scheduleसोमवार आश्विन ८ गते, २०७५

जब क्यानडामा लाखेनाच र नेपाली लोक गीत घन्कियो …

माधव दाहाल/टोरन्टो, २३ भदौ । क्यानाडाको ओन्टारियो प्रोभिन्सको राजधानी टोरन्टोमा यहि सेप्टेम्वर १ तारिकमा १२ औं हिमालयन मेला भव्यताका साथ सम्पन्न भएको छ ।

एनसिसियस नामक गैर–नाफामुलक सामाजिक संस्थाको आयोजनामा सम्पन्न भएको उक्त सांस्कृतिक एवं प्रवर्द्धनात्मक मेलामा क्यानाडाका विभिन्न प्रभिन्समा बसोबास, व्यवसाय तथा अध्ययन गर्दै आएका हजारौं नेपालीहरुले सहभागिता जनाए ।

नाथान फिलिप स्क्वायर्सको प्राङ्गणमा भएको उक्त कार्यक्रममा नेपाली संगीत जगतका चर्चित युवा गायक रामकृष्ण ढकाल, बरिष्ठ गायक, संगीतकार तथा संगीत साधक पूर्ण नेपाली, लोक गायिका देविका केसी, प्रवासमा रहेर नेपाली संगीत प्रवर्द्धन गर्न लागि परेको हिमालयन भाईव नामक सांगीतिक समूहका अतिरिक्त स्थानीय अन्य नेपाली कलाकारहरुले आ-आफनो प्रस्तुती दिएका थिए ।

एनसिसियसको आयोजनामा विगत १२ वर्षदेखि सम्पन्न गरिँदै आएको हिमालयन मेलाले यसपटक पनि प्रवासमा रहेका नेपालीलाई एकताको सुत्रमा बाँध्ने काम गर्‍यो । त्यसरी नै प्रवासी नेपालीको देशप्रतिको प्रेम दर्शने तथा एकआपसका खुशी साटासाट गर्ने मात्र होइन, उनीहरुलाई आफनो मातृभूमिप्रतिको कर्तव्यवोध गराउने मेलाको रुपमा परिभाषित भएको छ । हिमालयन मेलाको सफलतामा प्रवासमा बस्ने नेपालीले गर्व गर्ने अवस्थाको सिर्जना भएको देखिन्छ ।

एउटा संस्था विशेषले आयोजना गरेको कार्यक्रमको गुरुत्व कुनै प्रान्तले गरेको प्रान्तीय कार्यक्रम भन्दा सानो थिएन । नेपालीले आफनो पहिचान तथा संस्कृतिलाई कुनै एक सशक्त अन्तराट्रिय फोरममा प्रस्तुत गरेजस्तै थियो उक्त कार्यक्रम । यस अर्थमा कार्यक्रमका आयोजक, स्वयंसेवी, आर्थिक सहायता प्रदान गर्ने सहयोगी हृदयहरुलाई धन्यवाद नदिनु अन्याय ठहर्छ । कार्यक्रम साँच्चै नै भव्य, मनोरन्जनात्मक तथा उपलब्धिमुलक थियो ।

डायस्पोरामा गरिने बृहद सांस्कृतिक पहिचानसम्बन्धी कार्यक्रमहरु मध्ये कै ठूलो कार्यक्रम थियो हिमालयन मेला । नेपालको सांस्कृतिक बिबिधतालाई विश्व जनमानस समक्ष पुर्‍याउन तथा नेपाल र क्यानाडाबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उक्त सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा कुनै शंका छैन ।

कार्यक्रमको उपादेयता र आयतनका हिसाबले हेर्ने हो भने नेपाल र नेपालीको शीर विश्व जनमानस समक्ष ऊँचो बनाउन यस्ता कार्यक्रमहरु अत्यन्त प्रभावकारी हुने यथार्थतालाई नकार्न सकिंदैन । उक्त कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद रिजाल, नेपाल क्यानाडा पार्लियामेन्टरियन ग्रुपकी उपाध्याक्ष तथा एमपी जुली डाब्रुसिन लगायतका बिशिष्ट अतिथीहरुको उपस्थिति थियो ।

विविधता बुझाउँदै विदेशमा


हिमालयन मेलाको सफलतापूर्वक सम्पन्न गरेको एन्सिसियस नामक गैरमुनाफामुलक सामाजिक संस्थाका अध्यक्ष बिदुर केसी भन्छन्, ‘सांस्कृतिक बिबिधता तथा जनसहभागिताका हिसाबले अत्यन्त उपलब्धिमुलक तथा उद्देश्य प्राप्तिमा सफल रह्यो ।’

कार्यक्रम सफल बनाउन कैयन समाजसेवी व्यक्ति तथा स्वयंसेवकहरुले हृदयदेखि नै निस्वार्थ सेवा गरेकोतर्फ लक्षित गर्दै उनले भने, ‘हिमालयन मेलाको सफलतामा सयौं सहयोगी हातहरुको साथ रह्यो । एकजना वा एउटा संस्था विशेषको मात्र मेहनतले यो कार्यक्रम सफल बन्न नसक्ने थियो । सबैले होष्टेमा हैसे गरे, सबैले आफ्नो स्थानबाट सहयोग गरे तथा आआफ्नो क्षमता र व्यस्तताका हिसाबले दिन भ्याउनेसम्मका सहयोग गरे । त्यसैको परिणामस्वरुप हामीले यो वर्षको हिमालयन मेला भव्यताका साथ सम्पन्न गर्न सकेका हौं । अनि नेपालको सांस्कृतिक बिबिधतालाई विश्व जनमानस समक्ष सगर्ग प्रस्तुत गर्न सकेका हौं ।’

केसीले अगाडि थपे, ‘यो मेलाको सफलता हामी सबैको सामूहिक प्रयत्नको परिणाम हो । समग्र समाजसेवी हृदयहरु तथा शुभेच्छुक हातहरुको एकमुष्ट खटाईको परिणामस्वरुप आज हामीले डायस्पोरामा गरिएको सबैभन्दा ठूलो सांस्कृतिक महत्व बोकेको कार्यक्रम विदेशी भूमिमा गर्न सक्यौं । नेपालको सांस्कृतिक सबलता विश्वले देख्यो ।’ उनको बुझाईमा हाम्रो लोक संगीत, पञ्चेबाजा, धिमे, कर्नाल, घाँटु, कुमारी तथा लाखेनाँचको मौलिकतालाई मेलाले सबैका आँखामा पुग्ने गरी पेश गर्न सफल रह्यो ।

कार्यक्रमको समीक्षा गर्दै केसीले साझापोष्टसँग भने, ‘कार्यक्रमको सफल आयोजनापश्चात् हामीले के महसुस गर्‍यौं भने प्रवासमा बस्ने नेपालीहरुको मन मस्तिष्कमा नेपाल नेपालीको माया र आफ्नो भाषा र संस्कृतिप्रतिको मोह जुगौं जुगसम्म पनि जोडिईरहेको हुँदोरहेछ ।’

अध्यक्ष केसीका अनुसार ‘नेपालीलाई विश्वस्तरमा चिनाउन आयोजना गरिने यस्ता सांस्कृतिक तथा प्रबर्द्धनात्मक कार्यक्रमहरुका माध्यमबाट प्रवासमा बस्ने नेपालीहरुले आफ्नो मुलुकप्रति दर्शाउने प्रेम उजागर भएको हुन्छ तथा राज्यको श्रीवृद्धिका लागि उनीहरुले दिएको योगदान प्रष्टिन्छ । नागरिकको यस्तो भावनालाई मलजल तथा जगेर्ना गर्न राज्यले प्रयत्न गर्नुपर्दछ ।’

नेपालीपन जगाउँदै सांस्कृतिक मेला


हिमालयन मेला जस्तै अन्य सांस्कृतिक कार्यक्रमहरुको उपादेयता सम्बन्धी जिज्ञासामा उनी भन्छन्, ‘हिमालयन मेलाजस्तै सांस्कृतिक पहिचान बोकेका मेलाहरुले नेपाल र नेपालीको पहिचान विश्व समुदाय समक्ष प्रस्तुत गर्दछ र यसको निरन्तरताले अन्ततोगत्वा नेपालको कला संगीत र साहित्यको अन्तराष्ट्रिय बजारीकरणमा उल्लेख्य योगदान पुर्‍याउने छ ।’
केसी अगाडि थप्छन्, ‘हाम्रा भावी पुस्तालाई नेपालप्रतिको अपनत्वमा वृद्धि गर्ने हो भने यस्ता कार्यक्रमहरु क्यानाडामा मात्र हैन विश्वका अनेक मुलुकहरुमा पनि हरेक वर्षजस्तो आयोजना गरिनु पर्दछ ।’

यस्ता मेलाहरुले मुलुकप्रतिको कर्तव्यबोधको भावना जागृत गराउने केसीको बुझाई छ । उनी भन्छन्, ‘आफ्ना सन्ततिलाई मुलुकप्रतिको कर्तव्यबोध गराउन, जन्मभूमिप्रति प्रेमभाव दर्शाउन, नेपाली नेपालीबीचमा भाइचारा सम्बन्ध बिस्तार गर्न, एकआपसका सुख-दुःख साटासाट गर्न सम्पुर्ण नेपालीलाई प्रवासमा बसे पनि मातृभूमिप्रति जिम्मेवार छौं भन्ने भाव दर्शाउन यस्ता कार्यक्रमहरुले टेवा पुर्‍याउँछ । यस्ता कार्यक्रमहरुको निरन्तरता र प्रभावकारिताका माध्यमबाट हामीले हाम्रो एकता र भातृत्वलाई अझ मजबुत, दिगो र पारिलो बनाउन सक्छौं । यसपालीको हिमालयन मेलाले सोही कुरालाई प्रमाणित गरेको छ ।’

सांस्कृतिक कुटनीति
यस्ता संस्थाहरुको प्रभावकारिता त्यतिबेला मात्र स्थापित हुन जान्छ, जतिबेला संस्थाले स्थापनाका बखत लिएको उद्देश्य परिपूर्तिका लागि आफूलाई सक्षम प्रमाणित गर्दछ ।’
संस्थाको उपलब्धिप्रति गर्व गर्दै उनी भन्छन्, ‘एन्सिसियस आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको छ र यसमा हामीलाई अत्यन्त गर्व महसुस हुन्छ’ । हिमालयन मेलालाई नेपालीले विदेशी भूमिमा आयोजना गर्ने सांस्कृतिक कार्यक्रमकोरुपमा मात्र नबुझी दुई देशबीच सांस्कृतिक कुटनीति प्रवर्द्धन गर्ने सेतुको रुपमा बुझ्नु पर्नेमा उनको जोड छ ।

यस्ता कार्यक्रमले दुई देशका नागरिकहरुको बीचमा मित्रवत भावना विस्तार गर्न टेवा पुर्‍याउँछ । नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँछ । केसीको बुझाई पनि यस्तै छ । उनी भन्छन्, ‘नेपाल र क्यानडाकाबीचमा मित्रताको मञ्जिल निर्माणमा टेवा पुर्‍याउने यस्ता कार्यक्रमले भावी दिनमा नेपालको कला, संस्कृति र सभ्यताको जगेर्ना गर्न तथा यसको अन्तराष्ट्रियकरण गर्न समेत टेवा पुर्‍याउनेछ ।’

एनसिसियसः प्रवासी नेपालीको साझा चौतारो


‘हाम्रो अस्तित्व त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म हाम्रो पहिचान कायम रहन्छ,’ उनी भन्छन्, ‘प्रवासी नेपालीबीचको भाइचारा तथा उनीहरुको श्रीबृद्धिको एकमात्र उद्देश्य साथ अगाडि बढेकाले आज एनसिसियस क्यानाडामा बसोबास गर्ने आम नेपालीहरुको भाइचारा तथा सांस्कृतिक आदानप्रदानको साझा चौतारो समान भएको छ ।’

‘एनसिसियको काम हिमालयन मेला आयोजना गर्नमा मात्र सिमित रहेको हो र ?’ यो जिज्ञासामा भने केसीको फरक बुझाई छ । उनी भन्छन्, ‘हिमालयन मेलाले मुलुकको लोक कला, सभ्यता र संस्कृतिको प्रवर्द्धनमा ठूलो योगदान दिने भएकाले यसको चर्चा परिचर्चा बढी भएको हो । तर हिमालयन मेलाको आयोजनाका अतिरिक्त संस्थाले अन्य धेरै महत्वपूर्ण कामहरु समेत गरिराखेको छ ।’

के हुन् त अन्य कामहरु ? उनी भन्छन्, ‘विदेशमा आउने नेपालीले सहि र उचित सूचनाका अभावमा धेरै समस्याहरु भोगिरहेका हुन्छन् । सहि सूचना कै अभावका कारण उनीहरु दलाल तथा ह्युमन ट्राफिकरहरुका चङ्गुलमा फस्छन् ।’

यसको निमित्त सहि र तथ्यपरक सूचना आवश्यक पर्ने र यसका लागि आफुहरु व्यवस्थित ढंगले लागिपरेको कुरा उनी दावी गर्छन् । ‘यसका लागि संस्थाको आधिकारिक फेसबुक पेज तथा वेभसाईटका माध्यमबाट विदेश आउने नेपाली युवाहरुलाई सहयोग गरिराखेको छ,’ उनले अन्य कामको बेलिबिस्तार लगाए ।

त्यस्तै संस्थाले क्यानाडा आउने तरखरमा रहेका युवाहरुलाई प्रिसर्भिस तथा पोष्ट सर्भिस प्रदान गर्ने गरेको, एअरपोर्टबाट नै नवआगन्तुकहरुलाई पिकअप गर्ने तथा बसाईका लागि सहयोग गर्ने गरेको, कोठा खोज्न सहयोग गर्ने गरेको, यहाँ आईसके पछि गर्नुपर्ने कामहरुका बारेमा जानकारी दिने गरेको, यहाँका सर्भिस प्रोभाईडरहरुसँग समन्वय तथा सहकार्य गर्न मद्दत पुर्‍याउने कार्य गर्ने गरेको कुरा उनी बताउँछन् ।

उनी थप्छन्, ‘नवआगन्तुकलाई सुरुका दिनमा दिनुपर्ने ऊर्जा, सहयोग तथा समन्वयले नयाँ समाजमा उनीहरुको स्थायित्वलाई महत्वपूर्ण योगदान दिने गर्दछ र यसका लागि हामी सकेसम्म सहयोग गर्दै आईरहेको छौं ।’

विदेशमा हिमालयन मेला सफलतापूर्वक आयोजना गर्दैगर्दा यसबाट नेपाली कला, सभ्यता र संस्कृतिको अन्तराष्ट्रिय फोरममा बजारीकरण गर्न टेवा पुगेकोले आफुहरुलाई यसबाट गर्व महसुस भएको निष्कर्ष सुनाउँछन् केसी ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob