scheduleमगलवार श्रावण २९ गते, २०७५

ओलीले आफ्नै मुखमा लगाम लाए पुग्छ, बौद्धिकवृत्तको निन्दा जरुरी छैन

डम्बर खतिवडा

ओली–स्वभावको मौलिक पक्ष
हरेक व्यक्तिका आआफ्ना धारणा र स्वभाव हुन्छन् । आन्तरिक सोच र मनोदशा हुन्छन् । बाह्यरुपमा स्वीकार गरे पनि नगरे पनि बोल्ने शैली, जीवन बाँच्ने तरिका, हाउभाउ, संस्कार र संस्कृतिमा ती अभिव्यक्त हुन्छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका अवश्य केही मौलिक धारणा र स्वभाव छन् । अक्सर उनका अभिव्यक्तिमा ती प्रस्फुटित हुन्छन् । ती सबैको यहाँ चर्चा गरिएको छैन । ती मध्ये एक हो– बुद्धिजिवी वर्गप्रतिको घृणा र प्रतिशोध ।

उनीले हरेक भाषण/प्रवचनमा देशको बौद्धिकवृत, पत्रकार/टिप्पणीकर्ता/लेखक/आलोचकप्रति व्यङ्ग्यवाण गरेकै हुन्छन् । कहिले ‘नपाकेका आलाकाँचा सेताचामले’ भन्छन् । कहिले ‘भित्रभित्रै कुहिएको फर्सी वा फर सी’ भन्दछन् । कहिले ‘दाँत उध्याउँन कपडा कोतर्ने मुसा’ भन्छन् । कहिले ‘डलरका लागि विवेक बन्दक राखेका लेखनदास’ भन्छन् । कहिले ‘जिन्दगीमा अरु सबैतिर असफल भएर लेखक भइटोपलेका टपरटुइँया’ भन्छन् । कहिले ‘बुद्धि अन्यत्रबाट आयात गर्ने बुद्धिजिवी’ भन्दछन् ।

डम्बर खतिवडा
हुन त अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य शर्त हो । यो स्वतन्त्रता कुनै लेखक वा सर्वसाधारण जनताजस्तै प्रधानमन्त्रीलाई पनि हुन्छ । प्रधानमन्त्री पनि मूलतः देशको नागरिक नै हुन् । तसर्थ, प्रधानमन्त्री ओलीले बोल्ने कुराहरु निश्चित सीमासम्म अभिव्यक्ति स्वतन्त्रताभित्रकै विषय हुन् । प्रश्न कति मात्र हो भने– उनलाई बुद्धिजीवी वर्गसँग रिस उठेको चाहिँ के कुरामा हो ? किन हो ? किन यतिधेरै प्रतिशोध र घृणाको मनस्थितिमा हुन्छन् उनी सधै ?

पत्रपत्रिकामा सरकारको बारेमा टिप्पणी लेखन, आलोचना वा समर्थन उनको शासनकालमा मात्र भएको हैन । यो हिजो पनि भएको थियो, भोलि पनि हुनेछ । यो नेपालमा मात्र भइरहेको छैन, सबै लोकतान्त्रिक देशको साझा गुण हो । उनको चाहना सरकारको कुनै आलोचना नै नहोस् भन्ने हो ? कि लेखपढ गर्ने, आलोचना र समीक्षा गर्ने प्रचलनसँगै उनको विमति हो ? कि बुद्धि/ज्ञान भन्ने चिजसँगै उनलाई एलर्जी हो ? कि पढेलेखेका मान्छेप्रति नै वितृष्णा हो ? निश्चय नै औपचारिक शिक्षा हासिल गर्नु मात्र सबैथोक हैन । तर त्यसको केही महत्व नै छैन भने यतिधेरै स्कुल, कजेल, विश्वविद्यालय किन चलाएको ? बन्द गर्दिए भो ।

यदाकदा केही मान्छेहरु प्रधानमन्त्री ओलीको औपचारिक सर्टिफिकेटबारे अनावश्यक प्रश्न गर्दछन् । त्यो खासै प्रासंगिक र महत्वपूर्ण प्रश्न हैन । राजनीतिक अभियान र औपचारिक शिक्षा फरक-फरक कुरा हुन । तर, यही एउटा हिनताभाषका लागि प्रधानमन्त्री सँधै उत्तेजित भइरहन आवश्यक छैन । हुनतः अर्को कम्युनिष्ट सुप्रिमो प्रचण्ड पनि यस मानेमा कम देखिन्नन् । ‘धेर पढ्यो भने मान्छे बौलाहा हुन्छ’, ‘नाथे पिएचडी गोरुको सिङ्गमा पनि हुन्छ’ जस्ता उनका अभिव्यक्ति मान्छेले बिर्सिसकेका छैनन् ।

राजनीति एक बहुआयामिक कार्य हो । विचार, संगठन, आन्दोलन, जनपरिचालन र व्यवस्थापनको कौशलबाट राजनीतिक कर्म प्रभावकारी रुपमा गर्न सकिन्छ । त्यसमा पनि अन्ततः मुख्य कुरा विचार नै हो । राजनीतिको मुख्य काम नै समकालिन अन्तर्विरोधलाई बुझ्नु र हल गर्नु हो । बुझ्ने वा हल गर्ने यी दुबै चीज ज्ञान र बुद्धिसँगै जोडिन्छ । किताब, स्कुल, कजेल, विश्वविद्यालय, सञ्चारमाध्यम ज्ञानका स्रोत हुन, आफैमा ज्ञान हैनन् । ज्ञान र बृद्धिका लागि यी सहयोगी हुन्छन्, पूर्ण हुँदैनन् । तर प्रधानमन्त्री ओली किन बौद्धिक कर्मसँग सधै जसो असन्तुष्ट, रुष्ट, बायस र उत्तेजित हुन्छन् ? यो विश्लेषण योग्य पक्ष हो ।

भगवानले जुवा खेल्यो
वैज्ञानिक निल्स बोहर र वार्नर हाइजेनवर्ग एक दिन क्वान्टम विज्ञानका पछिल्ला निष्कर्षबारे छलफल गर्न विख्यात भौतिकशास्त्री अल्वर्ट आइस्टाइन कहाँ गएछन् । उनीहरुले ‘इनर्जी डान्स’ र ‘अनिश्चितताको सिद्धान्त’ व्याख्या गर्दा आइस्टाइन मन्त्रमुग्ध भएर सुनिरहे ।

अन्ततः आइस्टाइनको मुखबाट निस्किए छ, ‘भगवानले जुवा नखेल्न पर्ने ?’ चर्चा अनुसार आइस्टाइन ‘डिटरमिनेन्ट फिजिक्स’ का पक्षपाती थिए । ‘अनिश्चितताको सिद्धान्त’ उनलाई अस्वभाविक लाग्यो । समान भौतिक परिघटनाबाट आउने परिणाम असमान वा संयोगिक हुनु आइस्टाइनका लागि भगवानले जुवा खेल्नु सरह थियो ।

प्रधानमन्त्री ओलीका लागि पनि कयौं चिज आज भगवानले जुवा खेले सरह भएका छन् । कम्युनिष्ट समर्थकहरुको अपेक्षा सामान्यतयाः कम्युनिष्टहरुले क्रन्तिकारी भूमिसुधार लागू गर्दछन्, जसको जोत उस्को पोत गर्दछन्, कम्युनिष्ट शासन आयो भने सुकुम्बासीले जग्गा पाउँछन्, शिक्षा र स्वास्थ्य निशुल्क हुन्छ, गरिबका छोराछोरीले पनि चाहेको शिक्षा पढ्न पाउँछन्, सरकार सर्वहाराको पक्षमा हुन्छ, कालो धन र कालाबजारी नियन्त्रण हुन्छ, कम्युनिष्ट शासनमा कर्मचारीतन्त्रको पुनर्गठन हुन्छ, कर्मचारीले घुस खाँदैनन्, भ्रष्टाचार रोकिन्छ –आदिइत्यादी हुन्छन् । कम्युनिष्ट संगठनले आफ्नु पार्टी, संगठन र समर्थकलाई गरिबका मुक्तिदाता बाँकी सबैलाई बुर्जुवा, शोषक, गरिबका विरोधी र दुश्मनका रुपमा चित्रण गरेको हुन्छ । त्यही स्कुलिङ्गको शक्तिमा कम्युनिष्टहरु सत्तामा पुगेका हुन्छन् ।

आजको विन्दूसम्म आईपुग्दा पासा ठीक उल्टो भएको छ । क्रान्तिकारी भूमिसुधारको कुरा गर्न कम्युनिष्टहरुलाई डर लाग्छ । अधिकांश जग्गा प्लटर र रियलस्टेट व्यवसायीहरु कम्युनिष्ट छन् । निशुल्क शिक्षा र स्वास्थ्यको कुरा सुन्न कम्युनिष्टहरुलाई डर लाग्छ । अधिकांश चर्का शुल्क लिने निजी स्कुल, कजेल र हस्पिटलका मालिकहरु कम्युनिष्ट छन् । सर्वहाराको कुरा सुन्न कम्युनिष्टहरुलाई डर लाग्छ । गोल्छा, दुगड वा अरु कुनै व्यापारिक घरानाका मान्छेहरु सजिलै कम्युनिष्ट पार्टीको टिकट वा समानुपातिक सिट किन्न सक्ने हैसियतमा छन् ।

सुशासनको कुरा सुन्न कम्युनिष्टहरुलाई डर लाग्छ । कर्मचारीतन्त्रभित्र सरुवा, बढुवा, घुस कमिसनको विचौलिया गर्ने अधिकांश कम्युनिष्टहरु छन् । शुद्ध अर्थतन्त्रको कुरा सुन्न कम्युनिष्टहरुलाई डर लाग्छ । सम्पति शुद्धिकरण विभाग प्रधानमन्त्रीको कार्यालय मातहत लगी कालो धनमाथिको छानविनलाई निष्क्रिय पारिएको छ । सामान्य सार्वजनिक मर्यादा र नैतिक मूल्यको ख्यालै नगरिकन अभिव्यक्ति दिनेहरु कम्युनिष्ट सुप्रिमोका डाइनिङ्ग पार्टनर भएका छन् ।

हुनत यो नेपालमा मात्र भएको नयाँ कुरा हैन । सम्भवतः सोभियत संघमा यही भएको थियो । पूर्वी युरोपमा यही भएको थियो । युगोस्लाभिया र चेकोस्भाभियामा यही भएको थियो । रुसी भाषाको ‘न्यूमेन क्लातुरा’, अंग्रेजीको ‘द पावर एलिट’ नेपालीको ‘शक्ति–संभ्रान्त’ त्यही नयाँ वर्गको संज्ञा हो, जसले कार्ल मार्क्सको ‘अतिरिक्त मूल्य सिद्धान्त’ लाई गलत र कार्ल मार्क्सले कल्पना पनि नगरेको ‘अतिरिक्त शक्ति सिद्धान्त’लाई सही सावित गरिदिएको थियो ।

कम्युनिज्मको सोच व्यवहारमा ठीक उल्टो निस्केला भन्ने न रुसी सर्वहाराले सोचेका थिए न नेपाली सर्वहाराले । तर भयो । भौतिक विज्ञानमा ‘इनर्जी डान्स’ हुन्छ, राजनीतिमा ‘पावर डान्स’ किन नहोस् ? आइस्टाइनले ठीकै भनेका थिए– भगवानले जुवा नखेल्न पर्ने हो । तर खेल्दो रहेछ । राजनीतिक जुवाको खालमा बसेपछि ओलीलाई बुद्धिजिवीसँग रिस उठनु स्वभाविक नै हो । सिद्धान्त र व्यवहारबीचको तालमेल सोचेजस्तो सजिलो नभएपछि शक्तिको चाहना सत्यको उद्घाटन नहोस् भन्ने नै हुन्छ । बौद्धिक कर्म सत्यलाई उद्घाटित गर्ने प्रभावकारी माध्यम वा विधि हो । आफ्नै जीवनमा देख्नु र भोग्नु परेको यो उल्टो यथार्थले सायद ओलीलाई इरिटेड गर्छ, त्यसको रिस उनी बौद्धिक वृत्तमाथि पोख्छन् ।

हाइडेगरको डप्फा बनाउने रहर
हिटलरका प्रोपागण्डा मन्त्री गोयबल्सको जति चर्चा हुन्छ, हिटलरका भाइस चान्सलर मार्टिन हाइडेगरको चर्चा त्यसको तुलनामा कमै हुन्छ । हाइडेगर आफ्नो समयका ठूला दार्शनिक थिए । नित्सेको अस्तित्ववाद र हसेलको घटना-क्रिया विज्ञानका आधिकारिक व्याख्याता मानिने हाइडेगरले हिटलरको सत्ताबाट विश्वविद्यालयको भाइसचान्सर नियुक्त भएसँगै १०० जना बुद्धिजिवीहरुको एउटा डप्फा बनाएका थिए ।

ती सबैले सरकारबाट तलबभत्ता पाउँथे । उनीहरुको एउटा मात्र काम थियो– आइस्टाइनका वैज्ञानिक सिद्धान्तहरुको खण्डन गर्नु । वैज्ञानिक अल्बर्ट आइस्टाइन नाजीवाद विरोधी थिए । हिटलर प्रमाणित गर्न चाहन्थे कि नाजीवाद विरोधी सबै विज्ञान, सिद्धान्त र आविष्कारहरु गलत हुन्छन् । ती १०० जनाको डफ्फाले १० वर्ष निरन्तर आइस्टाइनका सिद्धान्त विरुद्ध लेखिरहे । बोलिरहे । ती १०० जनाको नाम के थियो, उनीहरुले के लेखेका थिए, आज कसैलाई थाहा छैन, आइस्टाइन आधुनिक भौतिकशास्त्रका माइलस्टोन सावित भए ।

नाजीवादको चरम भयबाट ग्रसित आइस्टाइनले अन्ततः जर्मनी छोडे र अमेरिका पलायन भए । उनलाई सोधिएको थियो– तिमीजस्तो वैज्ञानिकहरु जन्मिने देशमा हिटलरको उदय कसरी सम्भव भयो ? प्रतिउत्तरमा आइस्टाइनले भनेका थिए, ‘प्रश्न यो हैन कि गलत शासनको उदयको अनुमान गर्न सकिँदैन । प्रश्न यो हो कि त्यसलाई रोक्ने ताकत मसँग थिएन ।’

आज प्रधानमन्त्री ओलीलाई पनि ‘प्रतिकार सेना’ चाहिएको छ । आइस्टानको विरुद्ध हाइडेगर र १०० जनाको डफ्फा चाहिएको छ । संभवत् प्रधानमन्त्रीको ‘वार रुम’ को कन्सेप्ट त्यही होला । प्रोपागण्डामा आफू चुकेको अनुभूति होला प्रधानमन्त्रीलाई । तर, आजको यथार्थ त्यो हैन । यो न गोयबल्सको युग हो न हाइडेगरको । प्रधानमन्त्रीले व्यवसायिक पत्रकारिकता, स्वतन्त्र लेखन र प्राज्ञिक अनुसन्धानको युगलाई बुझ्न सक्नु पर्दछ । उनीहरुसँग निरन्तर संवाद र विश्वासको वातावरणमा रहन सक्नु पर्दछ । बद्लिएको युगको यो नयाँ यथार्थलाई बुझ्न नसक्दा प्रधानमन्त्रीमा बुद्धिजिबीप्रति प्रतिशोधको भावना सृजना भएको हुन सक्दछ, त्यो उनैका लागि आत्मघाती हुनेछ ।

आफ्नै अभिव्यक्तिमा लगाम

प्रधानमन्त्री ओलीले आलोचकहरुको जुन घेरा वा वृत्ति सृजना गरिरहेका छन्, त्यो कतिपय उनकै अनावश्यक अभिव्यक्तिका प्रतिफल हुन् । त्यसका लागि उनले कसैसँग प्रतिशोध साँध्नै पर्दैन । आफ्नै मुखमा लगाम लगाए पुग्छ । जस्तो– प्रतिव्यक्ति आय ५००० डलर पुर्‍याउन तत्काल जुनकुनै पार्टीको प्रधानमन्त्रीका लागि सम्भव छैन भन्ने कुरा नेपालका बुद्धिजिबीहरुलाई राम्रो थाहा छ । चीनको रेल लुम्बिनी ५ वर्षमा पुग्नुपर्छ भन्ने छैन, २५ वर्षमा पुग्ने गरी योजना गरेमा पनि ओलीले यश नै पाउनेछन् । ५००० प्रति जेष्ठ नागरिक घरघरमा पुर्‍याएर नमस्कार गर्ने अभिव्यक्ति उनकै मुखले बोलेको हो । विरोधीहरुले लेखेको हैन ।

हनुमाननगर कलकत्ता पानीजहाजको पुषदेखिको टिकट प्रधानमन्त्री आफैंले बुकिङ्ग गर्दै हिंडनु पर्दैन । जहाज कम्पनी निर्माण, रुट व्यवस्थापन र त्यसको व्यवसायिक सफलताको प्रत्याभूति गर्दिए पुग्छ । घरघरमा ग्याँसपाइप पनि सायद यतिखेर नागरिकको स्वभाविक आवश्यकता हैन । सरल यथार्थहरु पन्छाउने, उचङ्गा कुरा गर्दै हिड्ने उनकै स्वभावले उनको विरोध बढेको हो । सरल यथार्थहरु बुझ्न नचाहेर, हौसिएर, रौसिएर, फुर्किएर प्रधानमन्त्री आफैं आफ्नो मुखमा लगाम लगाउँदैनन्, त्यसको दोष बुद्धिजिवी वर्गमा पन्छाउन खोज्दछन् । फ्राइडको भाषामा यो ‘इन्फेरिटी कम्प्लेक्स’बाट सृजना हुने ‘डिफेन्स मेकानिज्म’ हो ।

क्रान्तिकारी हुनुको ब्याज
प्रधानमन्त्रीको अर्को मनोविज्ञान देशको बुद्धिजिबी वर्गले आफ्नो राजनीतिक त्याग र संघर्षको राम्रो सम्मान गरेन भन्ने हुन सक्दछ । उनी १४ वर्ष जेल बसे । गरिब परिवारबाट दुःखकष्टका साथ राजनीतिमा आए । यसबापत् उनलाई कसले आलोचना गरेको छ र ? उनको व्यक्तिगत जीवनसंघर्षको कथा सबैका लागि प्रेरणादायी छ । तर सत्ता भनेको हिजोको क्रान्तिकारीताको ब्याज खाने ठाउँ हैन । क्रान्तिकारी राजनीतिमा सबैले आआफ्नो खालको दुःख त गरेकै हुन्छन् । जेलकै कुरा गर्ने हो भने ओलीभन्दा बढी मोहनचन्द्र अधिकारी बसेका थिए । जिन्दगीमा एकपटक सांसद वा मन्त्रीसम्म भएनन्, त्यसलाई चाहिँ के भन्ने ?

केही अपवाद छोडेर संसारका हरेक क्रान्तिकारीहरुले सत्तामा पुग्नु अगाडि दुःख गरेकै हुन्छन् । संघर्ष गरेकै हुन्छन् । रोवर्ट मुगावे पनि क्रान्तिकारी थिए, नेल्सन माण्डेला पनि क्रान्तिकारी थिए । क्रान्तिकारी हुनुको महत्व नहुने हैन, तर जब कुनै क्रान्तिकारी सत्तामा पुग्छ, उसले के गर्दैछ, त्यो हज्जार गुणा बढी महत्वको विषय हुन्छ । जीवनको पूर्वाद्धमा क्रान्तिकारी थिए भन्दैमा मण्डेला र मुगावेलाई उस्तै मान्न सकिन्न ।

प्रधानमन्त्री ओलीले यो बुझ्न जरुरी छ कि उनको क्रान्तिकारी छवि दूधले धोएको छैन । औसत नेपाली राजनीतिज्ञका झैं उनका गुणदोष छन् । देशमा गणतन्त्रको वातावरण बन्दै जाँदा एमालेले दरबारको पश्चिम ढोकामा निवेदन हालेको जनतालाई थाहा छ । राजासँग सम्झौता गरेर संविधानसभालाई टार्न खोजेको जनतालाई थाहा छ । १६ बुँदेका नाममा शासकीय स्वरुप र संघीयताको बहसलाई वर्गल्याएको जनतालाई थाहा छ । माओवादी र प्रचण्डकाबारे करिब एकदशक हुने नहुने बोल्दै हिंडेको र अन्ततः सत्तास्वार्थका लागि खुट्टा काटेर जुत्ता लगाएको जनतालाई थाहा छ ।

प्रचण्डको भय
यदाकदा प्रधानमन्त्री ओलीमा आफूलाई छिट्टै खुइल्याएर प्रचण्डलाई पार्टी र सत्ताको बागडोरमा स्थापित गर्ने प्रयास भइरहेको त हैन भन्ने भय अवश्य उत्पन्न हुँदो हो । यो त सायद ओली–प्रचण्डबीचको अनौपचारिक सहमति नै हो । प्रचण्ड पार्टीका सहअध्यक्ष हुन् । अझै नेपाली राजनीतिका एक शक्ति केन्द्र हुन । सत्तासाझेदारीको सहमतिमा कुनै घुनपुत्ला नलागेमा अर्को चुनाव अगाडि नै उनी पुनश्चः देशको प्रधानमन्त्री हुनेछन् । तर देशको बौद्धिकवृत्तका लागि यो कुनै महत्वको कुरा हैन कि प्रचण्डका लागि वातावरण बनाउन ओेलीविरुद्ध लेख्नु परोस् ।

राजनीतिमा व्यक्तिको निर्णायक भूमिका उसले प्राप्त गरिरहेको शक्तिले मात्र निर्धारण गर्दैन । ओली र प्रचण्डबीच त्यत्रो कुनै वैचारिक तथा एजेण्डागत भिन्नता बाँकी छैन । ओलीका ठाउँमा प्रचण्ड व्यक्ति परिवर्तन मात्र हुनेछ । प्रचण्ड एकल पार्टी अध्यक्ष वा प्रधानमन्त्री भएपनि उनीसँग अब न माओवाद हुनेछ, न एक्काइशौ शताब्दीको जनवाद, न प्रचण्डपथ छ न संविधान संशोधनको मुद्दा, न उत्पीडित राष्ट्रियताको प्रश्न, न सीमान्तकृत जनसमुदायको आन्दोलन, न सुशासन र पारदर्शिताका लागि लड्ने इच्छाशक्ति, न शासकीय स्वरुप परिवर्तन गराउने कार्यभार बाँकी हुनेछ । यो थथार्थ भलिँभाँती जान्दाजान्दै बौद्धिकवृत्तले प्रचण्डका लागि माहौल बनाउन ओलीको खेदो खन्नु पर्ने कुनै आवश्यकता छैन ।

अन्त्यमा,
यसको अर्थ यो हैन कि देशको बौद्धिकवृत्त शुद्ध, चोखो र पर्याप्तरुपमा तटस्थ छ । जसरी देशका सबै क्षेत्रमा समस्या छन्, बौद्धिक जगतमा पनि अवश्य समस्या छन् । तर, प्रधानमन्त्री ओली जुनस्तरमा घृणा र प्रतिशोध व्यक्त गरिरहेका हुन्छन् सायद देशको बौद्धिकवृत्त त्यति निम्नकोटीको भने छैन । प्रधानमन्त्रीको बुद्धिजिवीप्रतिको घृणा उनकै आफ्नो मानसिक भय र छट्पटी बाहेक केही हैन । जीवनभरि अरुको खण्डन र आलोचनामात्र गर्दै हिडेका ओलीले सत्तामा पुगेर रचनात्मक काम गर्ने बेलामा पनि आफ्नो प्रतिपक्षीय मानसिकता र स्वभाव बदल्न नसक्नु प्रकारान्तले आफैलाई हानी गर्नु मात्र हो ।

(नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता खतिवडासँगको कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob