scheduleसोमवार आश्विन ८ गते, २०७५

हुक्काबारबाट पक्राउ परेका बालबालिका र मेरो देशको भविष्य

पंकज राई

भनिन्छ– मानिस जन्मिनासाथ सामाजिक परिवेशमा बाँच्नुपर्ने हुन्छ । सामाजिक परिवेशबाट अलगथलग भएर मानिस मानिसकै रुपमा बाँच्न सक्दैन । त्यसो त, अल्बर्ट आइनस्टाइनको भनाईलाई स्मरण गर्ने हो भने मानिस एकातिर एक्लो प्राणी हो र सँगसँगै सामाजिक प्राणी पनि । यहाँहरु हरेक व्यक्तिको निजी स्वत्व र त्यसलाई प्रभाव पार्ने सामाजिक परिवेशलाई जोड्न खोजिएको छ । व्यक्तिको आफ्नै स्वभाव हुन्छ । फरक फरक स्वभाव केही मानिस मिलेर परिवार बन्छ । धेरै परिवार मिलेर समाज बन्छ, धेरै समाज मिलेर राज्य बन्छ, धेरै राज्य मिलेर देश बन्छ । आमाको कोखबाट सुरु हुने मान्छेको जीवन सामाजिकीकरणको अनन्त प्रक्रियासँगै बुढेशकालमा पुगेर टुंगिन्छ ।

यसरी हेर्दा, एकजना मानिसको चरित्र कस्तो बनिरहेको छ भन्ने प्रश्नको उत्तर ऊ जन्मे हुर्केको परिवेशसँग अलगथलग गरेर हेर्न सकिन्न । जसरी कुनै पनि निर्माण बलियो बनाउन जग बलियो हुनुपर्छ, त्यसैगरी एकजना असल मानिस बन्न उसको पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक जग बलियो हुनुपर्छ । हाम्रो जग भनेको बाल्यकाल नै हो ।

पंकज राई

गत साउन २६ गते शनिबार बुटवलमा १८ वर्षमूनिका बालबालिकाहरु हुक्काबारबाट गिरफ्तार भए । कुलतमा फसेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उक्त घटनापछि मेरो मष्तिष्कमा केही जबरजस्त प्रश्नहरु जन्मिए । उनीहरु किन हुक्का बारसम्म पुगे ? बाहिरको संसारमा किन रमाउन सकेनन् ? कसले सिकाइरहेको छ उनीहरुलाई ? के कुराले प्रेरित गरिरहेको छ उनीहरुलाई ? काँचो माटोको रुपमा रहेका उनीहरुलाई कसले त्यस्तो आकार दिइरहेको छ ? के राज्य भनेको कारबाही गर्ने निकाय मात्र हो ?

मलाई प्रश्नहरुले लखेटिरह्यो ।  के हामीले हाम्रो बालबालिकाको जग बलियो बनाउने गरी पालनपोषण गरेका छौं ? के सरकारले बालबालिकाको गुणस्तरीय जीवन निर्वाह गर्ने आधारहरु तयार गर्न सकेको छ ? २१औं शताब्दीमा मान्छेले पाउनुपर्ने सुविधा पाएका छन् उनीहरुले ? के सरकारले संविधानले सुनिश्चित गरेका कम्तिमा मौलिक अधिकारहरु नागरिक तहसम्म पुर्याउन सकेको छ ?

बालबालिकाहरु झुट बोल्दैनन् । उनीहरु निर्दोष हुन्छन् । छक्कापञ्जा गर्न जान्दैनन् । किन ती बालबालिकाहरु रमाइलोका लागि हुक्का बारसम्म पुग्छन् ? के त्यस्तो बाध्यता आईलाग्यो र उनीहरु आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी त्यत्रो ठूलो चुनौती उठाएर आफ्नो भविष्यमाथि खेलवाड गर्दै रमाइलो गर्न गए ?

हाम्रो वरिपरिको वातावरण हेरौं । अचम्म छ, विद्यालय र घरभन्दा बाहिर बालबालिकाको लागि समय बिताउने कुनै स्थान छ ? हाम्रा बालबालिकाहरु आफूले जानेको सांस्कृतिक प्रतिभा देखाउने मञ्चविहिन रहेछन् । हामी समस्याको ‘रुट कज’ नबुझी दौडिरहेका रहेछौं ।

नेपालको भूगोल हिमाल, पहाड र तराई मिलेर बनेको छ । हामी दक्षिण एसियाको दोस्रो गरिब देशका नागरिक पनि हौं । गरिबीले हाम्रा बालबालिकालाई पनि प्रभावित पारेको छ । हाम्रो समाज बालबालिकालाई आरोप लगाउन अभ्यस्त छ– पढ्न जानेन, खेल्न जानेन, खान जानेन, लगाउन जानेन आदि आदि । तर, हामी अभिभावकले चाहिँ के जानेका छौं ? उनीहरुको हृदयको आवाज कहिल्यै सुनेका छौं ? उनीहरुले के चाहन्छन्, कहिल्यै सोधेका छौं ?

हामीले चुनेर पठाएका प्रतिनिधिहरुले यसबारे कहिल्यै सोचेका छन् ? रेल र पानीजहाजको रुमानी गफमा निसास्सिएका बालबालिकाका लागि सिर्जनात्मक संसारमा रमाएर एक चिम्टी स्वस्थ हावा फेर्ने सुविधा पनि छैन । कहाँ गएर रमाउने उनीहरु ? कहाँहरुले प्रतिभा प्रस्फुटन गर्ने उनीहरुले ? कहिलेकाँही लाग्छ, हामीले बालबालिकालाई अदृश्य जेलमा कोचिरहेका छौं । जहाँ उनीहरु निसास्सिइरहेका छन् । उनीहरु मात्र निसास्सिइरहेका छैनन्, उनीहरुको भविष्य निसास्सिइरहेको छ । राष्ट्रकै भविष्य निसास्सिइरहेको छ ।

हामी अभिभावकले सोच्न, चिन्तन गर्न जरुरी छ हामीले कस्तो नेताहरुलाई देश बनाउने जिम्मेवार ठाउँमा पठायौं ? किन अधिकांश नेपालीको घरमा कलह चलिरहेको छ ? किन प्रेम, सद्भाव भन्ने कुरा हाम्रो समाजबाट दिनप्रतिदिन घट्दै छ ? के आर्थिकरुपमा सम्पन्न हुनु नै विकास हो ? केवल चौंडा सडकहरुले मात्र मानिसको भविष्यको आयातन फराकिलो बनाइदिन्छ ?

म तीनै तहको सरकारसँग प्रश्न गर्न चाहन्छु– के हाम्रो प्रत्येक वार्डहरुमा भविष्यका कर्णधार बालबालिकाहरुलाई खेल्ने मैदान छ ? के ती बालबालिकाहरुलाई साइकल चलाएर घुम्न हिंड्ने बाटोहरु छ ? के हाम्रो प्रत्येक वार्डमा पुस्तकालय छ ? हाम्रो शिक्षा प्रणालीमा पाठ्यक्रमभन्दा बाहिरको पुस्तकहरु पनि पढ्नुपर्छ भनेर सिकाइन्छ ? हाम्रो बालबालिकाहरुलाई ज्ञान र विवेक दुवै चाहिन्छ भनेर सिकाइन्छ ? के हाम्रो बालबालिकाहरुलाई योगा र ध्यानको महत्वबारे चेतनामुलक कार्यक्रम गरेका छौं ?

हुक्काबारबाट पक्राउ परेका बालबालिकालाई सम्झिरहँदा मलाई यिनै प्रश्नहरुले लखेटिरह्यो । चिमोटिरह्यो ।

विश्व मानव सभ्यताको उत्कर्षमा छ । हामी तेस्रो विश्वका नागरिक जीवन निर्वाहको निम्ति संघर्ष गरिरहेका छौं । अब कम्तिमा मतदानको अधिकार पाइसकेका हामी नागरिकले सोच्नै पर्छ कि हामीले मतदान गर्दा कम्तिमा यी बालबालिकाको वर्तमानलाई बुझ्ने र भविष्यलाई उज्ज्वल बनाउने सक्ने नेतृत्वलाई मात्र मतदान गर्नुपर्छ । कम्तिमा भावी पुस्ता अर्थात् बालबालिकाको भविष्यको निम्ति भए पनि २१औं शताब्दीको पदचापअनुसार समुन्नत समाज निर्माण गर्न सक्षम नेता, सक्षम राजनीतिक पार्टीलाई मतदान गर्नुपर्छ ।

म यो किन भन्दैछु भने यी सबै समस्याको समाधान नै राजनीति हो । यदि वर्तमान जनप्रतिनिधिहरुले यी सबै कुरालाई ध्यान दिएर विकास गर्ने हो भने हाम्रो बालबालिकाहरु कुलतमा फस्ने, गरिबीको कारणले शिक्षा, स्वास्थ्यबाट बञ्चित हुनुपर्ने परिस्थिति यही ५ वर्षभित्र अन्त्य हुन्छ । यदि उहाँहरुले सक्नुभएन भने सचेत नागरिकको हैसियतले हामीले हाम्रो मत बदल्नुपर्छ र हाम्रो भावी पुस्ता, हाम्रो बालबालिकाको अधिकार सुनिश्चित गर्ने दायित्वबोध गर्नुपर्छ ।

केवल गाली गरेर मात्र अगाडि बढ्न सकिन्न । अगाडि बढ्न स्पष्ट निर्णय गर्नुसक्नुपर्छ । बहादुरीपूर्ण निर्णय गर्न सक्नुपर्छ । विवेकपूर्ण निर्णय गर्न सक्नुपर्छ । अन्नतः हाम्रा जनप्रतिनिधिहरु हामीले नै चुनेका हौं । उनीहरुले केही गर्न सकेनन् भने उनीहरुलाई फेर्ने हैसियत केवल हामी नागरिकसँग मात्रै छ । निर्णय नफेर्ने तर नतिजालाई गाली गरिरहनु हाम्रै मुर्खता शिवाय केही हुँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob