scheduleआइतवार आश्विन ७ गते, २०७५

तन विदेशमा, मन नेपालमा : अमेरिकाबाट नेपाली संगीत साधना गर्दै दिपेशकिशोर

सन् ९० को दशकमा रिमेक गरिएको ‘मलाई माफ गरिदेऊ मेरा लोभी नजर’ नामक गीतबाट एकाएक चर्चाको शिखरमा पुगेका लिजेन्ड्री सिङ्गर दिपेशकिशोर भट्टराईका समग्र गीतहरु जति कर्णप्रिय छन् त्यती नै मर्मपर्शी र वास्तविक पनि छन् । वरिष्ठ संगीतकार गोपाल योञ्जनलाई आफ्नो आदर्श मान्ने गायक दिपेशकिशोर भट्टराई, आफ्नो पहिलो गीत ‘शुभकामना’ रेकर्डिङका क्रममा भएको संगीतकार गोपाल योञ्जनसँगको भेट नै आफ्नो जीवनको टर्निङ प्वाईन्ट मान्छन् ।

बिशेषगरी पप, क्लासिकल, आधुनिक तथा रिमेक गरी करिब १०० भन्दा बढी कर्णप्रिय गीतहरुमा आफ्ना स्वर दिएका तिनै प्रतिभाशाली गायक, संगीतकार तथा सर्जक दिपेशकिशोर भट्टराई संगीतकार गोपाल योञ्जनसँगको सान्निध्यता तथा उनको संगीत साधनाको प्रभाव कारण आफुमा संगीतप्रतिको भोक लागेको मात्र बताउँछन् । संयोग नै भनौं, उनैद्वारा रचित तथा संगीतबद्ध अनि स्वरसम्राट नारायण गोपालको स्वरमा गाइएको ‘मलाई माफ गरिदेऊ’ गीतले नै उनलाई सफलताको शिखर पुर्‍याई दिएको थियो ।

‘शुभकामना’, ‘होस हराए पनि’ ‘फरईभर’ ‘भोकल’ ‘मौसम’ जस्ता चर्चित एल्वमहरु नेपाली संगीत बजारमा दिई सकेका गायक दिपेशकिशोर भट्टराईले आफुलाई एक कुशल सर्जक, संगीतकार, कम्पोजर, गायक तथा प्रस्तोताका रुपमा पहिचान दिलाएका छन् । कनिकुथी चारपाँच वटा गीत गाउने अनि त्यसैलाई सधै भजाएर हिड्ने नेपाली संगीतका केहि कथित पारखीहरुका अगाडि गायक दिपेशकिशोर एक पृथक पहिचान हुन् । यति हुँदा हुँदै पनि आफ्ना आफ्ना मीठा तथा कर्णप्रिय गीतहरु बेच्न तथा त्यसको बजारिकरण गर्नका लागिसमेत उनी त्यती ध्यान दिएका जस्ता देखिदैनन् । प्रचारको वर्तमान दुनियाँमा उनी एक्ला बृहस्पतिजस्ता देखिन्छन् । भन्छन्, ‘मेरो काम संगीत साधना गर्नु हो । संगीतमा निखार ल्याउनु हो । गीत, संगीत र गायन कै माध्यमबाट नेपाल र नेपालीको श्रीवृद्धि ध्यान दिने हो । अनावश्यक प्रचारसँग मेरो कुनै लेनादेना छैन ।’


उनी अगाडि थप्छन्, ‘अनावश्यक प्रचार-प्रसार अनि सस्तो लोकप्रियताले संगीत साधना हुन सक्दैन । गायन तपस्या हो, सकल्प हो अनि अनबरत रुपमा गरिने साधना हो । कमाउन र सेलिब्रिटी बन्न मात्रै कला र साहित्य सिर्जना गरिँदैन र गर्नुहुँदैन भन्ने मेरो धारणा हो ।’

अमेरिकाबाटै नेपाली सांगीतिक यात्रा
सानै उमेरमा नेपालको आधुनिक गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिएका तिनै प्रतिभाशाली गायक दिपेशकिशोर भट्टराई हिजोआज धेरैजसो समय अमेरिकाको कोलोराडोमा बस्छन् । सांगीतिक कार्यक्रमका सिलसिलामा बर्षमा करिब आधा जस्तो समय नेपाल तथा अन्य मुलुकहरुमा घुमिरहने उनी बर्षमा करिब ६ महिना जति भने आफ्ना परिवारका अन्य सदस्यहरुका साथमा अमेरिकामा बस्छन् ।

माधव दाहाल

प्रतिभा पलायनको मार खेपिरहेको हाम्रोजस्तो मुलुकका लागि उनी जस्ता प्रशस्त सम्भावना बोकेका गायकको अमेरिका बसाई कुनै पनि हिसाबले सुखद मान्न सकिँदैन । तर उनी भन्छन्, ‘भुगोलका हिसाबले म नेपालबाट टाढा रहे पनि संगीत साधनाका हिसाबले म हरदम नेपाल र नेपालीको सान्निध्यमा नै छु । म हरेक दिन रियाज गर्छु, कम्पोज गर्छु, संगीत भर्छु, गाउँछु अनि नेपालको सांगीतिक श्रीवृद्धिमा मेरो ताकतले भ्याएसम्मको योगदान दिन हरदम प्रयत्नरत रहन्छु भने मेरो बसाई नेपाली भूमिमा नहुँदैमा त्यसले त्यति धेरै असर पार्दैन ।’

उनी थप गम्भीर हुँदै अनुभूति बाँढ्छन्, ‘यदि मेरा हरेक दिनहरु नेपाल र नेपालीका लागि समर्पण भएका हुन्छन् भने मेरो बसाई नेपाली भूमिमा नै नभए पनि त्यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण छैन ।’ कुराकानी कै क्रममा उनले थपे, ‘हिजोआज मैले समय, परिस्थिती र विविध बाध्यताका कारण लामो समय मातृभूमि मै रहेर नेपाली संगीतको सेवा गर्न नभ्याए पनि प्रवासमा रहेर पनि नेपाली संगीतको दायरा विश्व समुदायसम्म पुर्‍याउन भरभज्दुर परिश्रम गरिरहेकै छु भने म मेरो दायित्वबाट रत्तिभर दायाँबायाँ भएको छैन भन्ने मेरो विश्वास हो ।’

व्यक्ति उसका व्यक्तिगत परिस्थितिका कारण जहाँ पनि रहन सक्छ तर, जो जहाँ पुग्छ, त्यहाँ त्यहाँ उसले नेपाली भएर बाँच्न र नेपाल र नेपालीका लागि योगदान दिन सक्नुपर्नेमा उनको जोड थियो । ‘मलाई लाग्छ महत्वपूर्ण कुरा यो हो । भूगोलका हिसाबले व्यक्ति नेपालमा वा विदेशमा जहाँ पनि रहन सक्छ तर उसले राष्ट्रको लागि कति योगदान दिन सक्छ भन्ने कुरा चाँहि महत्वपूर्ण हुन जान्छ,’ उनी सुनाउँछन्, ‘समग्र संसार नै सानो बन्दै गईरहेको वर्तमान अवस्थामा भूगोलका कारणले कला र साहित्यको सिर्जनामा त्यति असर पर्दैन । बरु हामीले नेपाल बिर्सेको छौं कि छैनौं भन्ने कुरा चाँहि प्रधान कुरा हो ।’

दिपेशकिशोर भन्छन्, ‘यदि कुनै नेपालीले विदेशी भूमिमा पनि सगरमाथा र बुद्धलाई अनि हिमाल पहाड र तराईलाई छातीमा राखेर हिंड्छ भने उसको बसाई कुन देशमा छ भन्ने कुरा प्रमुख हैन । म यसमा प्रष्ट छु ।’

आफ्नै गीतको भाखामा उनी भन्छन्, ‘भेडाको ऊन जस्तो हो हो, भेडाको उन जस्तो…, कान्छीको अनुहार क्याविधि सुहाको पुर्णेको जुन जस्तो…. भेडाको उनजस्तो….। हो, यहि हो नेपाल । यसै भावनामा अडेको छ नेपाल । यसलाई हामीले हाम्रो मस्तिष्कमा सजाउनुपर्छ । यदि तपाई अमेरिकामा नै बस्नुहुन्छ भने पनि यदि तपाईको मन डोल्पामा छ भने तपाई विदेशमा हुनुहुन्न, तपाई नेपालमा नै हुनुहुन्छ ।’

असल गायकसँगै असल बाबु पनि
जसरी आधुनिक गीत संगीतको दुनियाँमा उनी दत्तचित्त देखिन्छन्, साथसाथै उनी एक असल बाबुको रुपमा आफुलाई उभ्याउन चाहन्छन् । आफ्ना दुई बाबुनानी मध्ये जेठो बाबु फरक क्षमताका भएका कै कारण उनी चाहेर पनि नेपाल धेरै समय बिताउन सक्दैनन् । अमेरिकाको सामाजिक सुरक्षा प्रणाली न्यायोचित छ, सबैलाई यसले सुरक्षित भएको आभाष दिलाउँछ र यसैका कारण म मेरा सन्ततिको जीवन सहजताको निम्ति यहाँ बस्न बाध्य छु । यदि म यो पारिवारिक परिस्थितिमा हुन्न थिएँ भने मेरो नेपाल बसाईको अवधि पक्कै पनि लामो हुने थियो । ‘हो म देशको लागि एक कलाकार हुँ र यो भन्दा पनि बढी त म एक बाबु पनि त हुँ नि’, उनी आफ्नो पारिवारिक अवस्था यसरी दर्शाउँछन् । यस्तो लाग्छ कलाकारिताको अतिरिक्त उनको साहित्यिक मन परिवारको दायित्वबाट किञ्चित विचलित भएको छैन । समयको निर्मम प्रहारसँग जुध्दै अनि आफुमा आश्रित परिवारको भरणपोषण गर्दै रहेका उनी गीत संगीतलाई पनि आफ्नै सन्तति जत्तिकै माया गर्दा रहेछन् ।

हराएका छैनन् उनी
गान्धर्व विश्वविद्यालयबाट तीन वर्षसम्म क्लासिकल संगीत सिकेका गायक दिपेशकिशोर भट्टराई, अमेरिका बसाईका क्रममा पनि आफु नेपाली गीतसंगीतको दुनियाँबाट नहराएको कुरा बताउँछन् । उनी भन्छन्, ‘मैले अमेरिका आए पछि पनि लगातार संगीत साधना र गायनलाई अगाडि बढाई रहेको छु । यहाँ आएपछि पनि करिब २०/२५ वटा गीतहरु रेकर्डिङ गराई सकेको छु । यहि अनुपातमा गीतको दृश्य पनि छायाङ्कन गराई राखेको छु । जति सजिलोसँग नेपालमा मैले गीत रेकर्ड गराउन सक्थे त्यो क्रम यहाँ आए पनि केहि मात्रामा कमजस्तो देखिए पनि समग्रमा मेरो साधना र यसको निरन्तरतामा कुनै क्रमभङ्गता छैन ।’ उनी थप्छन् ‘ यो क्रम चलिरहेको छ र भविष्यमा पनि यो क्रम जारी नै रहने छ ।’ दिपेशकिशोरले हालै मात्र पनि यो माया नामक गीत बजारमा ल्याएका रहेछन् जसको रिलिज यहि महिनाको २३ गते गर्दै रहेछन् उनी ।

विविधतासहितको संगीत
विशेष गरेर आधुनिक, पप क्लासिकल गीतमा आफ्ना खारिएका आवाज दिएका गायक दिपेशकिशोर भट्टराई गीतमा विविधता दिन रुचाउँछन् । शास्त्रीय गायनको अध्ययन र पारख कै कारण हुन सक्छ उनी जुन गीत बजारमा ल्याउँछन् त्यसका लागि हप्तौंसम्म रियाजका लागि तयार रहन्छन् ।

विदेशी बसाई तथा रेकर्डिङका समस्याहरु
विदेशी भूमिमा बसेर संगीत साधना गर्दा समस्यैसमस्या छन् । उनी भन्छन्, ‘प्रविधिले केहि सहजता त ल्याएको छ तर विदेशी भूमिमा बसेर गायनलाई अगाडि बढाउन अझै पनि धेरै समस्याहरु विद्यमान छन् । गीतलाई एरेन्ज गरेर नेपालबाट मगाउने, भोकल रेकर्डिङ अमेरिकामा गर्ने अनि मिक्सिङका लागि फेरि नेपाल पठाउने जस्ता सबै कुराहरु प्रविधि कै आधारमा हुने हुँदा भने जस्तो आउटपुट दिन सकिंदैन । यो कुरा सबैभन्दा बढी मलाई खड्केको छ ।’

विदेश बसाई कै कारण बोलाईएका जति सबै स्टेज कार्यक्रमहरुमा भनेजति सहभागिता जनाउन नसकिने कुरा पनि उनी बताउँछन् । ‘श्रोताहरुले हामीहरु कतै आफ्नो संगीत साधनाबाट टाढा त भएका छैनौं भनेर शंका गर्नुहुन्छ जुन कुराले लामो समयसम्म पिरोल्छ,’ उनी बताउँछन् ।

नेपाली गीत-संगीतको वर्तमान अवस्था
‘नेपाली कला र संगीतको क्षेत्रमा गुणस्तरी गीत कम र गायकगायिकाको संख्या बढी भएको हो कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘जबसम्म हामी हाम्रो कला र संस्कृतिलाई संगीतका माध्यमबाट प्रवर्द्धन गर्नेतर्फ लाग्दैनौं तबसम्म त्यसले हामीलाई सहि बाटो तिर लैजाँदैन ।’ संगीतको सिर्जना कालजयी हुनुपर्छ, क्षणिक हुनुहुन्न भने उनको गहिरो बुझाई छ ।

उनी अझै थप्छन्, ‘संगीत आफ्नो लागि मात्र हैन मुलुकको लागि सिर्जना गर्ने खालको हुनुपर्छ । संगीत व्यापारसँग मात्र दाँजिनु हुन्न यसले कला, सभ्यता र संस्कृतिलाई पनि जगेर्ना गर्न सक्नुपर्छ ।’ उनी प्रश्न गर्छन्, ‘हाम्रो आफ्नै पहिचान छ, आफ्नै सभ्यता छ र आफ्नै स्वाद छ । के यसलाई सम्बर्द्धन गर्ने दायित्व हाम्रो हैन र ?’

उनका विचारमा गीत संगीत क्षेत्रमा लाग्ने कलाकारले यसबारेमा अझ संयमित हुनुपर्छ र उनीहरु अझ संस्कारयुक्त हुन जरुरी छ । उनका विचारमा हर कुनै प्रकारको नेपाली गीत तथा संगीत नेपाली संस्कार र सभ्यतालाई प्रवर्द्धन गर्ने खालको हुनुपर्छ । उनी थप्छन्, ‘हो म गीत गाउँछु तर हाम्रो पहिचान नै मेट्ने खालको सिर्जना गर्ने अधिकार भने हामीलाई छैन । यसबारे हामी समय मै सचेत हुनु जरुरी छ ।’

संगीतमा लागेर बाँच्न सकिने अवस्था अझै आएको छैन
गायक दिपेशकिशोर भट्टराई गायनमा लागेर अझै पनि सन्तुष्ट हुने अवस्था नआएको कुरा बताउँछन् । उनी भन्छन्, ‘एउटा गायकले लामो परिश्रम गरेर गीत तयार पार्छ, तर प्रतिलिपि अधिकारको प्रत्याभूति राम्रोसँग नहुँदा उसले आफ्ना गीतको रोयल्टी नियमसंगत ढँगले पाउँदैन । अनि कसरी संगीत साधनाबाट नै गुजारा चल्छ भनेर विश्वास गर्ने ?’

र अन्तमा,
मधुर तथा कर्णप्रिय स्वरका धनी गायक दिपेशकिशोर भट्टराईबाट आगामी दिनहरुमा नेपाली कला र संस्कृतिको सम्बद्र्धनमा टेवा पुग्ने खालका अझ धेरै गीतहरुको सिर्जना हुन सकोस् । नेपाली संगीत आकाशमा उनले अझ धेरै कर्णप्रिय तथा कालजयी गीतहरु दिन सकून् । आशा गरौं, निकट भविष्यमा नै उनद्वारा सार्वजनिक गर्न लागेको ‘यो मायाले’ दर्शकहरुको मायालाई अझ न्याय गर्न सकोस् । शुभकामना !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob