scheduleशनिवार श्रावण ५ गते, २०७५

‘कार्यकर्ता’को देशमा ‘नागरिक अभिनन्दन’ ?

प्रतिभा पराजुली

नेता भनेका अग्रचेतना हुनुपर्ने हो । तर, नेपालले अहिले यस्तो नेता व्यहोर्नु परिरहेको छ, जसको चेतना जनताको भन्दा अग्रगामी होइन, पश्चगामी छ । भविष्यमुखीभन्दा अतितमुखी आदत भएका यस्तो नेता जसले जनताले स्वीकारिसकेको अग्रगामी चेतना धेरै ढिला मात्र स्वीकार्दै आइरहेको छ । भीड हेरेर धारणा बनाउने र भीडले जे बोल्दा ताली पिट्छ, त्यही बोल्ने सस्ता नेताहरु व्यहोर्नुपर्दा अपार सम्भावना बोकेको देश गरिबी र बेरोजगारीको भुमरीमा जाकिनुपरिरहेको छ ।

कुनै बेला मुलुकमा एकात्मक राजतन्त्रात्मक व्यवस्था थियो । गणतन्त्रको नाम लिनु पनि राज्यद्रोह मानिन्थ्यो । नागरिकले सडकमा उत्रिएर गणतन्त्रको नारा लगाउन थाल्दा पनि केही नेताहरु तर्सिन्थे । सडकमा रगत बगाइरहेका नागरिकको प्रयास र सपनालाई ‘बयल गाडा चढेर अमेरिका जाने’ भन्दै हतोत्साहित गरिरहेका भेटिन्थे केपी ओली । जनताले आफ्नो संविधान आफैं बनाउन पाउनुपर्छ भन्ने नारा लगाउनु हुँदैन भन्थे उनी । तर, माओवादी आन्दोलन र तत्कालीन संसदवादी दलभित्रका प्रगतिशील शक्तिहरुको नेतृत्वमा मुलुकमा गणतन्त्र आइछाड्यो । गणतन्त्रले बोकेर ल्याएका हरेक एजेन्डाको विरुद्धमा अभिव्यक्ति दिनु ओलीको दिनचर्या हुन्थ्यो । गणतन्त्रका नायकहरुका कतिपय गल्ती र अपरिपक्वताका कारण ओली अहिले गणतन्त्रको संरक्षकको भूमिकामा आइपुगेका छन् । ओली सुरु सुरुमा हरेक परिवर्तनका एजेन्डाको विरोध गर्छन्, पछि बाध्यतावश स्वीकार्दै जान्छन् । त्यसको लागि मुलुकले लामो समय मात्र होइन, स्वाभिमानी नेपालीको अमूल्य रगत र पसिना पनि बगिसकेको हुन्छ । ०५७ सालमा माओवादीले संविधानसभा माग्दा १७०० नागरिक मारिएका थिए, संविधानसभा सम्पन्न गर्दासम्म १७ हजार नेपालीको ज्यान गयो । कल्पना गरौं, संसदवादी दलका नेताहरु ०५७ सालतिरै संविधानसभा र गणतन्त्रको अभियानमा सहभागी हुन मानेका भए के हुन्थ्यो होला ?

प्रतिभा पराजुली

जे होस्, मुलुकमा ढिलो चाँडो गणतन्त्र आयो । जनताका छोराछोरी सर्वोच्च स्थानमा पुग्न सके । तर, बिडम्बना भन्नुपर्छ, कुर्सीमा पुगेकाहरु राजतन्त्रात्मक मानसिकताबाट अगाडि बढ्न सकेका छैनन् । गणतन्त्र भनेको राष्ट्र प्रमुखको कार्यालय र कुर्सी फेर्नु मात्रै होइन, यो त व्यवस्थाका यावत अंगहरुमा बहुआयामिक ढंगले लोकतान्त्रिकीकरण हो । यहाँ त लोकतन्त्रको हल्लाबीच निरंकुशता हुर्किरहेको छ । वाम गठबन्धन भनेर चुनावमा गएका दलहरु मिल्न सकिरहेका छैनन् । पछिल्लो समय ओलीको नेतृत्वमा भइरहेका गतिविधिले सहकर्मी दल माओवादी झस्किरहेको छ । शक्ति पृथकीकरणमा आधारित लोकतन्त्रको नारा चर्को स्वरमा लगाउने र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नेपाली अगुवाको दावी गर्ने एमाले र उसको नेतृत्वमा पुगेका ओलीको गतिविधिले प्रचण्ड पनि झस्किएका छन् ।

त्यसो त, ४ दशकदेखि निरन्तर राजनीतिक सत्ताको केन्द्रमा बसेका प्रचण्ड आफू भनेको पार्टी र पार्टी भनेको आफू भन्ने अवधारणामा पार्टी चलाइरहेका छन् । बाबुराम, वैद्य र विप्लवको बहिर्गमनपछि प्रचण्डलाई पार्टीभित्र च्यालेन्ज गर्न सक्ने कोही छैनन् । सिंगो पार्टी नै भजनमण्डलीमा रुपान्तरण भएको छ । वाम एकतापछि पनि त्यही अवस्थालाई निरन्तरता दिन सकिने अपेक्षा बोकेर वाम एकतालाई आदर्श सैद्धान्तिकरण गरिरहेका प्रचण्ड ओलीको सामन्ती हर्कतका कारण हच्किएका हुन् । यो लोकतन्त्र वा पार्टी जनवादको माया लागेर भन्दा एउटा जंगलमा दुई राजाको शीतयुद्ध हो । जहाँ दुई नेताको स्वार्थका अगाडि सिद्धान्त, विचार र सिंगो पार्टी नै निरिह देखिन्छ ।

अरस्तुले कुनै बेला नागरिकलाई तीन तहमा बाँडेका थिए । भोट हाल्न नपाउने अनागरिक, चुन्न पाउने चुनिन नपाउने अर्धनागरिक र चुन्न चुनिन दुवै पाउने नागरिक भनेर । सयौं वर्ष पछाडि आउँदा परिस्थिति बदलिएको छ । अरस्तुको व्याख्यालाई केही संशोधन भने गर्न सकिन्छ । निर्वाचनमा टिकट पाउने र अकूत खर्च गर्न सक्ने कार्यकर्तालाई नागरिक भन्न सकिएला । टिकट पाए पनि नजित्ने ठाउँमा टिकट पाउने तर अकूत खर्च गर्न नसक्दा चुनाव हार्नेलाई पनि जसोतसो नागरिककै तहमा राखिदिऊँ । टिकट नपाउने, सधैं नेताको जयजयकार गरेर हिड्ने आदर्शविहिन हनुमानहरु अर्धनागरिक हुन् । उनीहरुलाई कुनै दलका निरिह कार्यकर्ता भन्न मिल्ला । कुनै पनि दलका कार्यकर्ता नबनेका, क्षमता भएर पनि अवसर नपाउने ‘अभागी’ मान्छेहरुको भिडलाई अनागरिक भन्न सकिन्छ ।

यो किन भनिएको हो भने हाम्रो देश अब कार्यकर्ताको देश भइसक्यो । नागरिकको बीउ भेट्टाउन पनि मुस्किल छ । कुनै न कुनै राजनीतिक दलसँगको संगठनात्मक आवद्धताले बाँधिएका आदेशपालकहरुको भीडभित्र एउटा नागरिक निसास्सिरहेको देश हो यो । ओलीले भारतीय नाकाबन्दी मुर्दावाद भन्छन् । कार्यकर्ताहरु जिन्दावाद भन्छन् । ओलीले मोदीलाई नागरिक अभिनन्दन गरौं भन्छन् । कार्यकर्ताहरु जिन्दावाद भन्छन् । मोदी सच्चिएका हुन् कि ओली ? कार्यकर्ताहरु प्रश्न गर्दैनन् । किनकी कार्यकर्ताहरु आफ्नो मष्तिष्कको प्रयोग गर्न चाहँदैनन् । केवल आदेशको शिरोधार्य गर्छन् । विवेकको प्रयोग गर्ने नागरिक पनि यो देशमा छन् र ? अवश्य छन् तर, यति कम छन् कि उनीहरुको सानो आवाज कार्यकर्ताहरुको भिडमा सुनिँदैन ।

यस्तै उदाहरण अर्को दल माओवादीतिर हेरौं । प्रचण्डले कांग्रेससँग सहकार्य गरौं भन्छन् । कार्यकर्ता जिन्दावाद भनिरहन्छन् । प्रचण्डले एमालेसँग एकता गरौं भन्छन् । जनयुद्धको हिसाबकिताब उधारोमा महाधिवेशनलाई सुम्पिएर प्रधानमन्त्रीको लागि हाताहाती सम्झौता हुन्छ । कार्यकर्ताहरु जिन्दावाद नै भनिरहेका हुन्छन् । कार्यकर्ता रोबोटजस्तै जिन्दावादकै नारा लगाइरहेका हुन्छन् । केन्द्रीय समिति भजनमण्डलमा परिणत छ । यो यस्तो राजतन्त्र तपाईं हामी व्यहोर्दै छौं जहाँ राजा श्रीपेच लगाउँदैनन् तर, श्रीपेच लगाउनेभन्दा कम निरंकुश छैनन् । तपाईं कल्पना गर्न सक्नुहुन्छ- लोकतन्त्र/जनवादको व्यापक बजारीकरण गरिएको व्यवस्थाका हिमायती भनिनेहरुले आफ्नो तस्बिर बेचिरहेको हेर्दाहेर्दै पनि केही गर्न नसक्दा स्वर्गमा मार्क्स, लेनिन र माओहरु कति छट्पटाइरहेका होलान् !

यातायात क्षेत्रको सिन्डिकेटको विरोध गरिरहँदा यहाँ राजनीतिक सिन्डिकेट भुल्नु हात्ती छाडेर पुच्छर सुम्सुम्याउनु जस्तै हुन्छ । लोभीपापी, छट्टु, धुर्तहरुको संगठित झूण्डको यस्तो सिन्डिकेट छ, जसबाट बाहिर निस्किएर नागरिकले आफ्नो अस्तित्व नै देख्न सक्दैनन् । राजनीतिक पार्टी यस्तो थाँक्रो भएको छ, जसले कार्यकर्तारुपी कांक्रोलाई सजिलै स्थान दिन्छ । तर, सांगठनिक थाँक्रो नसमाउने काँक्राका बेर्नाहरु जमिनमा लतारिएर क्षणभंगुर अस्तित्व माटामा मिसाउन बाध्य हुन्छन् । कथित विचारको भ्रम छरेर नागरिकलाई बेवकुफ बनाइरहन सक्ने सर्वहारा वर्गको वकालत गर्ने यी नवधनाढ्यहरुको स्वामित्व रहेको राजनीतिक सिन्डिकेट रहेसम्म यो देशमा असमानहरुबीचको समान प्रतिस्पर्धाको मत्स्य न्याय मौलाइरहन्छ । योग्य र सक्षमहरुले स्थान नपाउने अयोग्यहरुको यस्तो शासन व्यवस्थामा समृद्धि र समाजवाद केवल मृगतृष्णा बनिरहन्छ ।

यदि हाम्रो देश नेपालमा कार्यकर्ताको मात्र नभएर विवेकशील नागरिकको पनि देश हुन्थ्यो भने कसैले प्रश्न गर्थ्यो होला- सम्माननीय/माननीय अध्यक्षज्यूहरु, नाकाबन्दीको घाउ ठिक नहुँदै मोदीको आतिथ्यका नाममा यो दुःखलाग्दो नौटङ्की किन भइरहेको छ ? हामीलाई यस्तो लाज लागिरहेछ कि घाँगर उठाएर मुख छोप्ने बालिकाको अवस्थामा किन पुर्‍याइरहनुभएको छ अध्यक्षज्यूहरु ?

इतिहासमा प्रतिगमन ‘आधा सच्चिएको’ घटना सायदै कसैले भुलेका छैनन् । सत्ताको स्वाद चाखिराख्न यहाँ कहिले प्रतिगमन आधा सच्चिन्छ । कहिले मोदी ‘पूरै सच्चिन्छन्’ । कसैले हिजो ज्ञानेन्द्रको पाउमा दाम राखे, कसैले आज मोदी चरणमा दाम राख्लान् । पात्रहरु निमित्त हुन् । प्रवृत्ति र संस्कार उही हो ।

मलाई विश्वास छ, सबै नेताहरुलाई, सबै कार्यकर्तालाई चित्त बुझेको छैन । तर चित्त नबुझेर पनि किन चुपचाप छन् ? मोदी जता गुड्छन् त्यही बाटो बन्द, मोदी जहाँ उड्छन् आकाश पनि बन्द । मोदीका लागि दर्शनार्थीले दुई दिनसम्म ‘भगवान’लाई पनि भेट्न नपाउने अवस्थालाई हेरेर पनि बोल्न नसक्ने चित्त नबुझेका नेताहरुको अस्तित्वलाई नागरिकले कसरी बुझ्ने ? अतिथीलाई देउता मान्नेसम्म त ठिकै हो, अतिथीकै दास बन्नु कहाँसम्म ठिक हो भनेर यहाँ कसले प्रश्न उठाउने ?

पंक्तिकारको बुझाई के हो भने पाहुनालाई पाहुनाकै रुपमा हेरौं । जस्तोसुकै भए पनि घरमा निम्ता गरेर अपमान गर्नु नेपाली संस्कार र सभ्यता होइन । तर, अतिशयोक्तिपूर्ण ढंगले चाकरी गर्ने शासकको असली चरित्र बुझ्न भने ढिला गर्नु हुँदैन । कालापानी बुझाउने महेन्द्र राष्ट्रवादी, महाकाली बुझाउन दौडधुप गर्ने ओली राष्ट्रवादी भन्दै भ्रममा बाँचिरहेका हामी नागरिक, अर्धनागरिक र अनागरिक जुन दर्जामा भए पनि ब्युँझन आवश्यक छ । आफ्ना राष्ट्रिय हितका मामिलामा अडान नछाडौं । आफ्ना खराब शासक चिनौं । राजनीतिक परिवर्तनका लागि ध्रुवीकृत हाम्रो राजनीतिक मानसिकता बदलौं । आदेशपालक कार्यकर्ता भन्दा आलोचनात्मक चेत भएको नागरिक बनौं । अन्तत्वगत्वा आलोचनात्मक चेत भएका नागरिकहरुले नै देश बनाउन सक्छन् ।

अवश्य हो, नाकाबन्दीको घाउ बल्झिन सक्छन् । तर, छिमेकी फेर्न सक्दैनौं । हामीले फेर्न सक्ने हाम्रो अवस्था हो, अवस्थिति होइन । कार्यकर्ताबाट नागरिक बनेपछि हामी आफ्नै मष्तिष्क प्रयोग गरेर निर्णय गरौंला- कार्यकर्ताको देशमा ‘नागरिक अभिनन्दन’ भन्ने कि ‘सरकारी अभिनन्दन’ भन्ने कि ‘पार्टी अभिनन्दन’ भन्ने कि ‘कार्यकर्ता अभिनन्दन’ भन्ने निर्णय गर्दै गरौंला ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob