scheduleबिहिवार श्रावण ३१ गते, २०७५

‘नयाँ पुस्ताले खोजेअनुसार राजनीतिमा नयाँ स्वाद दिन सक्नुपर्छ’

धनकुटा, २२ साउन । स्थानीय तहको चुनावमा नयाँ शक्ति पार्टी, नेपालले आफ्नै चुनाव चिन्ह पाएन । पहाडमा मधेसी दलको मसाल बोकेर चुनावमा गयो भने तराईमा नेकपा संयुक्तको हँसिया । उक्त पार्टीले अपेक्षाकृत मात्र होइन, निराश बनाउने नतिजा हात पार्‍यो ।

तर धनकुटा नगरपालिका–३ मा भने देशव्यापी प्रतिप्रवाह र स्थानीय स्तरमा पनि नेकपाको गढ हुँदाहुँदै पनि नयाँ शक्तिका उम्मेदवार विकास घिमिरे विजयको झण्डा फहराउन सफल भए ।

प्रतिकूलतामा विजय

यस्तो अवस्थामा पनि कसरी सम्भव भयो त विजय ? स्वभाविक प्रश्न जन्मन्छ । नवजवान विकासको उत्तर पनि स्वभाविक नै छ । उनी भन्छन्, ‘पहिलो कुरा, राजनीति भावना पनि हो । जनताको मन जित्ने कुरा हो । मलाई युवाहरुले साथ दिए । मेरो चुनावी मुद्दाको प्राथमिकतामा युवाका सवालहरु थिए । यहाँको आवश्यकताअनुसार कृषि र पर्यटनलाई पनि जोड दिएको थिएँ ।’

त्यसो त, विकाससँग लामो राजनीतिक पृष्ठभूमि छैन । तर, उनी सामाजिक कार्यकर्ता भने हुन् । उनी सानैदेखि समाजसेवामा रुचि राख्ने गर्दथे । उनले आफ्नो गाउँठाउँमा व्यक्तिगत पहलमै केही नमूना काम पनि गर्दै आएका छन् । कामको हिसाबले उनी व्यवसायी हुन् ।

फरक पृष्ठभूमिबाट राजनीतिमा होमिएर प्रतिकूलताको बावजुद चुनाव जित्न कति गाह्रो भयो ? उनको सहज बुझाई छ– राजनीतिमा लागिसकेपछि कि डुब्ने कि उत्रने नै हो । ठूला ठूला दलहरु, उनीहरुको राजनीतिक प्रभावको बीचमा चुनाव लडेर विजयी हुने कुरा गाह्रो नै रहेछ । प्रचार शैली फरक थियो, उनीहरुको र हाम्रो ।’ मतदातालाई ‘नजित्ने उम्मेदवारलाई मत नदेऊ, आफ्नो अमूल्य मत किन खेर फाल्ने ?’ भन्दै प्रतिष्पर्धीहरुले प्रचार गरेको उनी स्मरण गर्छन् ।

एक्लो वृहस्पति
‘चुनाव त जितियो, तर सबैतिर अरुले जितेका छन् । एक्लै के गर्ने ? अन्यौल र अप्ठेरो लागेन ?’ प्रश्न भुईंमा झर्न नपाउँदै उनी सहजै भन्छन्, ‘होइन, मलाई काम गर्न गाह्रो छैन । तपाईं काम गर्न चाहनुहुन्छ भने कसैले रोक्न सक्दैन । मलाई दिइएको बजेट असाध्यै कम छ । विभिन्न घेराबन्दी छन् । तर, मैले यहाँ उपलब्ध साधन स्रोतलाई अधिकतम प्रयोग गर्दै विकासको काममा जुट्छु ।’

प्रदेश नं. १ मा उनी नयाँ शक्तिका एक्ला विजयी वडाअध्यक्ष हुन् । उनलाई एक्लो वृहस्पति पनि भन्न सकिन्छ । तर, उनी यस्तो भनाईसँग सहमत छैनन् । ‘ सडकमा फालिएका ढुंगा र फोहोरलाई पनि हामीले विकासमा परिणत गरेका छौं । म हिजो पनि विभिन्न सामाजिक काम गर्दै आएँ, पैसा नहुँदा पनि जुटाएर काम गर्दै आएको हुनाले पनि सिलिङ बजेटको आधारमा काम गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

एक वर्षको समीक्षाः राष्ट्रवाद र समाजवादको जग गाउँबाट
भनिन्छ– बिहानले दिउँसोको संकेत गर्छ । राष्ट्रवादको नारा दिएर सरकारमा उक्लिएको संघीय सरकार समाजवादको सपना बाँडिरहेको छ । तर व्यवहार र बोलीबीचको विरोधाभाषका कारण सरकारको व्यापक आलोचना हुन थालेको छ ।

यता, नमूना काम गर्न कस्सिएका विकासको एक वर्ष कसरी बित्यो ? उनी भन्छन्, ‘नियमित विकास निर्माणको काम त हुने नै भइहाल्यो । त्यसको अलावा विभिन्न पकेट क्षेत्रहरु निर्माणमा जोड दिएको छु । मालबासे चालुङ्वा सिलुङ्गा भन्ने क्षेत्र चरण क्षेत्रको लागि उपयुक्त छ । घाँस प्रशस्त छ तर, नगदे बाली कम हुन्छ । मैले त्यो क्षेत्रलाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्दैछु । बोयर लगायत उन्नत जातका बोकाहरु ल्याएका छौं । खोर सुधारका कार्यक्रम राखेका छौं । त्यहाँका किसानलाई कसरी बाख्रापालनबाट आत्मनिर्भर बनाउने भन्नेमा मेरो जोड छ ।’

उनले आफ्नो भूगोल देखाउँदै अगाडि थपे, ‘(हातले देखाउँदै) उ त्यो स्याउले, पात्ले र लाकुरे ठाउँमा गाई भैंसीपालन र नगदेबालीको क्षेत्रमा काम गर्दैछौं । जस्तो नगदेबालीको कुरा गर्दा सयपत्री फूल कम्तिमा भारतबाट ल्याउन नपरोस्, यो अभियानमा वडा नं. ३ ले पनि योगदान दिन सकोस् भन्ने हाम्रो सपना छ ।’

विकाससँग सपना मात्र छैन । उनी भाषण गर्ने र आश्वासन बाँढ्ने कुरा खासै मनपराउँदैनन् । सपना कसरी विपनामा रुपान्तरण गर्ने त ? विकास अगाडि व्याख्या गर्छन्, ‘हामीले थाइल्याण्डबाट उन्नत जातका सयपत्रीका बिउबिजन ल्याएर वितरण गरिसकेका छौं । किसानले २५ प्रतिशत लगानी गर्नुहुन्छ, हामीले ७५ प्रतिशत लगानी गरेका छौं । यहाँकै लोकल प्रजातिका फूलहरु रोप्न पनि हामीले किसानलाई प्रोत्साहित गरिरहेका छौं । यसरी हामी फूलमा आत्मनिर्भर बन्दै देशलाई पनि थोरै प्रतिशत योगदान दिन खोजिरहेका छौं ।’

किसानलाई सशक्तिकरण नगरी कृषिप्रधान देशमा कसरी समृद्धिको जग बस्छ त ? उनी स्पष्ट पार्दै भन्छन्, ‘त्यसैगरी गाई र भैंसीको व्यावसायिक पालनका लागि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएर यहाँका राम्रा किसानका लागि लगानी गर्ने जोडमा छु । म सहकारीकर्मी भएकोले पनि यो काम गर्न सजिलो छ ।’

धनकुटाको हिले पर्यटककीय गन्तव्य पनि हो । उनको ध्यान यता पनि छ । उनी भन्छन्, ‘त्यसैगरी कागते र निगालेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिरहेका छौं । मैले यो ठाउँमा सबै घरको रंग हरियो बनाउँदै ‘ग्रीन भिलेज’ बनाउने अभियानमा छौं । केही काम भएको छ, यो वर्षभित्र हामी यो काम सक्छौं । यहाँको फूलबारी र हरियालीलाई व्यवस्थित गर्ने कार्यक्रम पनि अघि बढाएका छौं । चिल्ड्रेनपार्कको कार्यक्रम पनि यही वर्ष पूरा गर्छौं । दैनिक सयदेखि डेढसय पर्यटक भित्र्याउने लक्ष्य छ ।’

त्यसो त, मुलुकमा समाजवादको चर्चा छ । संविधानमा नै समाजवादउन्मुख व्यवस्था भनिएको छ । संघीय सरकारमाथि शिक्षा र स्वास्थ्यमा निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरेर समाजवादविरुद्ध काम गरेको आरोप लागिरहेको छ । विकासको गाउँतिर शिक्षाबारे के हुँदैछ ? उनी भन्छन्, ‘हामीले यहाँका सामुदायिक विद्यालयहरुमा सुधार ल्याएका छौं । प्रत्येक विद्यालयमा इलेक्ट्रोनिक कक्षा सञ्चालन गर्न प्रोजेक्टर र टेलिभिजनको व्यवस्था गरेका छौं । हाम्रो चारवटा विद्यालय छन् । श्रव्यदृश्यमाध्यमबाट कविता सुन्दै, कार्टुन हेर्दै पढून् र बालबालिका विद्यालय आउन रमाउनुन् भन्ने छ ।’

विकासले विद्यालयको भौतिक संरचना सुधारमा लागिरहेको स्पष्ट पारे । ‘भौतिक पूर्वाधारमा सुधारसँगै अभिभावक र विद्यार्थीले अंग्रेजी माध्यमको पढाई खोजिसकेपछि हामीले यसमा केही प्रयास गरेका छौं,’ उनी भन्छन्, ‘अंग्रेजी शिक्षक राख्ने र त्यसको व्यवस्थापन वडा कार्यालयले गर्ने गरी अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेका छौं ।’

‘मेरो कार्यकाल, मेरो वडा’


हरेक नेताको सपना हुन्छ र हुनुपर्छ कि मेरो कार्यक्षेत्र मेरो कार्यकालमा यस्तो बनाउँछु । विकास आफ्नो वडा कस्तो बनाउन चाहन्छन् ? उनी निधार खुम्च्याएर बोल्न थाले, ‘मेरो वडा दुई बजारको बीचमा पर्छ । मैले चुनावमा नै भनेको थिएँ, म यो वडालाई वैकल्पिक बजारको रुपमा विकास गर्छु । पर्यटन क्षेत्रलाई हामी जोड दिन्छौं । पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम ल्याउँछौं । आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका होटल र लजहरु हुनेछन् ।’

उनले अगाडि थपे, ‘बाख्रा पकेट क्षेत्रमा बाख्रा उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्नेछौं । हाम्रो गाईं भैंसी पालन केन्द्रमा उत्पादन भएका दूधले यहाँ मात्र आत्मनिर्भर होइन, अन्त पनि निर्यात गर्न सक्नेछौं । नगदे बालीहरुको पनि केन्द्र बनाउनेछौं । यहाँ चिस्यान केन्द्र राखेर यहाँबाट कृषिजन्य उत्पादन निर्यात गर्न सक्ने हुनेछौं ।’

उनको वडामा सबै विकासलाई मत दिने मतदाता मात्र छैनन् । उनको कामप्रति मतदाताको प्रतिक्रियाबारे उनले रमाइलो ढंगले व्याख्या गरे, ‘राजनीतिक चेतनाले भरिपूर्ण र राजनीतिक इगो बोकेका मतदाताहरु पनि हुनुहुन्छ । कम्तिमा हामीलाई भोट दिनेहरु गलत गरेछौं भन्ने लागेको छैन । साथसाथै, अन्य पार्टीलाई भोट नहाल्नेहरुले पनि यो नआएको भए त कम्तिमा हाम्रोमा यति धेरै परिवर्तन हुँदैनथ्यो भन्ने प्रतिक्रिया दिने गर्नुभएको छ ।’

विकासले बुझेको विकास
विकास मात्र एक वडा अध्यक्ष हुन् । उनलाई आफ्नो छिमेकी जनप्रतिनिधिसँग आफ्नो कामको तुलना गर्न मन लाग्दैन । ‘तुलनाभन्दा पनि म केही रचनात्मक काम गर्न लागिपरेको छु । अरुले के गरिरहेका छन् भनेर तुलना गर्नु आवश्यक छैन । सबैले आफ्नो ठाउँमा इमान्दारितापूर्वक प्रयास गरिरहनु भएको छ भनेर बुझुनुपर्छ ।’

उनको बुझाईमा मानिस चेतनशील प्राणी हो चाहे नेता वा कार्यकर्ता । उनी भन्छन्, ‘हामीमा माया, दया, ईर्ष्या, डाह सबै हुनेरहेछन् । ठूला पार्टीबाट साथ र सहयोग कहिले पाइएको छ, कहिले छैन । जे होस्, माया ममता जनताले गर्नुभएको छ, बाहिरबाट धेरै सहयोग पाउने अपेक्षा छैन ।’

विकासको दृष्टिमा विकासको आफ्नो परिभाषा छ । उनलाई राज्यको मूल प्रवाहमा चलिरहेको विकासको बहस र भाष्यसँग त्यतिधेरै रुचि छैन । ‘जनताको जीवनस्तर कसरी उठाउन सकिन्छ ? मेरो जोड यता छ । मैले बुझेको विकास पुल बनाउनु, बाटो बनाउनु र एक क्वायल पाइप बाँढ्नु मात्र होइन,’ उनी आफूले बुझेको र व्यवहारमा लागू गरिरहेको विकासको मोडेलबारे चर्चा गर्न थाल्छन्, ‘जनताको आर्थिक समृद्धि जबसम्म हुन सक्दैन, तलदेखि जनता जतिबेलासम्म चेतनशील भएर आउन सक्दैन, जबसम्म उनीहरुले आर्थिक जीवन सन्तोषप्रद हुँदैन, तबसम्म हामीले गर्दै गरेको विकास परिणाममुखी हुन सक्दैन । हामीले कल्पना गरेको समृद्धि त्यस्तो हो । हामी तलैदेखि जनताको जीवनस्तर सुधार्ने अभियानमा छौं ।’

राजनीतिमा नयाँ स्वाद
विकास अहिले राष्ट्रिय युवा अभियानका सचिवको जिम्मेवारीमा छन् । साथै, पछिल्लो समय नयाँ शक्ति धनकुटाको संयोजकको जिम्मेवारीमा पनि छन् । उनलाई आफैं आवद्ध पार्टीको समीक्षा गर्न भनियो । उनी खुलेरै बोल्न थाले, ‘राजनीति गर्ने नै हो भने अलि फरक ढंगले पनि गर्न सकिन्छ । हिजोको जस्तो माक्र्सवाद, लेनिनवाद र बीपीको विचार भट्याएर अब जनताले पत्याउनेवाला छैन । बीपीले त्यतिबेला राम्रो काम गर्नुभएको थियो । माक्र्स र लेनिनले पनि राम्रो काम गर्नुभएको थियो त्यतिबेला । यो कुरा दुनियाँलाई थाहा, अब हामीले भनिराख्नु पर्दैन ।’

अब गर्ने के त ? विगतको समीक्षा मात्रै गरेर हुन्छ त ? उनी नरोकिइकन जवाफ दिन थाले, ‘मैले के गरेँ भनेर १५ मिनेट बोल्न सक्ने क्षमता राख्नुपर्यो राजनीति गर्ने मान्छेले । मान्छेको केही सामाजिक उत्तरदायित्व हुन्छन् । त्यसको बोध हुनुपर्यो । मेरोभन्दा हाम्रो र समाजको विषयमा पनि चिन्ता कहिलेकाँही लिनसक्नुपर्छ । समाजको पक्षमा काम गर्ने मान्छेलाई राजनीति गर्न त्यति असहज छैन । हिजोको ब्रान्ड बेचेर, कसैको चित्र बेचेर विकास र समृद्धिको अभियान र आन्दोलनको उठान गर्न सकिँदैन ।’

उनको बुझाईमा नयाँ पुस्ताले राजनीतिमा नयाँ स्वाद खोजेको छ । नयाँ ढंगको राजनीति खोजिरहेको छ । नेकपा वा काँग्रेसले गरेजस्तै ढंगले वैकल्पिक राजनीतिक गर्न नसकिने उनको स्पष्ट बुझाई छ । जनतासँग प्रत्यक्ष नजोडिएको र जनताको जीवनशैलीमा फरक ल्याउन नसक्ने राजनीतिका ठूला ठूला सैद्धान्तिक गफको कुनै भविष्य देख्दैनन् उनी । ‘नयाँ पुस्ताले र समाजले खोजेको राजनीतिमा नयाँ स्वाद दिने हैसियत हामीले राख्नुपर्छ । हाम्रो नेतृत्वले यसबारे बुझेर अगाडि बढ्नुपर्छ,’ उनी नेतृत्वलाई सुझाव दिन पनि पछि परेनन् ।

पार्टीको मात्रै होइन, तपाईंको संयोजक डा. बाबुराम भट्टराईबारे पनि बोलिदिनुस् । आग्रहलाई स्वीकार्दै उनी खुलेर बोल्न थाले । ‘हाम्रो संयोजक प्रयासरत हुनुहुन्छ । उहाँले मेहनत गरिरहनुभएको छ । उहाँको उमेरमा आएर यति गर्न सक्नुभनेको ठूलो कुरा हो,’ विकास अगाडि थप्छन्, ‘उहाँले आफ्नो लागि गर्दै हुनुहुन्न, हाम्रो पुस्ताको लागि गर्दै हुनुहुन्छ, नयाँ पुस्ताको लागि गोरेटो देखाउन खोजिरहनु भएको छ । उहाँले नै आफ्नो जीवनकालमा समृद्धि देख्न सक्नुहुन्छ, सक्नुहुन्न, उहाँलाई नै थाहा छैन । कम्तिमा यही जगमा टेकेर, यही मुद्दा उठाएर हामीले त समृद्ध नेपाल देख्न सक्छौं ।’

बाबुरामको अनुहार ताक्नेहरुलाई विकासको स्पष्ट जवाफ छ, ‘अब संयोजक डा.बाबुराम भट्टराईले गर्नुभन्दा हामी युवाले गर्नुपर्छ, यो हाम्रो लागि हो भन्ने कुरा नयाँ पुस्ताले बुझ्न आवश्यक छ । यति बुझ्न सकियो भने गर्न सकिन्छ । संसारको परिवर्तन मानिसले गरेको हो । हामी पनि मानिस नै हौं । हामीले चाह्यो भने गर्न सक्छौं ।’

  • प्रस्तुतिः सुदर्शन खतिवडा
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob