scheduleमगलवार श्रावण २९ गते, २०७५

सरकार ! जनताले तिरेको राजश्व यता पनि खर्च गर्ने कि ?

डा. लक्ष्मीप्रसाद खतिवडा

भाषामा विज्ञान भएको कुरालाई आत्मसात गरी आज भाषाको अध्ययनलाई भाषाविज्ञान भनिन्छ । विज्ञान भनेको प्रकृतिको व्यवस्थित अध्ययन हो । विज्ञान शब्द उच्चारण गर्ने बित्तिकै पाश्चात्य साहित्यका आदि गुरु मानिने अरस्तुको नाम लिने गरिन्छ । अरस्तुका अनुसार विज्ञान विश्वसनीय ज्ञानको तार्किक र चेतनाजन्य निचोड हो । तर पूर्वीय परम्परामा अरस्तुभन्दा पुराना ऋषि, दार्शनिक र सिद्धान्तका प्रणेता पनि छन् जसको कुरालाई अन्धविश्वास भनेर टार्ने गरिन्छ ।

मानिसलाई अरु प्राणीबाट अलग्याउने मुख्य आधार भनेको भाषा नै हो । भाषा कसरी विकसित भयो? भाषा विकासशील किन रह्यो ? किन, कसरी, कहिले मानिसहरूले भाषाको विकास गरे जसले मानिसलाई सन्सारका अरु प्राणीबाट फरक पार्छ । चिम्पान्जी, पक्षी, व्हेलमाछा र केही अन्य प्रजातिहरु आवाज वा हाउभाउमार्फत सञ्चार गर्दछन् भनिन्छ । तर मानिसले विकास गरेको जटिल भाषिक प्रणालीमा धेरै प्रकारका ध्वनि, शब्द, वाक्य आदि बनाएर अर्थ उत्पादन गर्ने शक्ति हुन्छ । यही अर्थ उत्पादन गर्ने शक्तिका कारण आज मानिस भाषालाई महत्व दिइरहेको छ । यही अर्थ उतपादन गर्ने शक्तिले गर्दा मानिसले सन्सारमा राज गर्न सकेको हो । त्यसैले भाषा दर्शन सन्सारका सबै दर्शनभन्दा उपल्लो वा माथिल्लो दर्जाको दर्शन भएको छ ।

प्राचीनकालमा दर्शनशास्त्र भनेकै आजको विज्ञान शब्दको समानार्थी शब्द हो । पाश्चात्य देशहरुमा पनि आधुनिक कालमा विज्ञान भनिने शब्द दर्शनशास्त्रकै पर्याय थियो । सत्रौँ शताब्दीसम्म विज्ञानलाई प्राकृतिक दर्शनशास्त्र भनिन्थ्यो । आज विज्ञान शब्दले “प्राकृतिक विज्ञान वा भौतिक विज्ञान” को अर्थ मात्र बुझाउँदछ । अथवा विशुद्ध गणित संलग्न भएको विधामात्र विज्ञान हो अन्य विधा विज्ञान होइनन् भन्ने पनि विश्वविद्यालयका पाठ्यक्रममा पाइन्छ । विज्ञानको विकास प्राकृतिक नियमावलीलाई परिभाषित गर्ने विधाका रुपमा विकास भएर गयो । उन्नाइसौँ शताब्दीमा भौतिक, रसायनिक, भौमिक र जीव विज्ञान आदि विश्वको प्राकृतिक ज्ञानको नियमबद्ध अध्ययन गर्ने विषयलाई मात्र विज्ञान भनियो । विसौँ शताब्दीमा आएरमात्र सन्सारमा चलेका विज्ञानका अन्य विधा जस्तै राजनीति, अर्थशास्त्र, समाजशास्त्र, भाषा आदिलाई पनि विज्ञानका आधारबाट केलाउने प्रयास गरियो ।

डा. लक्ष्मीप्रसाद खतिवडा
भाषाविज्ञानले मानव भाषाको अध्ययन गर्छ । भाषाको अध्ययन अरूभन्दा फरक र चुनौतीपूर्ण विधा पनि हो । चिकित्सकीय भाषा, भाषाविदको भाषा, अर्थविदको भाषा, प्राकृतिक विज्ञानको भाषा आदि कुरा विषयवस्तु अध्ययनको आधार हो भने मानिसले विषयवस्तु ग्रहण गर्ने साधन वा माध्यम चाहिँ भाषिक सञ्चार हो । त्यसैले भाषा पनि पूर्ण विज्ञान हो भन्ने मान्यताले पनि महत्व पाएको छ ।
हालका दशकहरूमा भाषाविज्ञानमा धेरै प्रयोगात्मक परीक्षण भएको छ । भाषाविज्ञानले पनि अन्य विषयहरूसँग सम्बन्ध राखेको छ । भाषा मनोविज्ञानले प्राकृतिक विज्ञानको रुप ग्रहण गर्दैछ । मानव मस्तिष्कमा भाषाका सहायताले चल्ने स्नायु प्रणालीले मानिसको केन्द्रीय स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । भाषाले मानवको हेराइ, बोलाइ, सुनाइ, स्वाद, स्पर्श आदिलाई नियन्त्रण गर्ने हुनाले भाषा अध्ययन विधि प्राकृतिक विज्ञानकै विधा भएको छ । सूचना प्रविधिको कृत्रिम बुद्धिका सहायताले निर्माण गरिएको मस्तिष्क सञ्जाल (न्युरल नेटवर्क) र चिकित्सा विज्ञानको मस्तिष्क वा स्नायु विज्ञान (न्युरो साइन्स) को सम्बन्धले भाषाका माध्यमबाट मानव मस्तिष्क अध्ययन गर्ने विज्ञानले अलग विज्ञानको रूप लिइसकेको छ ।

भाषाको कम्प्युटर विज्ञान (कम्प्युटेशनल भाषाविज्ञान) ले भाषाका तथ्याङ्कका आधारबाट मानव मस्तिष्कमा बुद्धि कसरी भण्डारण हुन्छ र त्यसले कसरी कार्य गर्दछ भनेर अध्ययन गर्दछ । यस्तै वनस्पति, मानव विज्ञान, दर्शन, समाजशास्त्र आदिमा मानव व्यवहार कसरी सञ्चालित हुन्छ भनेर कम्प्युटर विज्ञानका सहायताले काम गर्न थालिएको छ । कम्प्युटर भाषाविज्ञानका सहायताले मेसिन अनुवादमा निकै ठुलो फड्को मारिसकेको छ । कम्प्युटरका सहायताले भाषाका तथयाङ्कका आधारमा वास्तविक भाषा प्रयोगको ढाँचाको पनि विश्लेषण गर्न सकिन्छ । भाषाको वैज्ञानिक अध्ययनले मानिसका अन्तरनिहित संरचना मानव प्रकृति, जीवन, नैतिकता र ज्ञानका बारेमा प्रश्नहरूको जवाफ दिनका लागि विभिन्न किसिमाका अनुप्रयोगहरू निर्माण भइरहेका छन् । जस्तै भाषा दर्शनले अर्थ, सत्य, सन्दर्भ, वर्णन, कार्य सम्पादनमा पूर्वनिर्धारित प्रभावको अनुमान लगाउन सक्छ । शाब्दिक व्याख्याको मनोवैज्ञानिक सिद्धान्तले कृत्रिम बुद्धिको तार्किक र गणितीय संरचनाका आधारमा मानव व्यवहारको अध्ययन गर्दछ । प्राकृतिक नियन्त्रण सम्बन्धी व्यावहारिक, सामाजिक कौशल आदिको अध्ययन तर्क पद्धतिबाट सम्भव हुन्छ भन्ने वैज्ञानिक धारणाको विकास हुँदैछ । कम्प्युटर विज्ञानले त्यस्ता तर्क पद्धतिबाट अल्गोरिदम बनाउन थालिसकेको छ ।

विज्ञानले सामान्य र सार्वभौमिक गुणको आधारमा सिद्धान्तहरूको व्याख्या गर्छ जसमा मानसिक व्याकरण पनि पर्दछ । त्यसैले व्याकरण पनि विज्ञानको दायराभित्र पर्छ भनिन्छ । सांस्कृतिक भाषाविज्ञान, नैतिक विज्ञान र सामाजिक विज्ञानका क्षेत्रमा भाषाले संस्कृति, सामाजका जाति, वर्ग र लिङ्गको सम्बन्धमा समेत ध्यान केन्द्रित गर्दछ ।

भाषाविज्ञानका सहायताले प्राचीन सभ्यताहरूको पुरातात्विक अवस्थिति बुझ्न र भाषाको पुनर्निर्माण गरेर त्यसमा निहित ज्ञान उजागर गर्न मद्दत गर्दछ । यही विधिद्वारा सिन्धुघाटीका मृद्भाण्ड होस अथवा धातुमा लेखिएका अक्षरको अर्थ खोज्ने काम भइरहेको छ । आज सन्सार चारसय वर्ष पुरानो पुँजीवादी दर्शन र डेढसय वर्षको कम्युनिजम दर्शनले सञ्चालन भइरहेको छ । सिन्धुघाटीका सिलको अर्थ लाउन सके पाँच हजार वर्ष पुरानो मानव ज्ञानको अर्थ खुल्छ र मानवजातिको इतिहासमै नौलो परिवर्तन देखा पर्छ भनेर मानिसहरू लागि परेका छन् ।

सन्सारका जुनसुकै वस्तुको नामकरण गरिएको हुन्छ । कुनैपनि वस्तुको नामाङ्कन पहिचान समाजमा रहेको ज्ञानको आधार वस्तु हो । नाम बेगर कुनै पनि वस्तुको पहिचान हुँदैन । नामको पहिचान शब्दमा निहित हुन्छ । ल्याटिनमा राखेको नाम वैज्ञानिक हुन्छ भनेर हामीलाई पढाइएको छ । त्यही कुरा हाम्रो दिमागमा विज्ञानका रुपमा बसेको छ । जस्तै प्राणी र वनस्पति आदिको नामकरणलाई ल्याटिन नोमेङ्क्लेचर भनिन्छ । प्रजातिहरूको नामकरण गर्दा द्विपद नाम बनाउने विधि हुन्छ । जसलाई बाइनोमिनल प्रणाली भनिन्छ । कार्ल लीनियसले द्विपद नामकरण प्रणालीको विकास गरेका हुन् । द्विपदमध्ये पहिलो वंशको नामबाट एक भाग लिने र प्रजातिको नामबाट एक भाग लिएर जीव वा प्राणीको नाम बनाउने विधि बनाइएको हो । जस्तै वंशानुगत नाम होमोनिदेबाट होमो र चेतना वा ज्ञान भएको प्रजातिबाट सेपियन शब्द लिएपछि ज्ञान भएको मान्छे भनेर होमोसेपियन्स शब्द निर्माण गरियो । नेपाली नामकरण पद्धतिमा यसलाई कर्तन पद्धति भनिन्छ । जस्तो बँदेलको बँ र सुँगुरको गुर जोडेपछि बन्ने शब्द बँगुर हो । ल्याटिनमा नामकरण भएकाले होमोसेपियन वैज्ञानिक नाम भयो । बँगुर नेपालीमा भएकाले वैज्ञानिक भएन । फरक यत्ति हो । फरक छुट्याउने आधार अर्को छैन ।
शब्दावली योजनाले नामलाई विज्ञान बनाउँछ । अङ्ग्रेजी भाषामा शब्दको कमीले अङ्ग्रेजीले ग्रीक र ल्याटिन भाषाका शब्द ग्रहण गरेर ल्याटिन नोमेङ्क्लेचर (ल्याटिन नाम) को विकास गर्यो । त्यही ल्याटिन भाषाका नाम आज क्यान्सरको डाक्टर, वकिल, भाषाविद, शिक्षाविद, गणितज्ञ, रसायनविद, भौतिकविद आदि सबैले पढ्नुपर्ने हुनाले विज्ञानका रुपमा ग्रहण गरिएको छ । ढाइसय तीसय वर्ष पुरानो नामलाई आधुनिक विज्ञान भनेर सन्सारभरि पढिन्छ पढाइन्छ । तर वेद, उपनिषद, शुस्रुत संहिता र चरक संहिता आदिका संस्कृत नाम विज्ञान नभएर अन्धविस्वासका गुत्थी बनेका छन् । त्यसैले भाषाका माध्यमबाट बुझिने सबैकुरा अङ्ग्रेजीमा लेखिए वैज्ञानिक हुने र अन्य भाषामा लेखिएको वैज्ञानिक नहुने भन्ने तर्क वैज्ञानिक छैन । तर यस तर्कको बिरोध गर्न पाइदैन । किनभने शक्तिशाली राष्ट्रले भनेको कुरा विज्ञानसम्मत नभएपनि हो भन्नुपर्छ । सन्सारको अहिलेको शासन व्यवस्था राणाकालीन नेपालको जस्तो छ । शक्तिशाली राष्ट्रको बिरुद्धमा आवाज उठाउने कोसिस गर्यो भने गोली र बारुदको सिकार बन्नुपर्छ ।

संस्कृत साहित्य परम्परामा पनि नामकरणका विधि बताइएको छ । महर्षि चरकले संस्कार नै नामकरण विधिको मूल हो भनेका छन् । गुण अनुसार वस्तुको नामकरण हुन्छ र त्यही नाम अनुसार त्यसको संस्कार हुन्छ । जस्तो जन्मको बेला ग्रह नक्षत्रको संयोग अनुसार गुण हेरेर बच्चाको नामकरण गरिन्छ । त्यो नामकरण संस्कार हो । दर्श, अयस्क, स्वर्ण वा कार्षलाई संस्कारित वा अनुष्ठान विधिबाट गोमेद भष्म, नाग भष्म, नीलमणि, पारद, राजवर्त, सञ्जय, हरिताल आदिको निर्माण गरिन्छ । त्यस्का लागि अनुष्ठान विधि हुन्छ र प्रयुक्त अनुष्ठआन विधि अपनाएर नयाँ निर्माण भएको उत्पादनलाई नाम दिइन्छ । त्यसैले अनुष्ठान वा संस्कारसँगै नामकरण पनि हुन्छ ।

विकसित देशहरूले शहर, खोलानाला, पहाड, पर्वत, कन्दरा, चुचुरा, सडक, विमान, मौसम, रक्षा, जीव, लुगा, कर्मचारी, शासनविधि, वाणिज्य, मुद्रण, कम्प्युटर विज्ञान, गणित, भूगोल, चिकित्सा, अर्थशास्त्र, मनोविज्ञान, वास्तुकला, पुरातत्व, कृषि, वनस्पति आदिका वस्तु र उत्पादनको विधागत नामकरण गरेर केन्द्रीय ज्ञानभण्डारमा राखेका हुन्छन् । यसले ज्ञानको संस्थागत अभिलेख वा इन्स्टिच्युसनल मेमोरी रहन्छ र हरेक विधामा काम गर्न सजिलो हुन्छ । अन्य भाषामा प्रयोग गरिएको नामकरण विधि चाहिँ वैज्ञानिक र नेपाली भाषामा प्रयोग गरिएको विधि चाहिँ अवैज्ञानिक भनेर पढ्ने पढाइने परम्पराले गर्दा हाम्रो ज्ञानमा स्थिरताको अभाव भएको हो । नाम शब्दको महत्व नभएको हो ।

सरकारी होस या निजी कम्पनीहरू, संस्थाहरू, जातीय समूहहरू वा राष्ट्रवादी भनिने संस्थाहरू सबै संस्थाहरूले आआफ्नो कामको अभिलेख राख्छन् । उनीहरूले राख्ने अभिलेख अरूको भन्दा हाम्रो वैज्ञानिक पद्धतिमा छ भन्छन् । तिनीहरूका अभिलेखहरू कुनै न कुनै भाषामा राखिएको हुन्छ । प्रायजसो आयातीत भाषामा राखिएको हुन्छ । नेपाली जनताले तिरेको कर उठाएर भएको खर्चबाट आयातीत भाषाका नाम शब्दको प्रवर्धन गरिन्छ ।

नेपालमा विउ, विजन, विषादि र वनस्पतिजन्य उत्पादनको नाम साठी प्रतिशत जति आयातीत भाषामा गइसक्यो । स्कुल कलेजका नाम असी प्रतिशत जति अङ्ग्रेजीकरण भइसक्यो । शहर बजारका खाद्यवस्तु पचास प्रतिशत जति आयातीत भाषामा गइसके । घरमा दैनिक प्रयोग गरिने खाने, पकाउने, धुने, ओढ्ने, ओछ्याउने वस्तुका नाम लोप हुँदैछन् । हुँदाहुँदा अब त बालबच्चाका नाम पनि करिब सात प्रतिशत जति आयातीत भाषामा गइसके । धर्म आयातीत, भाषा आयातीत, शिक्षा आयातीत, संस्कार आयातीत, फेसन आयातीत, खानेकुरा आयातीत, राजनीति आयातीत । नीति बनाएर नेपाली र नेपालका भाषाका नाम शब्द मासिँदैछन् । हजारौँ वर्षदेखि पुर्खाले हस्तान्तरण गर्दै आएका नाम शब्द मास्ने अधिकार कसले दियो ।

आफ्नै देशका भाषामा उपलब्ध भएका नाम शब्द खोजेर त्यसैमा ज्ञान भण्डारण गर्नुपर्ने हो । यस्तो काम भाषा योजनाले गरेको हुन्छ । हामीकहाँ पनि भाषा योजना अन्तर्गत वैज्ञानिक र भाषाविदका सहायताले विभिन्न विधाका शब्दहरू निर्माण गरेर, पर्यायवाची शब्द, शब्दावली बनाउन सक्ने हो भने हामी पाँच हजार वर्ष पुरानो ज्ञानलाई सूत्रबद्ध गर्न सक्छौँ । जस्तै अर्थशास्त्र र वाणिज्य, आयुर्वेद, खगोल विज्ञान, जीवविज्ञान, भाषाविज्ञान, गणित, भूगोल, रसायन विज्ञान, वनस्पति विज्ञान, मनोविज्ञान, निर्माण अभियान्त्रिकी, वास्तु विज्ञानका ढुङ्गा अभियान्त्रिकी (स्टोन कार्भिङ), काठ अभियान्त्रिकी (उड कार्भिङ), धातु अभियान्त्रिकी (मेटालर्जी) आदि विषयका नाम शब्द वैज्ञानिक विधि अनुसार निर्माण गरेर विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता, भाषाविद, लेखक, अनुवादक, पत्रकारले प्रयोग गर्ने हो भने पाँच हजार वर्ष पुरानो ज्ञान उजागर हुनसक्छ । सामान्य जनसाधारणले त सरकारले नीति बनाएर निर्माण गरेको उत्पादित नाम वा वस्तु प्रयोग गर्ने हो ।

दुइतिहाइको शक्तिशाली सरकारलाई यस्ता कुरा “कागलाई बेल पाक्यो हर्ष न विस्मात” भने जस्तो छ । विश्वविद्यालयका भाषा विषय र भाषाविज्ञानका सभा समारोहमा यस्ता कुरा गर्दा तैँले रस्वदीर्घ र व्याकरणका कुरा गरिनस, तेरो भाषिक योग्यता पुगेन भनेर ढोका बन्द गरिन्छ । नेपाली समाजको वास्तविकता यस्तो स्थितिमा छ ।

विषय र विधा अनुसारका विज्ञ समूह निर्माण गरेर आवश्यक नयाँ शब्द बनाउने, संशोधन गर्ने, पर्याय शब्द खोज्ने काम गरेर स्थानीय र राष्ट्रिय ज्ञान भण्डार बनाउनु, बढाउनु पर्छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक संस्थासँग सहकार्य गर्न सजिलो हुन्छ । अन्तर्राट्रिय मानकसँग हाम्रा मानकको तुलना गरी नेपाली वा नेपालका भाषामा भएको ज्ञानभण्डार लोप हुनबाट बचाउनु पर्छ । जनताले तिरेको राजश्वको केही भाग मौलिक भाषा, संस्कृति, परम्परा बचाउन खर्च गर्नु सरकारको दायित्व हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob