन्छ । राजनीतिमा लाग्नेहरुले प्रायः पद, प्रतिष्ठा, चुनाव जित्ने आदिलाई सपना बनाएका हुन्छन् । तर मेरोलागि यी सपना द्वितीय सपना हुन् । प्राथमिक सपना भनेको राजनीतिक समस्याको समाधान गर्नु हो । यो उद्देश्यका लागि जोसुकैलाई नेता मान्न पनि मलाई अप्ठेरो लाग्दैन ।

देशको विकराल राजनीतिक समस्याले गर्दा सन् २०१८ मा आएर पनि हामी संसारको गरिबतम् मुलुकमा सूचिवद्ध भएका छौं । सार्कमा अफगानिस्तानपछि कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा सबैभन्दा कमजोर छौं । अफगानिस्तान किन गरिबीमा छ, हामी सबैलाई थाहा नै छ । मेरो व्यक्ति लक्ष्य भनेको यही समस्या समाधान गर्न योगदान गर्नु हो ।

(पार्टी प्रशिक्षणका लागि लागि कार्यालय टिमसँग झण्डै ३००० किमी यात्रा गरिरहेका नयाँ शक्तिका कार्यालय सदस्य तथा प्रवक्ता सिंहसँग कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob