scheduleमगलवार श्रावण २९ गते, २०७५

‘डा. भट्टराईको विचारलाई व्यवहारमा उतार्न नयाँ पुस्ता तयार हुनुपर्छ’

देवाखर भट्टराई

डेढ दशकदेखि माओवादी धारको सक्रिय राजनीतिमा क्रियाशील देवाखर भट्टराई पछिल्लो समय विप्लव नेतृत्वको नेकपाको राष्ट्रिय बुद्धिजिवी संगठनमा सचिवको भूमिकामा थिए । जेठ ३० गते नयाँ शक्ति पार्टी, नेपालको स्थापना दिवसको दिन उक्त पार्टीमा आवद्ध भएका भट्टराईसँग साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश-

संविधान निर्माणपछि नेपालको राजनीति कता गइरहेको छ ?
संविधान निर्माणपछि नेपालमा लोकतान्त्रिकीकरणको एउटा अध्याय मुलतः पूरा भयो । यसबाट प्राप्त उपलब्धिहरुलाई जनताको घरदैलोसम्म पुर्‍याउन अझै मेहनत गर्नुपर्ने देखिन्छ । विशेषतः संविधान निर्माणपछाडि सत्ताको नेतृत्वमा हिजो संविधानसभा र अन्य परिवर्तनका एजेन्डालाई अस्वीकार गर्ने शक्ति हावी भएको छ । यसबाट संविधानको वास्तविक मर्मलाई कार्यान्वयन नगर्ने खतरा बढिरहेको छ ।

नयाँ संविधान बनिसकेपछि, मुलधारका राजनीतिक दलहरुले यसमाथि स्वामित्व लिइसकेपछि, हिजो कसले के स्वीकारे वा स्वीकारेका थिएनन् भन्ने कुराको केही महत्व हुन्छ र ?
बाध्यताले नै सही, जनताको परिवर्तनको एजेन्डालाई स्वीकार्नु सकरात्मक पक्ष हो । तर, बाध्यताले स्वीकारेको कि आत्मैदेखि स्वीकारेको हो भन्ने कुरा व्यवहारबाटै पुष्टि हुँदै गइरहेको छ । जस्तो संघीयता कार्यान्वयनमा मुल नेतृत्वको उदासिनताको कुरा अरुले होइन, सत्तारुढ दलकै मुख्य मन्त्रीहरुलगायतले गरिरहेको विरोधले पनि धेरै कुरा छर्लङ्ग हुन्छ ।

समाजवाद उन्मुख संविधान भनिएको छ । संविधानले पनि शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको स्थान दिएको छ तर शक्तिशाली सरकारको पहिलो बजेटमै यी विषयहरुलाई हदैसम्म उपेक्षा गरिएको छ । उल्टो शिक्षा र स्वास्थ्यमा निजीकरण र व्यावसायीकरणलाई प्रोत्साहन गरिएको छ । अनि कसरी भन्न सक्नुहुन्छ कि उनीहरुले परिवर्तनको एजेन्डा र संविधानको मर्मबोध गरेका छन् भनेर ?

जनताले अद्भूत त्याग गरेर ल्याएको लोकतन्त्र र यसको नेतृत्व गर्ने शक्तिहरु नै तपाईंले भनेजस्तो उल्टो दिशातिर यात्रा किन गरिहेका होलान् ?
मुलतः संविधानसभाको एजेन्डालाई संस्थागत गर्न र जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने मुद्दामा देशमा ठूलो संघर्ष भएको कुरा स्मरण गरौं । हिजो यिनै पार्टीहरु उक्त एजेन्डाको विरुद्धमा उभिएका थिए र सत्र हजारभन्दा बढीको ज्यान गुमाउनुपर्‍यो । अहिले रातारात तिनै दलहरु आफूलाई परिवर्तनको संवाहकको रुपमा प्रस्तुत गरिरहेका छन् । यो नक्कली कुरा हो, जुन व्यवहारबाट पनि पुष्टि भइरहेको छ । जसको नेतृत्वमा संविधानसभाको एजेण्डा स्थापित भयो र परिवर्तन सुनिश्चित भयो, त्यसैको नेतृत्वमा सत्ता सञ्चालनको सुनिश्चितता नभएसम्म संविधानले मार्गनिर्देश गरेका एजेन्डाहरु कार्यान्वयनमा जान सक्दैनन् । र, जनताले वास्तविक परिवर्तनको अनुभूति पनि गर्न असम्भव छ । अबको मुख्य संघर्ष यही प्रश्नको वरिपरि केन्द्रित हुन्छ ।

तपाईं विप्लव नेतृत्वको नेकपामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय नयाँ शक्तिमा समाहित हुनुभयो, के कुराले आकर्षण गर्‍यो ?
तपाईंले असाध्यै महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले जहिलेदेखि राजनीति बुझेँ, त्यतिबेलादेखि नै यो देशमा आमूल परिवर्तन हुनुपर्छ भन्ने निष्कर्षका साथ म माओवादी आन्दोलनमा सक्रियरुपमा सहभागी भएँ । शान्ति प्रक्रियामा प्रवेशसँगै माओवादी आन्दोलनभित्र विभिन्न जोड र कोणहरुबाट बहसहरु सुरु भए । हामीले गणतन्त्र, धार्मिक स्वतन्त्रता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्वि जस्ता एजेन्डाहरुलाई स्थापित गर्न त सफल भयौं तर, जनताको आर्थिक सामाजिक रुपान्तरण गर्ने जनयुद्ध र जनआन्दोलनको जुन मुख्य मर्म थियो, त्यो अझै पूरा गर्न सकिएको छैन । अथवा, हिजो हामीले भनेजस्तो क्रान्तिले अझै पूर्णता पाएको छैन भनेर पछिल्लो समयमा विप्लव नेतृत्वको नेकपाले यसलाई उचित निष्कर्षमा पुर्‍याउन सक्छ कि भन्ने विश्वास र माओवादी आन्दोलनको लिगेसी यही हो भनेर उक्त पार्टीमा सक्रियतापूर्वक सहभागी भएँ । तर घटनाक्रमहरुलाई विश्लेषण गर्दैगर्दा मैले विश्वास गरेजस्तो नतिजा उक्त पार्टीले निकाल्न नसक्ने निष्कर्षमा म पछिल्लो चरणमा पुगेँ ।

बरु, जनयुद्धदेखि अहिलेसम्मका सम्पूर्ण घटनाक्रमहरुलाई नजिकबाट नियाल्दै जाँदा डा.बाबुराम भट्टराईको प्रष्ट भिजन, राजनीतिक इमान्दारिता र सादगीपूर्ण जीवनशैलीले पछिल्लो समय मलाई नयाँ शक्तितर्फ आकर्षण गर्‍यो । लोकतान्त्रिकरण अर्थात् संविधानसभामार्फत गणतन्त्रात्मक संविधान लेख्ने अभियानको नेतृत्व डा. भट्टराईको पुस्ताले गर्‍यो । जीवनको उत्तरार्धतिर आउँदा पुराना सम्भावनाहरु छाडेर उहाँ नयाँ क्रान्तिको लागि तयार हुनुभयो । यो उहाँको लागि नयाँ जनयुद्धमा सहभागी हुनेजस्तै जोखिमपूर्ण कदम हो । उहाँमा नै वास्तविक क्रान्तिको भिजन र सही बाटो भएको मैले महसुस गरेँ । डा.भट्टराई एक प्रगतिशील विचारक हुनुहुन्छ । उहाँको विचारलाई पुरानो पुस्ताले कपि गर्न सक्लान् तर जीवन व्यवहारमा उतार्न सक्दैनन् । यसको लागि नयाँ पुस्ता तयार हुनुपर्छ । तत्कालीन नाफा घाटामा हिसाब किताब खोज्ने भन्दा पनि दीर्घकालीन परिणाममा विश्वास गर्ने चिन्तन प्रवृत्ति ममा भएकोले अहिलेको प्रतिकूल अवस्थामा पनि नयाँ शक्तिमा सुन्दर भविष्य देखेर समाहित हुन पुगेँ ।

नयाँ शक्तिबाट कतिपय नेताहरु पलायन भइरहेको बेला तपाई सुन्दर भविष्य देख्दै आएँ भन्नुहुन्छ, तपाईंका तर्कहरु के के हुन् ?
आसध्यै रोचक प्रश्न गर्नुभयो । राजनीतिमा दुईखाले प्रवृत्ति सक्रिय हुन्छन् । एउटा सत्ता राजनीति अर्को रुपान्तरणकारी राजनीति । सत्ता राजनीतिलाई केन्द्रमा राख्नेहरु जता जाँदा सत्ताको स्वाद चाख्न पाइन्छ, विभिन्न बहाना बनाएर त्यतैतिर जान लालायित हुन्छन् । केही पात्रहरु राजनीतिलाई सही ढंगले आत्मसाथ गर्न नसक्दा पनि पलायन हुन पुग्दछन् । नयाँ शक्ति पार्टी नितान्त नयाँ बाटोमा अगाडि बढेकोले अझै केही समय यो प्रक्रिया चल्न सक्छ । यो प्रक्रियाबाट गुज्रिएर नै पार्टीले आफ्नो वास्तविक आकार ग्रहण गर्नेछ । हामीले सही राजनीतिक पहलकदमी लिन सक्यौं भने निकट भविष्यमा नै पुरानो पार्टीहरुभित्र रहेका र समाजमा विभिन्न पेशा र वर्गमा छरिएर रहेका प्रगतिशील, लोकतान्त्रिक र देशभक्तहरुको ठूलो केन्द्रीकरण नयाँ शक्तिमा हुने प्रष्ट चित्र मैले देखिरहेको छु ।

ठूला कम्युनिष्ट पार्टीहरु मिलेका छन् । कतिपयले अब मुलुक दुई दलीय प्रणालीमा गयो भनिरहेका छन् । यस्तो अवस्थामा नयाँ शक्तिलाई त प्रतिकूलता मात्रै छ नि होइन र ?
मुख्य कुरा फेरि पनि विचार र राजनीति हो । अब देशको आवश्यकता फेरिएको छ । जनताको चेतनास्तर पनि धेरै माथि उठिसकेको छ । यो बदलिँदो परिवेशमा जुन पार्टीले जनताको आवश्यकता र चाहनालाई सही ढंगले सम्बोधन गर्न सक्दछ, अन्ततोगत्वा त्यहीपार्टी शक्तिमा आउँछ । हिजोकै सडेगलेका विचार र संस्कारले जनताको नेतृत्व गर्छु र दुई दलीय सिन्डीकेट लागू गर्छु भन्नु पुराना पार्टीहरुको दिवास्वप्न मात्रै हो ।

तपाईं नयाँ शक्तिमा समाहित हुनुभएको केही समय भइसकेको छ । बाहिरबाट बुझेको नयाँ शक्ति र भित्रबाट देखिने नयाँ शक्तिमा केही फरक पाउनुभयो ?
म नयाँ शक्तिमा समाहित हुनुभन्दा अगाडि राम्रै अध्ययन गरेर मुलतः नयाँ शक्ति हामीजस्तै युवाहरुले बनाउने हो भन्ने प्रष्ट बुझाईका साथ पार्टीमा आवद्ध भएको हुँ । यो पार्टीलाई नयाँ युगको आवश्यकता र समृद्धिकरणको अभिभारा पूरा गर्नसक्ने पार्टी बनाउने हो । यसमा हामी युवाकै भूमिका महत्वपूर्ण रहन्छ । यसर्थ, बाहिरबाट कस्तो देखिन्छ वा कस्तो रहेछ भन्ने भन्दा पनि विश्वले नै व्यहोरिरहेको वैचारिक संकट चिर्दै नेपाली मौलिकताको समतामुलक समृद्धि हासिल गर्न सक्ने पार्टी बनाउने हो । क्रान्तिको अभिभारा र स्वरुपहरु युगअनुसार बदलिन्छन् । क्रान्ति जनताको मुल प्रवृत्ति हो । अहिलेको हाम्रो मुख्य अभिभारा आर्थिक सामाजिक न्यायसहितको समुन्नत समाजवाद र सहभागितामुलक लोकतन्त्रको सुनिश्चितता हो । उक्त ध्येय पूरा गर्ने अहिलेको सच्चा क्रान्तिकारी पार्टी नयाँ शक्ति नै हो । म यही निष्कर्षलाई व्यवहारिक रुपान्तरण गर्ने प्रक्रियामा उत्साहका साथ लाग्नेछु ।

वैकल्पिक राजनीति गर्छु भन्ने अरु पार्टी पनि छन् । तपाईं भट्टराई नेतृत्वको नयाँ शक्तिमा नै किन आउनुभयो ?
हेर्नुस्, राजनीति भावना, रहर र असन्तुष्टिले मात्रै हुने कुरा होइन । यसको लागि स्पष्ट विचार, दृष्टिकोण हुनुपर्छ । ‘कम्फर्ट जोन’मा बसेर मुलुकको मूल समस्याप्रति निरपेक्ष रहेर विविधताले भरिपूर्ण र विभिन्न प्रकारका असमानताले जर्जर हाम्रो देशको राजनीतिक मूल प्रवाहमा आफूलाई समाहित गर्न सक्छु भन्नु कच्चा बुझाई मात्र हो । नयाँ शक्तिले अगाडि सारेको ५ ‘स’को अवधारणाले बहुआयामिक ढ्रंगले अबको राजनीतिक निकासलाई स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्छ । सबै वैकल्पिक राजनीति गर्छु भन्नेहरु रहरले मात्र अबको युगको आवश्यकतालाई सम्बोधन गरेर आफूलाई खडा गर्न सक्छन् भन्ने हुँदैन ।

पुराना राजनीतिक शक्तिप्रति नागरिकको विकर्षण बढिरहेको बेला नयाँ शक्तितिर आकर्षण बढ्नुपर्ने हो । तर, त्यस्तो देखिँदैन । समस्या त तपाईंहरुभित्र पनि छन् नि ?
पुराना राजनीतिक पार्टीहरुप्रति नागरिकको विकर्षण बढेको कुरा सत्य हो । यो मात्रात्मक लक्षण मात्र हो । निकट भविष्यमा नै पुराना शक्तिभित्र ठूला ठूला चिरा पर्ने र जनताले पनि वैकल्पिक शक्तिको तीव्र खोजी गर्ने वस्तुगत आधार बन्दै जानेछ । नयाँ शक्तिले उक्त परिस्थितिको कुशतलापूर्वक नेतृत्व गर्नको लागि आफूलाई तलैदेखि बलियो बनाउँदै लैजानुपर्छ । अब हामी आफ्नो शक्तिलाई चुस्त, बलियो र जिम्मेवार बनाउनतर्फ केन्द्रित हुन्छौं । यसको लागि सिंगै पार्टी हाम्रो नयाँ विधान कार्यान्वयन गर्नेगरी महाधिवेशनमा होमिने तयारी गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob