scheduleसोमवार आश्विन ८ गते, २०७५

‘क्रोनी क्यापिटालिज्म‘ भर्सेज् ‘सामाजिक फासीवाद’

डम्बर खतिवडा

गत महिनाको मध्यतिर सानो कामले लाहान पुगेको थिए । मित्र विनोद विशुंखेले भने– ‘प्रदीप अंकल आश्रम आउनु भएको छ, भेटन जाने हो ?’ कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरी बौद्धिकवृतका लागि सर्वथा आदर, स्नेह र आकर्षणका पात्र रहे । मेरा लागि पनि यो कुरा उत्तिकै लागू हुन्थ्यो । नेपाली कांग्रेसका लागि सहज नरहेको गत संसदीय निर्वाचनमा उनले जिते, त्यो पनि लाहानजस्तो निर्वाचन क्षेत्रबाट । सिराहामा उनको बस्तीपुर आश्रमको चर्चा यदाकदा सुनेको थिए । त्यो हेर्ने इच्छा थियो । भने– ‘हुन्छ, जाऔं ।’

अघिल्लो साँझ ठूलो हावाहुरी आएको थियो । जताजतै रुखका हाँगाहरु लछारिएका थिए । झुप्राका छानाहरु उजाडिएका थिए । खोला किनारको अनुप्जाउँ जमिनमा आँप बगैचा लगाएका रहेछन्, उनले । ठूलै आँप बगैंचा । तर हुन्डरीले सबै टिकलाहरु झारेर आँपका बोटलाई सिट्टा/सिक्रा बनाएको थियो । भेट भयो । अरु अनौपचारिक कुरा छोडौं अहिले ।

उनको सोचको पछिल्लो जिष्ट थियो, ‘पुँजीवाद र साम्यवादभन्दा प्रजातान्त्रिक समाजवाद विश्वव्यापीरुपमा नै कमजोर वैचारिक परम्परा र आन्दोलन हो । त्यसमाथि हाम्रा कांग्रेसीहरु छलफल गर्न अल्छी मान्छन् । कांग्रेस अहिले पनि बलियो संगठन हो । नेपाली समाजको व्यवहारिक यथार्थसँग राजनीतिलाई कसरी म्यानेज गर्नुपर्छ, कांग्रेसीहरुलाई राम्रो थाहा छ । त्यही भएर बढो असहज अवस्थामा यसपटक ७१ वर्षको उमेरमा चुनाव जिते । तर व्यवहारिक राजनीति म्यानेज गर्दागर्दै कांग्रेसीहरु नेता हैन, म्यानेजरजस्तो भएका छन् । जति नै बलियो र व्यवहारिक संगठन भए पनि राजनीतिको सारतत्व अन्ततः एजेण्डासँग जोडिएको हुन्छ । एजेण्डा दृष्टिकोणसँग र दृष्टिकोण आइडोलजीसँग जोडिएको हुन्छ । नेतृत्वसँग कुनै आइडोलजी नै नभएपछि के हुन्छ ?’

त्यसको केही दिनपछि कांग्रेस केन्द्रीय समिति बैठकमा गगन थापासहित सात भाइ युवाले ५१ पृष्ठ लामो भिन्नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको सुनेँ । पढन मन लाग्यो, खोजेर पढेँ । कम्युनिष्ट पार्टीहरुमा यस्तो दस्तावेजलाई ‘फरक मत’ भन्ने गरिन्छ । कांग्रेसमा यस्तो प्रचलन छ कि छैन थाहा भएन । दस्तावेजको ‘औपचारिक हैसियत’ आधुनिक लोकतान्त्रिक युगमा खासै रुचि र महत्वको विषय हैन । महत्वको विषय हो कस्ता मान्छेहरुले के कुरा उठाए ? त्यसको ‘कन्टेन्ट’ कस्तो छ ?

डम्बर खतिवडा

भनिरहनु परेन कि यो दस्तावेजसँग जोडिएका कांग्रेसी युवाहरुको ‘पब्लिक इमेज’ तुलनात्मकरुपमा अहिले पनि राम्रो छ । उनीहरु कांग्रेसजस्तो परम्परावादी र जड संगठनभित्र अनेक जनसरोकारका सवाल फरक कोणबाट उठान गरिरहेका हुन्छन् । त्यो सकारात्मक पक्ष हो । तर एउटा भनाई यहाँनेर सान्दर्भिक हुन्छ । त्यो के भने– ‘बेइमानहरुको अवसरवादभन्दा इमान्दारहरुको अवसरवाद बढी हानीकारक हुन्छ ।’ बेइमानहरुको सार्जजनिक छवी राम्रो हुँदैन । उनीहरुको पछाडि कमै मान्छे लाग्छन र क्षती पनि कमै हुन्छ । तर इमान्दारहरुसँग धेरैको विश्वास हुन्छ । उनीहरुले गलत बाटो रोजे भने क्षती पनि धेरै हुन्छ ।

यहाँनेर मेरो आसय यो हैन कि सात भाइ कांग्रेसीहरु पूर्णतः ‘इमान्दार अवसरवादी’ हुन । कति मात्र हो भने– कांग्रेसको भविष्य मूलतः यही पुस्ता र धारकोसँग जोडिएको छ । आज कांग्रेसको संस्थापन पक्षसँग जेजस्ता व्यक्ति/व्यक्तित्व जोडिएका छन्, ती उमेर, उद्देश्य र अनेक नियतिले संकुचित हुँदै गइरहेका छन् । ती केही दिनका पाहुना मात्र हुन् । यदि यी नयाँ भनिएकाहरुले पनि दृष्टिकोण र आइडोजलीका हिसाबले ठीक बाटो समात्न सकेनन् भने फेरि पनि कांग्रेसले बाटो बिराउने नै हो । कांग्रेसले बाटो बिराउनु न बिराउनु खासै सरोकारको विषय हैन । तर कुनै न कुनै रुपमा जनमतलाई प्रभावित गर्ने उसको जुन क्षमता छ, त्यसले बाटो बिराउँदा देशले दुःख पाउँछ । त्यहाँनेर सबैको सरोकार हुन्छ ।

प्रदीप गिरीकै भनाईलाई प्रस्थानविन्दू बनाएर हेर्दा सात भाइ कांग्रेसीहरुको मुख्य समस्या फेरि पनि वैचारिक नै हो । उनीहरु कांग्रेसलाई ‘उदार लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता’ को पैरवीकर्ता र संरक्षक दलका रुपमा चित्रित गर्दछन । त्यसो गर्दा उनीहरु कुन ‘आइडोलोजिकल स्पेश’ मा प्रवेश गर्दछन् भन्ने कुरामा कुनै वास्ता गरेको देखिन्न ।

विश्वमा मूलतः यतिखेर मुख्य तीन वैचारिक धारहरु छन्– पुँजीवाद, साम्यवाद र समाजवाद । राजनीतिक विचारधाराको जन्ममा ‘व्यक्तिवाद’ र ‘सामूहिकता’, ‘स्वतन्त्रता’ र ‘समानता’ मुख्य विभाजक तत्वहरु हुन । स्वतन्त्रता र व्यक्तिवाद मूलतः उदारवाद/पुँजीवादको पैरवी हो । सामूहकिता र समानता मूलतः साम्यवादको पैरवी हो । समाजवाद यी विचारधाराभन्दा फरक किन हुन्छ भने त्यसले ‘व्यक्तिवाद’ र ‘सामूहिकता’ लाई, ‘स्वतन्त्रता’ र ‘समानता’ लाई ‘निषेधको निषेध’ मा नभएर ‘गतिशील सन्तुलन’ मा हुने अविभाज्य प्रवर्गका रुपमा हेर्दछ । सात भाइ कांग्रेसीहरु एकातिर आफूलाई कम्युनिष्टहरुले ‘पुँजीवादी’ भनेकोमा दुःख मनाउँ पनि गर्दछन्, पुनश्च आफै त्यही वैचारिक स्पेशमा पुग्दछन् ।

संसारमा कुनै समाज निजी मात्र वा सामूहिक मात्र हुँदैन । नत स्वतन्त्रता र समानतामध्ये एकको मूल्यमा अर्कोलाई छान्न नै सकिन्छ । व्यक्ति स्वयं सामूहिकताको उपज हो । मातापिता र परिवारको जैविक, शारीरिक तथा पारिवारिक योगदान विना व्यक्ति अस्तित्वमा आउँदैन । त्यो सामूहिकताको अनिवार्य उपस्थिति हो । तर व्यक्ति मातापिताबाट जन्मिए पनि त्यो स्वयं मातापिता नै हैन । त्यो अलग व्यक्तित्व हो । अर्थतन्त्रमा श्रम र पुँजीको अन्तर्सम्बन्ध पनि त्यही हो । पुँजी श्रमबाटै जन्मिएको हुन्छ तर पुँजी श्रमभन्दा अलग व्यक्तित्व पनि हो । दार्शनिक तहमा यो यथार्थलाई स्वीकार गर्नु नै मूलतः पुँजीवादी वा साम्यवादी भन्दा फरक समाजवादी हुनु हो ।

नेपालमा कांग्रेसले यही कुरा बुझ्न नसक्दा सन् १९९० पछि पुँजीवादी बाटोमा लाग्यो । त्यसका विकृतिहरुको दोष आज कांग्रेसले पाइरहेको छ । कांग्रेसका दोषहरुको चाङमा कम्युनिष्टहरु उदित भएका छन् । तर उनीहरु अर्को कोणबाट एकांकी छन् । आज पनि उनीहरु लेनिनवाद, स्टालिनवाद माओवाद, क्यास्त्रोवादजस्ता सोचलाई गौरवीकरण गर्दछन्, जसको अबको लोकतान्त्रिक युगमा कुनै सान्दर्भिकता नै बाँकी छैन । मार्क्सवादको कुरा भने भिन्नै हो । दार्शनिक रुपमा त्यसबाट थुप्रै कुराहरु सिक्न सकिन्छ । यसर्थमा कांग्रेस चिन्तक वीपी कोइराला, सीके प्रसाई र प्रदीप गिरी मार्क्सवादका कयौं प्रस्तावनाहरुप्रति सकारात्मक धारणा राख्दछन् । सात भाइ कांग्रेसीहरुले आफ्नो दस्तावेजमा समाजवादीहरु मार्क्सवादबाट सिकेको कुरा के हुन् र कम्युनिष्टहरुको विरोध गरेको कुरा के हो, त्यसको प्रष्ट सीमारेखा कोर्न सकेजस्तो लाग्दैन ।

व्यक्ति विनाको समाज वा समाज विनाको व्यक्ति जति असम्भव कुरा हो, स्वतन्त्रता विनाको समानता वा समानता विनाको स्वतन्त्रता पनि त्यतिकै असम्भव कुरा हो । आजको चीन, उत्तरकोरिया क्युवालाई साम्यवाद, अमेरिका, बेलायत भारतलगायतलाई पुँजीवाद र नोर्डिक मुलुकहरुलाई समाजवादको मानक मानेर हेर्ने हो भन्ने तथ्यांकहरुले यो भेदलाई व्यवहारिकरुपमा पुष्टि गर्दछन् । यी तीन ब्लकहरुमध्ये मानवीय स्वतन्त्रता, आर्थिक समृद्धि, लोकतन्त्रको शुद्धता र प्रभावकारिता, मानवीय खुशी कहाँ बढी प्रत्याभूत छ, प्रष्टै देखिन्छ । आफ्नो वैचारिक प्रस्थानविन्दूमा नै पुँजीवादी स्पेशलाई स्वीकार गरिसकेपछि कम्युनिष्टहरुले कांग्रेसलाई ‘सन् १९९० पछिको उदारवादी अर्थतन्त्रको नकारात्मक पक्षको जिम्मेवार पात्र’ का रुपमा चित्रित गरे भनेर गुनासो गर्नुको कुनै तुक रहँदैन ।

सात भाइ समूहले २०१५ सालको पहिलो संसदीय आम निर्वाचनदेखि २०७४ को संघीय, प्रादेशिक र स्थानीय निर्वाचनसम्म आइपुग्दा कांग्रेसको भोट कसरी स्थिर रह्यो वा घट्यो र कम्युनिष्टहरुको भोट कसरी निरन्तर बढ्दै गयो भन्ने कुरालाई प्रतिवेदनको मुख्य चुरो बनाएको देखिन्छ । यसरी हेर्दा यो प्रतिवेदनको सारतत्व फेरि पनि राजनीतिक परिदृष्यको विहंगम विश्लेषण नभएर प्रकारान्तले हारको मनोवैज्ञानिक पीडा नै बन्न पुग्छ । यहाँनेर उनीहरु नेपालमा कम्युनिष्टहरु विशेषतः एमालले क्रोनी क्यापिटाज्मिका रुपमा समाजको सबै पक्षमा कब्जा जमाएको कुरालाई जोडदार ढंगले चित्रण गर्न खोजिएको छ ।

वस्तुतः यो कोणमा नेपाली कांग्रेसका खराबी वा कमजोरीहरुको वैचारिक प्रवृति चाहिँ के थियो त? ‘क्रोनी क्यापिटाज्मि’ भनेको के हो ? राज्यशक्तिको बर्चश्वलाई आफू र आफ्नाका लागि मात्र पहुँच हुने गरी सीमितिकरण गर्नु नै मूलतः क्रोनी क्यापिटालिज्म हो । २०४७–२०६३ अवधिको मुख्य राजनीतिक प्रवृति विशेषतः गिरिजाप्रसाद कोइरालाको शासनका प्रारम्भिक वर्षहरुबाट नै नेपालमा क्रोनी क्यापिटालिज्म शुरुवात भइसकेको थियो । यो अवधिमा एमाले तुलनात्मक रुपमा बढी प्रतिपक्षी दल र संयुक्त सरकारमा पनि कांग्रेस कै नेतृत्वमा रह्यो । यस अवधिमा कांग्रेसले दुई पटक बहुमत प्राप्त गरेर पनि म सदुपयोग गर्न नसकेको यथार्थ सबैका सामु छँदैछ ।

यहाँनेर पनि ७ भाइ कांग्रेसीहरु वैचारिक रुपमा नै झुक्किएका छन् । नेपालमा ‘क्रोनी क्यापिटाज्मि’ को वास्तविक प्रतिनिधि राजनीतिक संस्था नेपाली कांग्रेस नै हो, एमाले वा कम्युनिष्टहरुले त ‘सामाजिक फासीवादी’ चिन्तनलाई संस्थागत गरेका हुन् । त्यसो भए क्रोनी क्यापिटाज्मि र सामाजिक फासीवाद किन कसरी फरक छ त ? ‘क्रोनी क्यापिटालिष्ट’ भनेको आर्थिक उदारीकरणको युगमा नियमक संस्थाहरुको कमजोरी वा अनुपस्थितिलाई उपयोग गरेर सीमित व्यक्ति र उसका आसेपासेहरुले ‘बर्चश्वको दुस्चक्र’ निर्माण गर्ने प्रवृति र अर्थव्यवस्थामा त्यसको दुस्प्रभाव हो । यस्तो प्रवृति नेपालका नेपाली कांग्रेसले नै शुरुवात गरेको हो । सात भाइ कांग्रेसहरु यदि कांग्रेसको आधुनिकीकरण, अझ बढी लोकतान्त्रिकरण गर्न चाहन्छन् भने स्वयं कांग्रेसभित्र उनीहरुले यो प्रवृतिसँग लडन सक्नु पर्दछ ।

उनीहरुले ठीकै चित्रण गरेका हुन– आर्थिक उदारीकरण तथा निजीकरणको नीति कांग्रेसले ल्यायो । त्यसको व्यवहारिक फाइदा भने नेपालका कम्युनिष्ट कार्यकर्ताहरुले बढी उठाए । कम्युनिष्ट कार्यकर्ताहरु निजी शिक्षा र स्वास्थ्य, सहकारी, गैसस, मेनपावर कम्पनी, घरजग्गा कारोवारजस्ता क्षेत्रहरुमार्फत् आर्थिक रुप बलियो बने । त्यही बर्चश्वको विस्तरमार्फत् स्थानीय सामाजिक जीवनका हरेक पक्षहरुमा कब्जा जमाउँदै गए । आज सामुदायिक वन उपभोक्ता समूहदेखि आमा समूहसम्म, टोल विकास संस्थादेखि विभिन्न सामाजिक संघसंस्थासम्म उनीहरुको ठूलो कब्जा छ ।

तर त्यो क्रोनी क्यापिटालिज्म थिएन । मूलतः नेपालमा गिरिजाप्रसाद कोइरालाको उदयपछि कांग्रेसहरु वंशगत राजनीति, परम्परागत स्थानीय जिमिन्दारी वर्चश्व, ठेक्कापट्टा, कमिसन र पवार ब्रोकरिङ्गतिर सीमित हुँदै गए । जुन क्षेत्र कम्युनिष्ट कार्यकर्ताहरुले रोजे, त्यो पञ्चायतकालमा राम्ररी विकसित भइनसकेको ब्लान्क क्षेत्र थियो । अर्थात् कांग्रेसीहरुले इग्नोर गरेका नयाँ आर्थिक क्षेत्रहरु नै विगत दुई दशकमा झनै प्रभावशाली क्षेत्रका रुपमा विकास भए । आज त्यही बर्चश्वले कम्युनिष्टहरुलाई शक्तिशाली बनाइदिएको छ भने कांग्रेसलाई संकटमा पारिदिएको छ ।

कांग्रेस कमजोर हुँदै जानुको एउटा कारण आर्थिक वर्चश्वका परम्परागत आधारमा बढी विश्वास गर्नु हो । तर कम्युनिष्टहरुले समाजमा आफ्नो आर्थिक वर्चश्व मात्र निर्माण गरेनन्, कांग्रेस सामाजिक, राजनीतिक, संगठनात्मक परिचालनमा अल्छी देखियो । कम्युनिष्टहरुले आर्थिक बर्चश्वलाई सामाजिक बर्चश्व विस्तारको माध्यम बनाए । एकातिर उदारीकरणले उलपब्ध गराएका नयाँ आर्थिक क्षेत्रहरुमाथि कब्जा, अर्कोतिर बलियो संगठनात्मक परिचालन र सामाजिक जीवनका सबै अवयवहरुको पार्टीकरण समाजिक फासीवादको परिचायक हो ।

लोकतन्त्रले क्रिटिकल मास माग गर्दछ, जनमतलाई पार्टीकरण गर्दैन । सवाल र एजेण्डा आधारित मतदानका लागि जनसमुदायलाई प्रेरित गर्दछ । तर कम्युनिष्ट स्कुलिङ्गले ‘पार्टी संस्था’ को अतिआदर्शीकरण गर्दछ । एकपटक कुनै पार्टीको संगतमा परेपछि जिन्दगीभरि त्यहीसँग रहनु पर्दछ, त्यसलाई छोडनु, भोट नदिनु धार्मिक आस्थाबाट च्यूत भएजस्तै हो भन्ने जब्बर मनोविज्ञान निर्माण गर्दछ । औसत नेपालीहरु १४–१८ वर्षको उमेरमा राजनीतिक सँगतमा आउँछन् । एकातिर उनीहरुको मातापिताको राजनीतिक आस्थालाई पछ्याउने प्रवृति रहन्छ नै । अर्कोतिर त्यो कलिलो उमेरमा छानेको पार्टी वा विचारलाई जिन्दगीभर साथ दिनु पर्ने नैतिक प्रश्न बनाएपछि एजेण्डा गौण हुन पुग्दछन् ।

वास्तवमा नेपाली मतदाताबीच एजेण्डाको खासै छलफल नै हुँदैन । आफ्नो पार्टीले जे भने पनि ठीक, अर्को पार्टी जे भने पनि गलत भन्ने मनोविज्ञान नेपाली समाजमा कम्युनिष्टहरुले निर्माण गरेका छन् । त्यो मूलतः समाजिक फासीवाद हो । तसर्थ, आज कांग्रेस भर्सेज कम्युनिष्टको लडाई भनेको क्रोनी क्यापिटालिज्म भर्सेज समाजिक फासीवादको लडाई हो । कांग्रेसले लोकतान्त्रिक तथा प्रगतिशील तप्काको नेतृत्व गर्दागर्दै कम्युनिष्टहरुको आकस्मिक उदय भएको हैन ।

यहाँनेर सात भाइ कांग्रेससँग प्रश्न गर्न सकिन्छ– के तपाईहरु कांग्रेसको आधुनिकीकरण, लोकतान्त्रिकरण गर्न तयार हुनुहुन्छ कि कम्युनिष्टहरुले जिते भन्ने कुन्ठा र हिनताभाष मात्र हो ? जब मुख्य दुवै पार्टीहरु उत्तिकै यथास्थितिवादी चरित्रको प्रतीकका रुपमा उभिन्छन कांग्रेसलाई भोट दिइरहनु पर्ने औचित्य कहाँनेर रहन्छ ? क्रोनी क्यापिटालिज्म भर्सेज सामाजिक फासीवाद नेपाली नागरिकका लागि तावा र भुंग्रोबीचको खेल मात्र हो । तावामा जलेपनि भुंग्रोमा जले पनि हुने परिणाम एउटै हो ।

यसरी बहस गर्न सकिने विषय थुप्रै छन् । सानो लेखमा सबै कुरा उठाउन संभव हुँदैन । तथापि सात भाइ कांग्रेस मित्रहरुसँग निम्न प्रश्न गर्न चाहन्छु-

एक– के तपाईहरु लोकतन्त्रको आम संसदीय र प्रतिनिधिमुलक चरित्रभन्दा फरक कांग्रेसलाई सहभागितामुलक लोकतन्त्रको पक्षधर पार्टी बनाउन सहमत हुनुहुन्छ ?

दुई– कांग्रेस साँच्चै समाजवादी पार्टी हो भने हिजो जे भयौं छोडौं, अब शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्न वा निजी र सार्वजनिक शिक्षा/स्वास्थ्यबीचको विभेद अन्त्य गर्न सहमत हुनुहुन्छ ?

तीन– कांग्रेसलाई परम्परागत वंशवाद, स्थानीय जिमिन्दारी वर्चश्व, ठेक्केदार, पावरब्रोकर र डनहरुको प्रभावबाट मुक्त उदात्त प्रतिभाहरुको पार्टी बनाउन प्रतिवद्ध हुनुहुन्छ ? कम्युनिष्टहरुले कर्मचारी लगायत सरकारी वेतनधारी क्षेत्रहरुमा त्यति बलिया ट्रेड युनियन बनाए, उनीहरुको वर्चश्वको एउटा आधार त्यो पनि हो, तपाईहरु ती क्षेत्रमा आफ्ना ट्रेड युनियनहरु खारेज गरेर उनीहरु नैतिक दबाब सृजना गर्न सक्नु होला ?

चार– के नेपाली कांग्रसभित्र राजनीतिक लागतको आर्थिक पारदर्शिता अपनाउन सम्भव छ ? वा कांग्रेसभित्र तपाईहरु त्यसको पक्षमा पैरवी गर्न सक्नुहुन्छ ? प्रभावशाली भनिएका कांग्रेस उम्मेद्वारहरुले चुनावमा कति खर्च गर्छन् र निर्वाचन आयोगमा कसरी फर्जी विवरण बुझाउँछन्, त्यो तपाईहरुलाई थाहा नभएको हो र ? पारदर्शी राजनीतिक लागत प्रणालीसँग सम्बन्धित ऐन, कानुन, संस्कार र संस्कृति निर्माण गर्न किन कांग्रेसको ध्यान कहिल्यै गएन ?

पाँच– नेतृत्वले मधेशलाई समेटन नसकेको जुन तपाईहरुको गुनासो छ, त्यहँनेर कांग्रेस चुक्नुमा संघीयतालाई जातीयता बुझ्ने वा मधेस आन्दोलनलाई केवल भारतीय हितसँग मात्र जोडेर हेर्ने तपाईहरु भित्रकै केही युवा नेताहरुको दृष्टिकोण जिम्मेवार छैनर ? चन्द्र भण्डारी लगायतका मित्रहरुले ५ नं. प्रदेशका बेला जुन भूमिका गर्नु भो, के त्यस्तो दृष्टिकोणले मधेश समेटिन्थ्यो ? भाषिक, साँस्कृतिक, सामाजिक आन्दोलनलाई केवल जातीयता मात्र बुझ्दा नेपालमा संघीयताको मोडल नै भ्रान्त र विकृत भएजस्तो तपाईहरुलाई लाग्दैन ? ओली उदयको प्रस्थानविन्दू यही हैन र ? संविधान निर्माणमा सुशिल कोइरालाको भूमिका ओलीको छायाजस्तो बन्न पुग्नु वा अखण्ड सुदुरपश्चिमजस्ता आवेगी आन्दोलनलाई मद्दत गर्न देउवाका लागि ओली ढाल सरह बन्न पुग्नु यो पक्षलाई तपाईहरुले खै देखेको ? आज सीमांकन सम्बन्धी बाँकी विवादमा तपाईहरुको धारणा के ?

भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा देशमा जुन विभाजित मनोविज्ञान देखियो, त्यसले मधेशलाई मनोवैज्ञानिक रुपमा कसरी क्रिमिया वा क्याटोलोनियाको बाटोतिर धकेलिरहेको छ भन्ने पीडा वा भय तपाईहरुको मनमा उत्पन्न हुँदैन ? विशेषतः चन्द्र भण्डारी र धनराज गुरुङ्गले संघीयता निर्धारणका सन्दर्भमा जुन प्रकारको अभिव्यक्ति गर्नु भो, आज ओलीज्मको उदयको एउटा आधार त्यो पनि हो भन्ने बुझ्न चाहनुहुन्छ वा हुन्न ? संभवत् यी प्रश्नहरुको उत्तर विना कांग्रेसको फिर्ती सहज छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob