scheduleसोमवार आश्विन ८ गते, २०७५

विमान अपहरणः ४५ मिनेटको त्यो दुस्साहस

दुर्गा सुवेदी

०३० सालको विमान अपहरणको अन्तर्कथाहामी जहाजभित्र पस्दा ककपिटनेरको एउटा सिट त खाली थियो, अर्कोमा भने एकजना मान्छे बसिसकेका थिए । हाम्रो योजनाअनुसार एउटामा वसन्त भट्टराई र अर्कोमा म बस्नुपर्ने थियो । अब के गर्ने ?

म त्यो सिटमा बसिरहेका यात्रुनजिक गएँ र भनेँ, ‘मलाई जहाज उडाएको हेर्न साह्रै रहर छ । तपाईं मेरो सिटमा बसिदिनुभयो भने म यहाँ बसेर हेर्न पाउँथेँ ।’उनले मेरो अनुरोध सजिलै स्विकारे र सिटबाट उठेर पछाडि गए ।

अब योजनामुताबिक वसन्त र म ककपिटनजिक, हाम्रा अर्का साथी नगेन्द्र ढुंगेल अलि पछाडि अन्य यात्रुसँगै बसे । हामी सबैले आ–आफ्ना हतियार बोकेका थियौँ । मैले मोटो ज्याकेटमुनि रिवल्भर लुकाएको थिएँ । वसन्तले ग्रिनेड लिएका थिए भने नगेन्द्रसँग मेरो जस्तै रिवल्भर थियो ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९–सिटे ट्विनअटर विमान विराटनगरबाट काठमाडौं जान भनेर उड्न लाग्दै थियो । विमानमा चालक दलका तीनजनाबाहेक हामी १४ जना यात्रु थियौँ । पछि थाहा पाएअनुसार त्यस दिन विमानका पाइलट केदारराज मानन्धर र को–पाइटल त्रिदेव वैद्य रहेछन् ।

हामी बसेको केही समयमै जहाज उड्यो । जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ, ‘भित्र हेर्न जाने होइन ?’ वसन्त पनि सिटबाट उठे । त्यस दिन जहाजमा महिला परिचारिका थिइनन्, पुरुष थिए । हामी ककपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे ।

वसन्त ती कर्मचारीसँग कुरा गर्दै थिए, म भित्र छिरिहालेँ । र, पाइलटको कुर्सीनजिकै पुगेँ । त्यतिन्जेलमा वसन्त पनि छिरे । को–पाइलटले वसन्तलाई रोक्न खोज्दै थिए, मैले पाइलटको घाँटीमा पछाडिबाट एक हातले अँगालो हालेँ र अर्को हातले कन्चटमा बन्दुकको नाल तेस्र्याएँ । र, सञ्चार यन्त्र बन्द गर्न भनेँ । आफ्नो कन्चटमा बन्दुक तेस्र्याएको देखेर पाइलट बेस्सरी डराए ।

‘के गरेको यस्तो ?’ उनी अत्तालिए । उनले कन्चटमा तेस्र्याएको बन्दुक हटाउन खोजे । को–पाइलट वैद्यलाई वसन्तले नियन्त्रणमा लिइसकेका थिए । उनको हातमा ग्रिनेड देखेर को–पाइलट डराइसकेका थिए ।

जहाजले भर्खरै उचाइ लिइरहेको हुनाले पाइलटको एक हात उडान संयन्त्रमा व्यस्त थियो । मैले बन्दुक झन् जोडले दबाएपछि उनले जहाज चलाइरहेको हात पनि हटाएर दुवै हातले बन्दुक हटाउने प्रयास गरे । संयन्त्रमा दुवै हात नभएपछि जहाज एकाएक तलतिर झर्न थाल्यो । यसले गर्दा उनले फेरि एक हात बन्दुकबाट हटाएर संयन्त्रमा नै लगे ।

जहाज फेरि माथि उड्न थाल्यो । मेरो रिवल्भर उनको कन्चटमै थियो । जहाज अलि माथि नै पुगिसकेपछि उनले फेरि एकपटक ‘के गरेको ?’ भन्दै रिवल्भर हटाउने प्रयास गरे ।

त्यसैवेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो । अब ककपिटमा साँच्चिकै लडाइँ सुरु भएको थियो । फर्केर हेर्छु, ती त को–पाइलट पो रहेछन् । वसन्तलाई ठेलेर ती पाइलटलाई छुटाउन आएका रहेछन् ।

तर, एकैछिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले । उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, ‘हामीले भनेको मान्ने कि यो ग्रिनेड यहीँ खोलिदिऊँ ? हामी त क्रान्तिकारी हौँ, मरे मर्छौं । तिम्रो बेबकुफीले तिमी र सबै यात्रुको ज्यान जान्छ । के गरौँ ?’

त्यसपछि बल्ल को–पाइलटले पुरुष परिचालकलाई ककपिटबाट बाहिर जान भने । उनीहरूले सञ्चार यन्त्र बन्द गरे । अब एयरपोर्टसँगको सम्बन्ध विच्छेद भयो । जहाज घरी तल, घरी माथि गरिरहेको थियो । त्यत्तिकैमा वसन्तले पाइलटले कानमा लगाएको माइक्रोफोन खोलिदिए ।

यतिन्जेल मैले पाइलटलाई नियन्त्रणमा लिएको थिएँ तर केही भनेको थिइनँ । यसो बाहिर हेरेको त जहाज निकै पश्चिममा पुगिसकेजस्तो लाग्यो । अनि, मैले पाइलटलाई भनेँ, ‘हामीसित हतियार छन् । हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हौँ । हामीसँग लडेर न तपाईंले केही पाउनुहुन्छ, न जित्नहुन्छ । त्यसैले हामीले भनेको मान्नुस् । र, यो जहाजलाई फर्काउनुस् ।’

मेरो कुरा सुनेर पाइलट मानन्धर अलि शान्त भए । उनले काँपेको स्वरमा भने, ‘तपाईंले मेरो कन्चटमा दुलो पार्ने गरी बन्दुक लगाउनुभएको छ । पहिले यो बन्दुक हटाउनुस् । तपाईंले भनेकै ठाउँमा जहाज लगिदिउँला ।’

अनि, बल्ल मलाई याद भयो, जोस र डरमा मैले बन्दुकको नालले उनलाई साह्रै घोचेको रहेछु । मैले रिवल्भर कन्चटबाट हटाएर टाउकोको पछाडिपट्टि लगाएँ । त्यतिवेलासम्म पनि जहाजका यात्रुलाई ककपिटमा के भइरहेको छ भन्ने थाहा थिएन । जहाज अस्वाभाविक तरिकाले तलमाथि गरेपछि केही गडबड छ भन्ने त लागेको हुँदो हो ।

मैले पाइलटलाई जहाज उतार्ने ठाउँबारे बताएँ, ‘जहाजलाई विराटनगरको दक्षिणमा भारतको फारबिसगन्जमा उतार्नुपर्छ ।’ ‘यत्तिकै नक्सा नभई म लैजान सक्दिनँ, कहाँ कति टाढा छ, यहाँबाट हेरेर थाहा हुँदैन,’ पाइलटले भने ।

‘विराटनगरबाट ३० किलोमिटर दक्षिण हो,’ मैले भनेँ । उनले जहाज कोसीतिर मोडे । अनि, मैले फारबिसगन्ज बजारको नक्सा कोरेको कागज निकालेर उनलाई देखाएँ, ‘रेल्वे स्टेसनको ठीक पूर्वपट्टि एउटा घाँसे मैदान छ । त्यसको एक छेउमा बडेमानको सिमलको रूख छ । रूखको टुप्पामा रातो झन्डा बाँधिएको छ । त्यही झन्डालाई खोज्दै हिँड्नुस् ।’

यति भन्दाभन्दै मैले तल हेरेँ । जहाजले एउटा सहरलाई पार गर्न लागेको देखेँ । कुन सहर हो भनेर पत्ता लगाउन म ककपिटबाट बाहिर निस्किएर जहाजको बीचको झ्यालमा आएर हेर्न थालेँ । ककपिटबाट अगाडि त देखिन्थ्यो, तर तल के छ भनेर भ्यालबाट हेर्न मिल्दैनथ्यो ।

हातमा बन्दुक लिएर म ककपिटबाट निस्किएको देखेपछि यात्रुमाझ हल्लीखल्ली भयो । सबै भयभीत र त्रस्त देखिए । यात्रुको बीचमा बन्दुक लिएर बसेका भए पनि अहिलेसम्म नगेन्द्रले केही भनेका थिएनन् । म ककपिटबाट बन्दुकसहित आएको देखेपछि मानिसहरू आत्तिए ।

उनीहरूले हल्लाखल्ला गर्न थालेपछि नगेन्द्रले उठेर बन्दुक देखाए । उनले सबैलाई राजनीतिक कारणले विमान अपहरण गरिएको, कसैलाई केही हानि नहुने भन्दै शान्त रहन भने ।

मैले झ्यालबाट जति नियाले पनि कुन सहर हो, पत्ता लगाउन सकिनँ । नसकेपछि म फेरि ककपिटतिर फर्किंदै थिएँ । एउटी युवतीले मेरो नाम लिएर रुँदै गरेको सुनेँ, ‘दुर्गा दाइ ! के गरेको यस्तो ? लौ न !’उनी रुँदै थिइन् । मलाई चिनेकी रहिछन् । तर, उनी को हुन् भनेर सोधीखोजी गर्ने फुर्सद मलाई थिएन । म वेगले ककपिटभित्र छिरेँ । र, पाइलटलाई सोधेँ, ‘हामी विराटनगरभन्दा कति टाढा छौँ ?’

‘एक सय किलोमिटर दक्षिणमा उडिरहेका छौँ ।’ फारबिसगन्ज त जम्मा ३० किलोमिटरमा थियो । हामी धेरै टाढा पुगिसकेछौँ भन्ने भयो । मनमा लाग्यो, लौ बर्बाद भयो । फारबिसगन्ज पुग्न सक्ने भइएन ।

त्यसैवेला पाइलटले भने, ‘जहाजलाई वीरपुरतिर फर्काएर लैजाऊँ ।’उनले नक्सामा वीरपुर देखाउँदै थपे, ‘वीरपुरको मैदानमा उतार्न सकिन्छ ।’ उनको कुरा र आफ्नो सम्भावित असफलताले हामीलाई निकै उत्तेजित बनाएको थियो । हामी के गर्ने, कसो गर्ने भनेर यताउता गरिरहेका थियौँ । म ककपिटबाट बाहिर निस्किएर घरी झ्यालबाट बाहिर हेर्थें, घरी भित्र छिर्थें ।

वसन्त भने ककपिटमै बसे । उनको एउटा हातमा ग्रिनेड थियो, अर्को हात त्यसको पिन । पाइलटले हामीले भनेको नमाने जुनसुकै वेला पिन निकालिदिने धम्की दिएर उनले पाइलटलाई थर्काएपछि जहाज पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो । तर, कहाँ गएर अवतरण गर्ने भन्ने तय नहुँदा जहाज आकाशमा चिलजसरी निरुद्देश्य उडिरहेको थियो ।

नगेन्द्रले बारम्बार यात्रुलाई धम्की दिइरहेका थिए, ‘कोही उठ्यो कि गोली हान्दिन्छु । नकराई आफ्नो सिटमा बस्ने ।’ हाम्रो उत्तेजना र हतियार देखेर जहाज, चालक र यात्रुले आत्मसमर्पण गरिसकेका थिए । जहाजमा निस्तब्धता छाइसकेको थियो । कसैले एक शब्द बोल्ने हिम्मत गरेको थिएन । धेरैजसो यात्रु मूर्तिवत् थिए । कोही आँखा चिम्लिएर बसेका थिए ।

कोही भने आँखा चिम्लियो भने केही भइहाल्छ कि भनेझैँ गरी ट्वाल्ल आँखा खोलेर बसेका थिए । सबैका ओठ सुकेका र अनुहार पहेँलो भइसकेका देखिन्थे । नगेन्द्र रिवल्भरको ट्रिगरमा औँला राखेर कसैलाई ताकेजस्तो गरी उभिएका थिए ।

आँखा खुलै राख्नेजति सबै एकाग्र भएर बन्दुकको नाल हेरिरहेका थिए । नगेन्द्रले जता बन्दुक फर्काउँथे, त्यसतर्फका यात्रु बन्दुकको नाल हेरेर काँपिरहेका हुन्थे । मेरा हातमा पनि त्यस्तै बन्दुक भएकाले मसँग कसैले आँखा मिलाइरहेका थिएनन् । म सबैलाई सतर्कताका साथ नियालिरहेको थिएँ ।

म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुलाई थाहा थियो । जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा मैले एउटा यात्रुको कुर्सीलाई एक हातले पक्रेर उभिँदा बन्दुक बोकेको हातले उनको शरीरलाई ठोकिएछ । यात्रुले कम्पित स्वरमा भने, ‘तपाईंको हात काँपिरहेको छ, मेरो शरीरबाट बन्दुकको नाल हटाइदिनुप-यो ।’

उनको त्यो कम्पित आवाजले सबैको ध्यानाकर्षण भयो । यात्रुले आँखा चिम्लिए पनि कानलाई भने चनाखो राखेका रहेछन् । उनीहरूले बोल्ने मानिस र मेरो बन्दुकको नालतर्पm हेरेर केही भन्न थाले । जहाजमा आवाज बढ्न थालेपछि मैले सबैलाई शान्त रहन अनुरोध गर्दै चालकको कोठाभित्र पसेँ ।

पाइलटले मेरो अनुहार नहेरीकनै भन्न थाले, ‘जहाजमा अब धेरै इन्धन छैन । हामी विराटनगर पुग्न सक्छौँ के गर्ने ? तपार्इं जे भन्नुहुन्छ, म त्यही गर्छु ।’ मैले उत्तेजित हुँदै पाइलटलाई भनेँ, ‘अब विराटनगर फर्किएर आत्मसमर्पण गर्ने कुरै छैन । हामीले निर्धारित गरेको ठाउँमा पुग्नेसिवाय अरू विकल्प सोच्दै नसोच्नुस् ।

जहाज त जसरी नि फारबिसगन्ज पु-याउनैपर्छ । जहाजको इन्धन सकिएछ भने हाम्रो यात्राको अन्त्य हुने नै छ । त्यसैले हामीलाई साथ दिनुबाहेक अर्को उपाय तपाईंसँग पनि छैन ।’ जहाजलाई फेरि कोसीको पुलतर्फ मोड्न अनुरोध गरेँ ।

वास्तवमा त्यो नेपाली कांग्रेसको नेतृत्वमा पञ्चायती शासनविरुद्ध भइरहेको राजनीतिक विद्रोहको एउटा हिस्सा थियो । हामी सशस्त्र संघर्षको चरणमा थियौँ र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो ।

त्यसपछि म ककपिटबाट बाहिर आएँ । चालक र सह–चालकले हाम्रो प्रतिकार गर्ने प्रयत्न छाडेर जहाजलाई नै व्यवस्थित गरिरहेका थिए । वसन्तको हातमा सैनिकले प्रयोग गर्ने शक्तिशाली ३६ ग्रिनेड थियो भने नगेन्द्र र मेरो हातमा ३२ रिवल्भर देखेर पुरुष परिचालक जहाजको ढोकानेर गएर निर्जीव भई उभिएका थिए । उनी आफ्नो दुवै हातले जहाजको ढोकाको फित्ता समातेर एकोहोरो बाहिरतर्फ हेरिरहेका थिए । केही यात्रु भने साउती स्वरमा एक–आपसमा बोलेको सुनिन्थ्यो ।

१० मिनेटपछि हामी फेरि कोसी ब्यारेजमाथि उडिरहेका थियौँ । जहाजको बीचमा उभिएका नगेन्द्रले यात्रुलाई शान्त पार्ने प्रयास गरिरहेका थिए । म निरन्तर उनको आवाज सुनिरहेको थिएँ । ‘यस अपहरणमा तपाईंहरूलाई केही हुँदैन । जहाजबाट राष्ट्र बैंकको पैसा काठमाडौँमा जम्मा गर्न लगिँदै छ । हाम्रा नेता बिपी कोइरालाले घोषणा गर्नुभएको सशस्त्र क्रान्तिका लागि हामी यो पैसा लुट्दै छौँ । त्यसपछि तपाईंंहरू छुट्नुहुनेछ ।’

वास्तवमा त्यो नेपाली कांग्रेसको नेतृत्वमा पञ्चायती शासनविरुद्ध भइरहेको राजनीतिक विद्रोहको एउटा हिस्सा थियो । हामी सशस्त्र संघर्षको चरणमा थियौँ र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो । त्यसैवेला नेपाल राष्ट्र बैंकले भारु ३० लाख विराटनगरबाट काठमाडौंतर्फ लैजान खोजेको थाहा पाएपछि हामीले बिपी र गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरण गरेका थियौँ ।

आफूहरूको उद्देश्य बताएपछि नगेन्द्रले बैंकका कर्मचारी दिलीपजंग थापासँग विराटनगरबाट काठमाडौं राष्ट्र बैंकमा जम्मा गर्न दिएको पत्र पनि मागेर लिए । उनी सुरुबाटै बैंकका ती कर्मचारीको सिटछेउ बसेका थिए ।

त्यसपछि यात्रु शान्त देखिए । म ककपिटभित्र गएँ । जहाजका चालकले भन्न थाले, ‘हामी ब्यारेजबाट अगाडि उड्दै छौँ । यहाँ नजिक एउटा सानो मैदान छ । त्यहाँ ल्यान्ड गरेर यात्रुलाई बचाउन सकिन्छ, हामी पनि बाँच्न सक्छौँ ।’

उनको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो । मैले उत्तेजित भएर भनेँ, ‘तपाईंलाई बाँच्न मन छ, बचाउन मन छ भने मैले भनेको मान्नुस् । किन यहाँ र त्यहाँ भनेर मेरो ध्यान भाँड्न खोज्नुहुन्छ ?’ म पाइलटनजिकै उभिएको थिएँ । बाहिर हेर्दा जहाज त कोसी पश्चिमको एउटा सानो सहरमाथि पुगेको देखियो । मैले पाइलटको कठालो समातेँ, ‘किन अगाडि बढेको ?’

उनले मलीन स्वरमा भने, ‘जहाज आकाशमा उडिरहने वस्तु हो । बसजस्तो एक ठाउँमा रोक्न सकिँदैन । ल म फेरि उतै फर्काउँदै छु, तपाईं जे भन्नुहुन्छ, त्यही गर्छु ।’ त्यसपछि म फेरि ककपिटबाहिर निस्किएँ । हाम्रो तनाव बढिरहेको थियो ।

पाइलटले पहिले नै इन्धन धेरै छैन भनिसकेका थिए । उत्रिनुपर्ने ठाउँ कहाँ हो, पत्तै लगाउन सकिएको छैन । जहाजमा निर्दोष मानिस छन् । हामीले यिनको जीवनसँग खेलबाड गरिरहेका छौँ भन्ने लाग्न थालिसकेको थियो ।

जहाज पुलमाथि उडिरहेको थियो । कसोकसो बाहिर हेर्दा मेलै पुलनजिकैबाट रेलको लिक पूर्वतिर गएको देखेँ । मलाई झट्ट याद आयो, यो लिक त फारबिसगन्ज जान्छ । म एकदमै खुसी हुँदै चालकको कोठामा पसेँ र भनेँ, ‘अब फारबिसगन्ज पत्ता लगाउन सकिन्छ । तपाईं जहाजलाई तल देखिएको रेलको लिक माथि–स्टेसनमा मिल्छ । त्यहीँबाट हामी उत्रने मैदान पनि देखिनेछ ।’

यति भन्दै मैले चालकको कुर्सीको हातामा बस्ने कोसिस गरेँ । तर, बस्नै सकिनँ । मेरा खुट्टा एकदमै शून्य भइसकेका थिए । बस्न खोज्दा घुँडा नै दोब्रिएन । खुट्टा नदोबारी म त्यहाँ अडिएँ । उठ्न खोज्दा उठ्नै सकिनँ ।

मर्ने डरले बाँच्ने उपाय सोच्न एकाग्र हुँदा मान्छेका अन्य अंगलाई मस्तिष्कले अरू आदेश दिँदो रहेनछ । त्यसवेला मलाई कसैले पक्रिन खोजेको भए ममा प्रतिकार गर्ने शक्ति थिएन । दायाँ हातको पेस्तोललाई औँलाले यसरी कसेर पक्रिएको थियो कि मुठी खोल्नै सकिरहेको थिइनँ ।

पेस्तोलको लिभरलाई दबाउन परेको भए चल्ने अवस्था थिएन । लामो समयदेखि दायाँ हातले समातेको हतियार बायाँ हातमा लिन खोज्दा मुठी खुलिरहेको थिएन । देब्रे हातको बलले औँला खोलेर पेस्तोल निकाल्नुपरेको थियो ।

मैले पाइलटको घाँटीमा पछाडिबाट एक हातले अँगालो हालेँ र अर्को हातले कन्चटमा बन्दुकको नाल तेस्र्याएँ । आफ्नो कन्चटमा बन्दुक तेस्र्याएको देखेर पाइलट बेस्सरी डराए । अत्तालिँदै भने, ‘के गरेको यस्तो ?’

चालकले जहाजलाई निकै तलबाट उडाइरहेका थिए । पाँच मिनेटपछि नै हामी फारबिसगन्ज रेल्वे स्टेसनको प्लेटफर्ममाथि पुग्यौँ । म मूर्तिवत् उभिरहेको थिएँ । स्टेसनको पूर्वमा रहेको मैदानमाथि जहाज पुग्यो । मैदानछेउको ठूलो सिमलको रूखको टुप्पामा रातो कपडा पनि देखियो । मैले पाइलटलाई भनेँ, ‘यो मैदानमा विहार सरकारका साना जहाज उत्रिने गरेका छन् । यो जहाज पनि सानै छ, यहीँ उतार्नुपर्छ ।’

चालकले मतिर फर्केर हेर्दै भने, ‘एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ । म जसरी पनि उतार्ने प्रयास गर्छु ।’ अनि, उनले जहाज घुमाउन थाले । जहाज घुमाउँदा घुमाउँदै क्याप्टेनले सोधे, ‘के हो तलका मान्छेका हातमा पनि ग्रिनेड देखिन्छ । कृपया जहाज खाली गरेर मात्र एक्सन…।’

मैले तत्कालै भनेँ, ‘हामी उत्रिएर सामान राखेको ठाउँबाट राष्ट्र बैंकको बाकस निकालेपछि तपाईंले जहाजलाई तुरुन्तै उडाउनुपर्छ । जहाजलाई नोक्सान पु-याउने हाम्रो योजना छैन । सबै यात्रु लिएर विराटनगर फर्किएर जाने मानसिकता बनाउनुहोस् ।’

जहाजको चक्का झारेर चालकले उत्रने तयारी गरे । जहाजले मैदानको बीचमा जमिन छोएको आवाज आयो । मैदानको लम्बाइ उत्तर–दक्षिण थियो । उत्तरतिरको अन्तिम सीमामा पु-याएर जहाजलाई चालकले रोके । जहाज रोकिएपछि यात्रुहरू उठ्न खोजे । तर, नगेन्द्रले बन्दुक माथि उचालेर कसैलाई पनि सिटबाट नउठ्न भनेपछि सबै बसे । नगेन्द्र र वसन्त हातमा हतियार लिँदै उत्रनका लागि गेटमा पुगे । अघि मलाई समात्न झम्टने जहाजका कर्मचारीले नै ढोका खोलिदिए ।

मैले चालकलाई फेरि भनेँ, ‘जहाजको इन्जिन चालू राख्नुहोस् र तलका साथीले सामान निकालेपछि तपाईंलाई जहाज उडाउने इसारा गर्नेछन् । अटेर गर्नुभयो भने उनीहरूले जे पनि कारबाही गर्न सक्छन् ।’

पाइलटलाई यति भनेर म जहाजबाट झर्न ढोकातिर गएँ । म ढोकाको सिँढीमा पुग्दै थिएँ, जहाजका यात्रु एकै स्वरमा कराए, ‘अब हाम्रो के हुन्छ ? हामी पनि यहीँ झर्छौं ।’मैले सम्झाउँदै भनेँ, ‘पाइलटसँग मेरो कुरा भइसकेको छ । तपाईंहरूलाई केही हुँदैन ।

यो जहाज अब यहाँबाट विराटनगर नै फर्किन्छ । तपाईंहरू सकुशल पुग्नुहुन्छ । बरु, बाहिर निस्किन खोज्नुभयो भने बाहिर भएका हाम्रा साथीले कारबाही गर्न सक्छन् ।’ यति भनेपछि कोही निस्किन खोजेनन् ।

मैले फेरि भनेँ, ‘हाम्रो उद्देश्य तपाईंहरूलाई बन्धक बनाउने र खतरामा पार्ने कदापि होइन ।’म सिँढीबाट झर्न थालेँ । केही यात्रु उठेर फेरि कराए, ‘आकाशमा उडिरहँदा हामीलाई बाँच्ने आशा थिएन । अहिले जहाज जमिनमा छ, हामीलाई बचाउनुस् ।’

उनीहरूले यसो भनिरहँदा म जमिनमा उत्रिइसकेको थिएँ । त्यहाँ पहिल्यैदेखि अरू साथी हामीलाई पर्खेर बसेका थिए । जहाज अवतरण गर्नासाथ उनीहरूले राष्ट्र बैंकका सिलबन्द तीनवटा बाकस झिकेर जिपमा राखे, जसमा भारु ३० लाख थियो ।

मैले कर्मचारीलाई ढोका बन्द गर्न इसारा गर्दा गर्दै उसले ढोका लगाइहाल्यो । विराटनगरबाट ८ः१५ मा उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै करिब ९ बजे मात्र फारबिसगन्जमा उत्रिएको थियो । सीधा नाप्ने हो भने विराटनगरबाट फारबिसगन्जको दूरी जम्मा ३० किलोमिटरजति हो । तर, नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ४५ मिनेट लागेको थियो ।

जहाजबाहिर अगाडिपट्टि विनोद अर्याल उभिएका थिए । उनको हातमा ग्रिनेड थियो । उनले इसारा गरेपछि जहाज उड्नका लागि फारबिसगन्जको घाँसे मैदानमा गुड्न थाल्यो । र, छिनभरमा आकाशमा पुग्यो ।

त्यहाँबाट उत्तरतिरको दिशा पक्रेर आकाशमा कतै बिलायो । हामी भने मैदानमा तैनाथ गरिएका जिप चढेर फारबिसगन्जबाट टाढा अररियातिर लाग्यौँ । ४५ मिनेटको त्यो दुस्साहसले एउटा नयाँ इतिहास रचिसकेको थियो ।

(लोकतान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको शुक्रबार सार्वजनिक पुस्तक ‘विमान विद्रोह’को सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob