scheduleसोमवार आश्विन ८ गते, २०७५

प्रदेश नं ३ : स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण : कसले कति पाउँछन् ?

हेटौँडा, २ चैत । प्रदेश नं ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।

प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

प्रदेश नं ३  सरकारले महानगरपालिकाका प्रमुखको तलब ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता  दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा र १० लाखको हुने जनाइएको छ । उपप्रमुखले ४० हजार र वडाध्यक्षले  २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ ।

यस्तै उपमहानगरका प्रमुखले ४० हजार २०० र उपप्रमुखले  ३५ हजार तलब पाउनेछन् भने वडाध्यक्षले  २५ हजार पाउनेछन् । त्यस्तै, नगरपालिकाका प्रमुखले  ३५ हजार, उपप्रमुखले ३१ हजार र वडाध्यक्षले  २२ हजार तलब पाउनेछन् ।

गाउँपालिकाका अध्यक्षले ३१ हजार, उपाध्यक्षले २७ हजार र वडाध्यक्षले  २० हजार पाउने विधेयकमा उल्लेख छ ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह  ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले  ४० हजार २०० पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob