scheduleमगलवार श्रावण २९ गते, २०७५

निभाउन नसकिएको विभेदको आगो

वीरेन्द्र कटुवाल

‘एउटै वर्ग र समुदाय आन्दोलनमा सहभागी भएकै आधारमा षडयन्त्रपूर्वक घटनालाई गैरराजनीतिक बनाइयो … । टीकापुर घटना राजनीति हुन सकेन र बनाइएन पनि । हुन नसक्नु र नबनाइनुको पछाडि एउटै कारण हो– एउटै वर्ग र समुदायमात्रै आन्दोलनमा सहभागी हुनु … । न्याय नपाएर आक्रोशित जनतालाई बेवास्ता गरेर मुलुक कसरी समृद्धितर्फ जान्छ ?’
सदियौंदेखि दबाइएका कैलालीका आवाजहीन जनताका आवाज हुन्, रेशम चौधरी । कैलालीका थारु समुदायका धुकधुकीपनि हुन् उनी । त्यसैले त गत निर्वाचनमा १३ हजारको विरुद्ध ३४ हजार मत दिएर कैलालीका जनताले उनलाई आफ्नो प्रतिनिधि मात्रै चुनेनन्, शान्ति, समृद्धि र विकासको निम्ति काँधमा काँध मिलाएर हिँड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
तर, वर्तमान सरकारलाई यो कुरा पचेन । संघीय गणतन्त्र नेपालको पहिलो जननिर्वाचित सरकारको वार्षिक कार्ययोजना र बजेटमाथि गरमागरम बहस, छलफल र कार्यान्वयन भैरहेको बेला उनलाई अपराधको अभियोग लगाइयो र झ्यालखानामा कोचियो ।

प्रारम्भमा कोरिएका पङ्क्ति तिनै अभियुक्त सभासद रेशम चौधरीले झ्यालखानाबाट पूर्व–प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई लेखेको पत्रको अंश हो । र, उनीमाथि २०७२ साल भदौ ७ गते कैलाली टीकापुमा एसएसपीसहित ७ जनाको ज्यान जानेगरी भएको हिंसात्मक झडपको मुख्य अभियुक्तको आरोप लगाइएको छ ।

वर्तमान अवस्थामा डा. भट्टराईले गर्न सक्ने त के छ र ? मधेसका जनताको अधिकारको कुरा गरेबापत् उनी आफू स्वयम् भारतीय दलाल र भ्रष्टाचारीको आरोप खेपिरहेका छन् । सरकार कसैलाई जेल हालेर, कसैलाई हुँदै नभएको फरेबको प्रचार गराएर, सकैलाई भोकभोकै मारेर, आफ्नो निर्लज्ज लबस्तर्‍याइँ छोप्ने प्रयास गरिरहेको छ ।

विरेन्द्र कटुवाल

रेशम चौधरीले ‘खुकुरीको चोट अचानु भएर सहनेहरूलाई नै थाहा हुन्छ’ भन्ने हिसाबले डा. बाबुराम भट्टराईलाई सो पत्र लेखेका होलान् । थाहा छैन उहाँहरूको बीचमा त्यसपछि के बातचित भयो । तर, उक्त पत्रमा उल्लेख गरिएका शब्दहरूले केही नयाँ–पुराना, निर्मम र नाजुक प्रश्नहरू उठाएको छ । कता–कता इतिहास दोहोरिए जस्तो ! समयले यु–टर्न मारे जस्तो ! बिसेक हुनलागेको घाउ उकल्चिए जस्तो भान भैरहेको छ ।

स्मणीय छ, पत्रमा लेखिएका यी शब्दहरू बहिष्कृत आवाजका जीवन्त विम्ब हुन् । अल्पसङ्ख्यक भएकै कारण, अधिकार माग्न नपाइने कुरा सामन्त युगीन प्रचलन हो । सम्भवतः अठारौँ शताब्दीको अन्तअन्ततिर, जतिबेला सामन्ती राज्यव्यवस्थाहरू पतन हुने र पूँजीवादमा रूपान्तरित हुने प्रकृया तिब्र थियो । संसारका गरिब र निमुखा जनताहरू सामन्ती र पूँजीवादी शोषणको दोहोरो मारमा थिए । त्यसै समयमा खासगरिकन पाश्चात्य मुलुहरूको आलोकमा कार्ल मार्क्सले कम्युनिष्ट मेनिफेस्टउको रचना गरे । जहाँ वर्गसंघर्षमार्फत् सर्वहारा वर्गलाई राज्यसत्ता र उत्पादन सम्बन्धको मालिक बनाउने कुरा गल्लेख थियो ।

यो प्रसङ्ग किन सान्दर्भिक लाग्यो भने, आज हामी इतिहासको यस्तो निर्मम कालखण्डमा खडा छौं, जहाँ त्यही मेनिफेस्टउ हातमा बोकेर नेपालका कम्युनिष्टहरू एकातिर तीनै ठगिएका, पछाडि पारिएका, गरिब र सीमान्तकृत वर्ग र समुदायको प्रतिनिधिलाई जेल कोच्ने काम गरिहेका छन्, अर्कोतिर त्यही प्रकृतिको घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरेको व्यक्तिलाई फूलमालाले अभिनन्दन् गर्दै, सजाय माफी दिइरहेका छन् ।

यतिमात्रै होइन काटिकुटी कैलाली टीकापुर र यो भन्दापनि डरलाग्दा घटनाका लिडर र डिजाइनरहरू आज मुलुकको ड्राइभिङ्ग सिटमा बसेका छन् । र, दुर्गम र पिछडिएका, गरिब र निमुखा जनताको शिक्षा, स्वस्थ्य, राज्यका सेवा र सुविधाहरू समानताको आधारमा वितरण हुनुपर्छ र त्यो जनताको अधिकार हो भन्ने मान्छे मरणासन्न अवस्थामा छन् ।

पङ्क्तिकारको जिरह यो होइन कि हिजो भएगरिएका राजनीतिक आन्दोलन र क्रान्तिका नेताहरू सबैलाई जेल हाल्नुपर्छ । न त सबै आन्दोलन र क्रान्तिहरू अपराध हुन भन्न नै खोजिएको हो । भन्न के मात्रै खोजिएको हो भने, हिजो भएका सबै राजनीतिक आन्दोलनलाई एउटै तुलोमा राखेर जोख्नुपर्छ । कसैको वर्ग, जात, समुदाय विषेशको आधारमा घटनाको मुल्याङ्कन गरिनु हुँदैन । एउटै प्रकृतिका घटनामा कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन, भन्न खोजिएको हो ।

त्यही प्रकृतिको क्रान्ति गरेर आउँनेहरू सरकारको ड्राइभिङ्ग सिटमा बस्ने । अनि रेशम चौधीले चाहिँ जेल बस्नु पर्ने ? यो कस्तो खालको मत्स्य न्याय हो ? यसले हामीलाई कहाँ पुर्‍याउँछ ? यस्तो खालको विभेदले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन । सबैलाई मुलधारमा आउने अवसर दिनुपर्छ । र, रेशम चौधरीले पनि त्यो अवसर पाउनु पर्छ । होइन, यदि जेलमा नै बस्नुपर्ने हो भने गृहमन्त्रीले पनि राजीनामा दिएर जेल बस्न जानुपर्छ ।

दिनैपिच्छे सरकारका बेहुदा हर्कत र उट्पट्याङ्ग वाणी सुन्दा र पढ्दा यस्तो लाग्छ कि इतिहासले निर्ममतापूर्वक यु–टर्न मारेकोछ– १९९७ को माघ महिनातिर । उक्त समयमा तात्कालिक राणा शासकले माग १० गते शुक्रराज शास्त्रीलाई टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याएर मारेका थिए भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा एउटै मौलोमा बाँधेर गोली ठोकेका थिए ।

उता त्यस्तै अपराधमा पक्राउ परेका टंकप्रसाद आचार्य, रामहरी शर्मा र जीवराज शर्माले मारिनु परेन । किनभने उनीहरू बाहुनका छोराहरू थिए । पछि ती ब्राह्मण पुत्रहरू जिउँदा शहीद मात्रै गोषणा गरिएनन, क्रमशः यो मुलुकको प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष र राजदूत समेत भए ।

ती चार शहीद परिवारलाई ‘मेरो नाति, छोरा छोरा, मेरो बाबा, मेरो श्रीमानपनि बाँचेको भए त्यस्तै हुँनेथिए’ भन्ने लाग्यो कि लागेन होला ? आखिर के म्यासिज दियो, त्यो घटनाले उनीहरूको सन्ततीलाई ? निःसन्देह, यस्ता घटनाहरूका सन्देशात्मक तत्वहरूले हिजोका आन्दोलन, क्रान्ति र जनयुद्धको निर्माण र विकासमा इँटाहरू जोड्ने काम पक्कैपनि गर्‍यो । के हामी फेरी त्यही चाहन्छौं कि मुलुक निरन्तर द्वन्द्वमा फसिरहोस् ?

मानिलिउँ पृथ्वीनारायण शाहले विभिन्न जातजाति, धर्म–संस्कृति, भाषा–साहित्य, भेषभुषा, रहनसहन भएका राष्ट्रिय राज्यहरूको एकीकरण गरे । तर, त्यो एकिकरण ऐतिहासिक आवश्यकता अनुसार नै भएको थियो भनेर प्रमाणित गर्नको निम्ति त्यसपछिका राज्यसत्ताहरूले राष्ट्रहरूको मन जोड्ने काममा के भूमिका खेले ? सायद त्यसपछिका शासकले यसको उत्तर खोज्ने प्रयत्न गरेनन । किनभने ‘चार जात छत्तीस वर्णको साझा फूलवारी’ मा सबै फूलहरूलाई गोडमेल गरेर फुल्न, फल्न र खेल्न दिएको भए, आज ‘पृथ्वीनारायण शाहले राज्यको एकिकरण गरेका थिए कि विस्तार ?’ भन्ने प्रश्न उठ्ने नै थिएन ।

आजको समस्या इतिहासमा कस्ले के गर्‍यो भन्ने होइन । इतिहासको त्यो निर्मम गल्ति सुधार्नुको सट्टा, आजपर्यन्त हामी इतिकासको त्यही गल्ती दोहार्‍याउँदै छौं । समस्या यो हो । लाग्छ हामी पृथ्वीनारायण शाहले राष्ट्रिय राज्यहरूको एकिकरण होइन, उनले आफ्नो गोर्खा राज्यको विस्तार नै गरेका थिए भनेर प्रमाणित गर्न उदात्त छौं । र, नेपालका शासकहरूको शासन शैली हेर्दा लाग्छ, यो मुलुक उनीहरूको पुर्ख्यौली सम्पत्ति हो ।

सुधार्ने र सुध्रिने नाममा राजनीतिक आन्दोलनहरू हुँदैनभएका भने होइनन् । प्रशस्त भए । जस्तो २०४६ सालको आन्दोलन, १० बर्षे जनयुद्ध, मधेस आन्दोलन, २०६२–६३ को दोस्रो जनआन्दोलन । तर, जुन आधारमा टेकेर ती आन्देलन र क्रान्तिहरू भए, अनि जब त्यो आधारमा अधिरचना निर्माण गर्नेबेला भयो, त्यही वर्ग र समुदायका प्रतिनिधिहरूलाई पटकपटक बन्चित गरियो । र, अहिलेपनि कोही खोरमा छन, कोही आमरण अनशनमा छन ।

चित्त बुझाउनको लागि त यसलाई दुर्भाग्य भन्दापनि भयो, विडम्बना भन्दापनि भो ! आखिर त्यसैभनेर चित्त बुझाउँदै आएकै हुन । खासमा त यो ड्राभिङ्ग सिटमा बस्नेहरूको सामन्तवादी सोचविचारको परिणाम हो, सत्तामा पृथ्वीनारायण शाहको वंश नभएर के भयो र ? काखिमा कम्युनिष्ट मानिफेस्टउ च्यापेर पो के भयो र ? राज्यसत्ताको सार उही छ । चरित्र उही छ । आचरण र व्यवहार उही छ ।

लाग्छ, नेपालका कम्युनिष्टहरूले नेपाली समाजको चरित्र अर्धसामन्ति छ भन्ने जिरह उनीहरूले आफ्नै अनुहार ऐनामा हेरेर तय गरेका हुन् । किनभने त्यो नै नेतृत्वको वास्तविक सार र रूप दुबै हो । समाजको होइन । समाज त पूँजीवादमा प्रवेश गरिसकेको दशकौं भैसक्यो । पूँजीवादी समाजलाई अठारौं शताब्दीको विभेदपूर्ण सामन्तवादी चिन्तनले कसरी नेतृत्व गर्न सकोस् ?

समाजको चरित्र अनुसारको नेतृत्व भएन भने मुलुक दुर्घटनामा पर्छ नै । र, सास्ति भोग्नुपर्छ राष्ट्रले । अतःएव निर्माण, विकास र समृद्धिको निम्ति सही सिद्धान्त र सही मान्छे सही ठाउँमा हुन जरुरी मात्रै होइन, अनिवार्य हुन्छ । सम्भवतः हामी यहीँनेर पटकपटक चुक्यौं ।

एउटा माउतेले जत्तिनै बदमास हात्ती तह लगाएको भएपनि, ऊ हवाइजहाज उडाउन योग्य हुँदैन । तर, ठीक त्यही भयो यहाँ । यसपटक मात्रै होइन, अपवाद बाहेक, २०४६ यता पटकपटक आधुनिक नेपालको उडान भरेको जहाजको पाइलटमा माउतेहरू भर्ना गरियो, पाइलट होइन । त्यसैले धेरै सामाजिक दुर्घटनाहरू भए । र, सास्ति भोग्नु पर्‍यो नेपाली राष्ट्रले । अहिलेपनि सरकारको रबैयाले निको चाल देखाइरहेको छैन ।

बिम्बको रूपमा रेशम चौधरी र डा. गोविन्द केसीलाई नै लिन सकिन्छ । संघीय गणतन्त्र नेपालको पहिलो निर्वाचनमा उत्साहका साथ मतदान गर्ने कैलालीका जनतालाई फेरिपनि प्रतिनिधिविहिन बनाइएको छ । उता, जीवनजल पिउन नपाएर मर्नुपर्ने कैलालीका जनतालाई फेरीपनि काकाकुल नै बनाइँदैछ । त्योपनि समाजवादको गेरुवस्त्र धारण गरेका मार्क्सवादीहरूले ऐतिहासिक विजय प्राप्त गरेको समयमा ।

प्रतिपक्षको भूमिकामा रहेको नेपाली काङ्ग्रेस आकारमा मात्र होइन विगतको साखमा पनि निक्कै कमजोर छ । र, ऊ आफूलाई पुनर्संरचना र पुनर्ताजगी गर्ने पक्षमा पनि छैन । ऊ आफ्नो घरको तला थपेर होइन, छिमेकीको घरको तला भत्काएर ठूलो हुने कोशिशमा देखिन्छ । आधुनिक नेपालको वोइङ्ग यानलाई समृद्धिउन्मुख सुरक्षित यात्रा गराउने क्षमता वैकल्पिक नयाँ शक्तिहरूसित भएपनि, विविध कारणले वैकल्पिक नयाँ शक्तिहरू सशक्त बन्न सकेनन् । हुनत पार्टी निर्माणको विषय त्यत्ति सजिलो प्रोजेक्ट होइन । वैकल्पिक शक्तिहरूको आवश्यकता छँदैछ । निर्माण प्रक्रिया जारी रहोस् ।

अन्तमा,
सरकारले इतिहास पढ्ने गरोस् । आफ्नो मात्रै होइन अरूको अनुहारपनि हेर्ने गरोस् । आफ्नो सुखमा मात्रै रमाउने होइन । अरुको दुःखमा पनि मलम प्रलेपन गरोस् । किनभने अन्याय र विभेदको आगो सल्कन एउटा झिल्को नै काफी हुन्छ । उदाहणको रूपमा १० बर्षे जनयुद्धलाई नै लिँदा हुन्छ । जोसेफ स्टालिनको अराजकता र निरङ्कुशताको परिणाम के भयो ? शोभियत संघलाई हेर्दा हुन्छ ।

टीकापुर घटनापनि त्यसैको थप उदाहरण हो । र, यसलाई राजनीतिक रूपमै डिल गर्नुपर्छ । आन्दोलनको नेतृत्व कस्ले गरेको थियो र आन्दोलनमा कस्ता वर्ण र समुदायका जनता सहभागी थिए, भन्ने आधारमा राज्यले न्यायको परमाङ्गी गर्नु हुँदैन । त्यस्तो गरियो भने अन्याय र विभेदको आगोले सबैलाई जलाउँछ । र, धमिलो पानीमा परचक्रीहरूले माछा मार्ने कोशिश त गर्छन् नै ।

(कटुवाल साउदी अरबको जेद्धामा कार्यरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob