scheduleमगलवार श्रावण २९ गते, २०७५

आइपिएलः हार्‍यो दिल्ली, हारेनन् सन्दीप, डि भिलियर्सले गरे खुलेर प्रशंसा

नयाँ दिल्ली, ३० वैशाख । फिरोजशाह कोटला स्टेडियममा शनिबार रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ५ विकेटले पराजित गर्‍यो । बैंगलोरले १९ ओभरमा ५ विकेट खर्चिएर १८२ रनको लक्ष्य हासिल गर्‍यो । एबी डिभिलियर्स ७२ रन बनाएर नट आउट रहे । उनी म्यान अफ दि म्याच पनि छानिए । विराट कोहलीले ७० रन बनाए । यो उनको आइपिएलमा ३४औ र सिजनको तेस्रो फिफ्टी हो ।

यसअघि टस हारेर ब्याटिङ गर्न उत्रिएको दिल्लीले २० ओभरमा ४ विकेट खर्चिँदै १८१ रन बनाएको थियो । रिसभ पन्तले दिल्लीका लागि सबैभन्दा बढी ६१ रन जोडे । विराट कोहलीले यो खेलमा ७० रन बनाए । यो स्कोरसँगै उनी आइपिएलमा सबैभन्दा धेरै रन बनाउने सुरेश रैनालाई उछिन्न सफल भए । विराटले आइपिएलमा अहिलेसम्म १६० खेल खेलेका छन् । उनले यी खेलहरुमा १५२ पारीमा ३८.४५ को औसतमा ४,८८४ रन जोड्न सफल भएका छन् । उनले यो टि-२० खेलमा अहिलेसम्म ४ शतक गरेका छन् जबकि ३४ पटकभन्दा धेरै अर्धशतक जोडेका छन् ।

दिल्लीले दिएको लक्ष्य पछ्याएको बैंगलोरले खराब सुरुवात गरेको थियो । तेस्रो ओभर सकिँदा उसले दुई ओपनर गुमाइसकेको थियो । नेपालका सन्दीप लामिछानेले पार्थिव पटेललाई ६ रनमा आउट गरेर आफ्ना पहिलो आइपिएल विकेट लिए । ट्रेन्ट बोल्टले मोईन अलिको १ र मन्दीप सिंहको १३ रनमा आउट गरे । सरफराज खान ११ रनमा हर्षल पटेलको बलमा पृथ्वी शको हातबाट क्याच आउट भए ।

डिभिलियर्स-कोहलीले तेस्रो विकेटका लागि ११८ रनको साझेदारी गरे । डिभिलियर्सले आइपिएलमा २६औं र यो सिजनको चौथौ अर्धशतक हाने ।

दिल्लीका ओपनरले पनि खराब सुरुवात गरे । जेसन राय १२ र पृथ्वी श २ रनमा आउट भए । दुवैलाई युजवेंद्र चहले बोल्ड गरिदिए । उनीहरुपछि रिसभ पन्तलाई मोइन अली र श्रेयस अयर (३२) लाई मोहम्मद सिराजले आउट गरे । रिसभको यो आइपिएलको सातौं अर्धशतक हो ।

आफ्नो पहिलो आइपिएल खेलमा अभिषेक शर्माले १९ बलमा ४६ रन बनाए । उनले ३ चौका र ४ छक्का हिर्काए । चहलले सबैभन्दा बढी २, मोहम्मद सिराज, मोईन अलीले १-१ विकेट लिए ।

यो खेलमा दिल्लीले टिममा तीन परिवर्तन गरेको थियो । ग्लेन म्याक्सवेल, लियम प्लंकेट र शाहबाज नदीमको ठाउँमा अभिषेक शर्मा, जुनियर डाला र सन्दीप लामिछानेलाई टिममा सहभागी गराएको थियो । बैंगलोरले मनन वोहराको स्थानमा सरफराज खानलाई टिममा सहभागी गराएको थियो । दुवै टिम अंकतालिकामा सबैभन्दा तल छन् ।

दिल्ली र बैंगलोरबीच अहिलेसम्म २० खेल भए । यसमा दिल्लीले केवल ६ र बैंगलोरले १४ पटक विजय हासिल गरे । बैंगलोरले २०११ बाट दिल्ली विरुद्ध खेलेको १४ खेलमा १३ खेल जितेको छ । दिल्लीको घरेलु मैदानमा खेलिएको ८ खेलमा पनि बैंगलोरले ६ खेल जितेको छ र दिल्लीले केवल २ खेलमा चित्त बुझाएको छ ।

आइपिएलमा सन्दीपको शान
आइपिएलमा दुई महिनाअघि नेपालका युवा स्पिनर सन्दीपलाई दिल्लीले पहिलो बोलीमै छनौट गरेको थियो । २० लाख भारुमा दिल्ली भित्रिएका सन्दीपले १२ खेलमा केवल एक खेलमा अवसर पाए । दिल्लीले ११ खेलमा केवल तीन खेल जितेर समूह चरणबाट बाहिरिएपछि मात्र १२ औं खेलमा सन्दीपलाई अवसर दियो ।

सन्दीप चुनौतीको पहाड बोकेर मैदानमा उत्रिए । किनकी बैंगलोरविरुद्धको उनको पहिलो खेलमा सन्दीपले आइपिएलकै सबैभन्दा राम्रा ब्याट्सम्यानहरुविद्ध बलिङ गर्नुपर्ने थियो । १८२ रनको लक्ष्य पछ्याइरहेको बैंगलोरविरुद्ध दिल्लीका कप्तान श्रेयार एयरले सन्दीपलाई पहिलो ओभरमै मैदानमा उतारे ।

उनले पहिलो ओभरमै प्रभावशाली बलिङ गर्नसके । उनले पहिलो ओभरमा केवल ६ रन खर्चिए । बैंग्लोरका पार्थिव र मोइन अली खुलेर खेल्न सकेनन् । पहिलो ओभरबाटै उनको पक्षमा टेलिभिजन कमेन्टेटरले प्रशंसा गर्न सुरु गरिसकेका थिए किनकी उनले ‘भेरियसन’मा बल फ्याँकेका थिए ।

तेस्रो ओभरमा तेस्रो बलमा पार्थिवले सन्दीपलाई चौका प्रहार गरे तर, लगत्तै चौथो बलमा उनले विकेट लिएर आइपिएलमा ‘ड्रिम डेब्यू’ गर्न सफल भए । उनले पटेललाई एलबिडब्लूको एम्बुसमा पारेका हुन् । भारतीय टिमका अनुभवी ३३ वर्षीय पटेलले २५ टेस्ट र २८ एकदिवसीय खेल खेलिसकेका छन् । उनलाई सन्दीपले केवल ६ रनमै शिकार गरे ।

उनले सोही ओभरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र भारतीय कप्तान विराट कोलही विरुद्ध बलिङ गरे । उनले समग्रमा ४ ओभर बलिङ गर्दा १ विकेट लिएर २५ रन दिए । सन्दीपले ४ ओभर खेल्दा १० बल डट फ्याँके भने २ चौका र १ छ्क्का खाए । उनले ६.२५ को इकोनोमीमा बलिङ गर्दै दिल्लीका सबैभन्दा किफायती बलर बने ।

सन्दीपले डिभिलियर्सविरुद्ध ७ बल हिर्काउँदा एक छक्कासहित १० रन दिए । खेलमा सर्वाधिक रन बनाउने क्रममा नटआउट ७२ रन खेलेका डिभिलियर्स सन्दीपविरुद्ध सावधानीपूर्वक खेलेका थिए । त्यसो त,भारतीय कप्तान कोलहीले पनि सन्दीप विरुद्ध खुलेर ब्याटिङ गर्न सकेनन् । उनले सन्दीपको ८ बलमा ९ रन जोडे जसमा १ चौका मात्र सामेल थियो । सन्दीपको प्रदर्शनको डिभिलियर्सले समेत खुलेर प्रशंसा गरे। म्यान अफ दि म्याच बनेका डिभिलियर्सले पोस्ट म्याच प्रिजेन्टेसनमा सन्दीपको प्रशंसा गर्दै भने, ‘ १७ वर्षिय लामिछानेको प्रदर्शन प्रशंसनीय छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob