scheduleआइतवार आश्विन ७ गते, २०७५

सुन तस्करमा हेयर इलेक्ट्रिक आइरनको प्रयोग, १४४ तोला सुनसहित ६ जना पक्राउ

काठमाडौ, २९ फागुन । तस्करीहरुले सुन तस्करको नयाँ माध्यम अपनाएको प्रहरीले जनाएको छ । सुन तस्करमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेसँगै उनीहरुले सुन तस्करमा प्रयोग गरेको नयाँ माध्यम सार्वजनिक भएको हो ।

तस्करहरुले ब्यूटीपार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनभित्र सुन लुकाएर तस्कर गर्ने गरेको रहस्य खुलेको हो । तस्करहरुले उक्त इलेक्ट्रिक आइनरभित्र सुन लुकाएर नेपाल र भारतमा लैजाने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ ।

सोमबार साँझ साढे ७ बजे फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल आएका होमबहादुर बुढाथोकीले ल्याएको उक्त इलेक्ट्रिक आइरनभित्रको सुनसहित प्रहरीले ६ जनालाई सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् ।

शशीकला भण्डारीको श्रीमानले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले सोमवार उक्त परिमाणको सुन बरामद गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट इलेक्ट्रिक आइरनमा लुकाएको १० तोला सुन, ५ तोलाको सुनको सिक्री र बज्राचार्य गहना प्रालिबाट १२९ तोला सुन बरामद गरेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको सीआईबीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob