scheduleआइतवार आश्विन ७ गते, २०७५

रिजल्ट निकालेपछि बबण्डर, इज्जत जोगाउन लखनऊ

अनुभूति/संस्मरण

निजामती सेवामा रहँदाका अनुभव र अनुभूति पाठकको जानकारीमा पनि रहोस् भन्ने चाहना राखी हाम्रासामु बाँड्न खेमराज रेग्मीलाई आग्रह गर्‍यौं । रेग्मीले निजामती सेवाका विभिन्न ओहदामा रही गृहसचिवका रुपमा समेत काम गर्नुभएको अनुभव सँगाल्नु भएको छ । हाम्रो आग्रहलाई स्वीकार गरी पूर्व गृहसचिव खेमराज रेग्मीले ठमनाथ घिमिरेसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

शिक्षा अधिकारीका रुपमा पहिलो पोस्टिङ कपिलवस्तु जिल्ला शिक्षा कार्यालयमा भयो । यो २०३८ सालको कुरा हो । त्यसबेला जिल्लामा एउटा शिक्षक छनौट समिति भन्ने हुन्थ्यो । तीन सदस्यीय त्यो समितिमा संयोजकका रुपमा प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी र शिक्षकहरुमध्येबाट एक जना रहने व्यवस्था थियो । मैले त्यहाँ जिशिअका रुपमा काम गर्नथालेपछि शिक्षकहरुलाई स्थायी गर्नुपर्ने भयो । यसका लागि हामीले विज्ञापन निकाल्यौं । अब परीक्षा लिनुपर्ने भयो । त्यहाँ त जिल्लाका प्रभावशाली नेताहरुलाई कोटा बितरण गर्ने चलन रहेछ । त्यतिमात्र होइन, सोही कोटालाई आधार मानी परीक्षा लिएजस्तो गरेर तिनका मानिसहरुलाई पास गर्नुपर्ने थिति बाँधिएको रहेछ । योग्य भन्दा पनि कोटाका मानिसहरु पार्ने गरिएको रहेछ ।

पूर्वगृहसचिव खेमराज रेग्मी

कपिलवस्तुमा त्यसबेला तीनवटा समूह रहेछन् । एउटा समूह भगवान् गुप्ताको थियो । उनका छोरा अहिले पनि माननीय छन् । गुप्ताजी २/३ पटक माननीय भए । दोस्रो समूह मधेसी समुदायका साहहरुको थियो । त्यो समूहका कोही मानिस २०१५ सालमा सहायक मन्त्रीसम्म भएका थिए । पशुपतिप्रताप साहहरुको सन्तान हुन्– यिनीहरु । तेस्रो समूह पहाडी मूलका रजौरियाहरुको । यी तिनै समूहलाई कोटा छुट्याउनुपर्ने रहेछ । सत्तामा भएको समूहलाई अलिक धेरै, प्रतिष्पर्धीलाई त्यसभन्दा कम र अर्को समूहलाई अझ कम कोटा दिएर मुखबुझो लाउने गरिएको रहेछ । यो सबै राजनीति र शक्ति सन्तुलन मिलाउने प्रयत्न स्वरुप गरिएको हुनुपर्छ । त्यसबेलासम्म परीक्षा चाहिँ देखावटी मात्र हुँदो रहेछ ।

हामी केही मानिस राजनीतिक रुपले चिनिएका थियौं । त्यसबेला पाल्पामा हरि नेपाल, चन्द्र केसी, चन्द्र भण्डारी, नारायण कोइराला, म र अरु थुप्रै थियौं । हामीहरु ०३६ सालमा त राजनीतिको अग्रपङ्तिमै देखिएका थियौं । शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय निरीक्षकका रुपमा कार्यरत रहेको भए पनि राजनीतिक रुपमा हामी अगाडि देखिएका थियौं ।

म लोक सेवा आयोगको परीक्षा पास गरेर गएको थिएँ । लोकसेवा आयोग नहुँदोहो त हामीजस्तो केही मानि सरकारी सेवामा हुने थिएनौं । मैले लोकसेवा आयोगको परीक्षाप्रणाली र निष्पक्षतालाई नजिकबाट नियालेको हुँदा प्रभावत थिएँ । मैले लोकसेवा आयोगको ढाँचामा परीक्षा सञ्चालन गर्ने मनसुवा राखेर त्यो छनौट समितिबाट पास गराएँ । अब प्रश्न बनाउन कसलाई लगाउने भन्ने भयो । त्यसमा पनि तिनै राजनीतिक समूहका शिक्षकहरुमात्र छन् ! मैले प्रजातन्त्रप्रति समर्पित शिक्षकहरुलाई पनि सामेल गराउने सोच बनाएँ । यिनीहरु अनुशासनमा बस्छन् र मलाई पनि सहयोग लिन सजिलो हुन्छ भन्ने बुझाई मेरो थियो । यसै अनुसार शिक्षक छनौट गरेर प्रश्नपत्र बनाउन लगाएँ । यहाँ पनि लोकसेवा आयोगकै ढाँचा पछ्याएँ । प्रश्नपत्र २/३ प्रति बनाउन लगाएँ । त्यसमध्येबाट छानेर दिने ध्येयले त्यसो गरिएको थियो । प्रश्नपत्र बनाउन लगाउने, तिनलाई त्यही कार्यालयभित्रै खाना खुवाएर राख्ने, बाहिर निस्कनै नदिने परिस्थिति सिर्जना गरेँ । १२ बजेदेखि परीक्षा हुँदैछ भनेपछि लिथोबाट प्रश्नपत्र तयार गरेर तिनीहरुलाई सँगै परीक्षाहलमा जाने प्रबन्ध मिलाएँ । यसो गर्दा कसैले लिक गर्नसक्ने सम्भावना भएन ।

अब परीक्षा भयो । परीक्षार्थीबाट कपि लिँदा सम्पूर्ण कपि उठाउनू र मिसमास हुन दिनू भनेँ । क्रम मिलाउने काम नगर्नू भनेँ । यसो गर्दा कसैले रोलनम्बर याद गरेको रहेछ भने पनि छलछाम गर्न नपाउने भयो । सबै कपी ल्याइसकेपछि तिनै शिक्षक, कर्मचारीलाई कोडिङ गर्न लगाएँ ।

त्यसपछि कपी जाँच्नुपर्ने भयो । ती मानिसलाई बिहान ८ बजेदेखि कपि जाँच गर्न आउनू भनेँ । उनीहरुलाई पहिलेकै फर्मूला अन्तर्गत विहान ८ बजे आउने, कार्यालयमै खाना खाने र बेलुका ५ बजे घर जानू भनेँ । यिनीहरु कसैले परीक्षार्थीको हस्ताक्षर देखेर थाहा पाए भने हो नभए कसको कपी कुन हो भन्ने थाहा हुने भएन । यी सबै प्रक्रिया पूरा गरेर रिजल्ट निकालेँ । रिजल्ट निकालेपछि बबण्डर मच्चियो । इन्टरभ्यूमा कसैलाई नम्बर थपेर पास फेल गराउन सक्ने अवस्था भएन । किनभने लोकसेवा आयोगकै जस्तो २० प्रतिशत थप संख्यामा मात्र रिजल्ट निकालिएको थियो । मलाई ज्यान जोगाउनसमेत मुस्किल पर्ने अवस्था आयो किनभने ती समूहका धेरै मानिस फेल भए । त्यसबेला लमजुङतिरका घिमिरे प्रमुख जिल्ला अधिकारी थिए, मलाई तिनले राम्रै सहयोग गरे ।

त्यसबेला सत्तामा साह र गुप्ता थिए । धेरै मानिस रजौरिया र प्रतिबन्धित कांग्रेस समूहका पास भएका रहेछन् । पढ्ने जति पास भए नपढ्ने फेल भए । साह र गुप्ता समूहका मानिसले रिजल्ट लागू हुन नदिन ठूलो प्रयत्न गरे । म टसमस भइनँ, केही गर्दा पनि मान्दै मानिनँ । त्यसबेला पनि भारत गएर प्रमाणपत्र किनेर ल्याउने चलन थियो । त्यस्तै प्रमाणपत्रका आधारमा हरुवाचरुवा राखिएका मानिसहरुलाई कोटामा पास गराउने चलन तोडिएको थियो । कोटामार्फत पास भएका मानिसमध्ये कति त स्कूलै जाँदारहेनछन्, तर तलब चाहिँ खाने । कोही हेडमास्टरले सहायक मास्टर राखेको छ, कोहीले के गरेको छ– यस्तै हुँदो रहेछ । त्यसबेला त्रैमासिक रुपमा निकासा हुने गर्दथ्यो ।

गुप्ता र साह पक्षका मानिस मलाई सरुवा गर्न दौडधूप गर्न थाले । यति गरेभन्ने ठेगान नै भएन । उनीहरुले केन्द्रमा धेरै ठूलो प्रेसर सिर्जना गरिसकेका रहेछन् । वास्तवमा मलाई नारायणदत्त जोशीले कपिलवस्तु लगेका रहेछन् । जोशी डोटीका हुन् । त्यसबेला उनी शिक्षा मन्त्री थिए । त्यसबेलाको पञ्चायती राजनीतिमा उनको राम्रै पकड थियो । त्यही ताका पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा क्षेत्रीय सम्मेलन हुने भयो । त्यहाँ मन्त्री पनि गए । तत्कालीन शिक्षा (अतिरिक्त/सहसचिव ?) सचिव नारायण श्रेष्ठ हुन् क्यार ! उनी पनि गए ।

उनी चित्तरञ्जन नेपालीका नामले साहित्य क्षेत्रमा परिचित छन् । सम्मेलनमा मेरो बोल्ने पालो आयो । मैले बोल्ने क्रममा मुलुकको हित चिताएर यस्तो परम्परा रहेछ त्यो तोड्ने काम गरेँ । कपिलवस्तुमा भएको स्थायी शिक्षकको परीक्षामा यस्तो ढङ्गले रिजल्ट निकालेँ । मलाई यस्तो दबाब आयो । अहिले मलाई सुरक्षा जोखिम छ । अहिले पास भएका शिक्षकहरुलाई पोष्टिङ हुन नदिन हाजिर हुन नदिने लगायतका हरेक तिगडम गरिरहेका छन् । मैले नाम नभनीकन कपिलवस्तुका राजनीतिक रुपले सम्भ्रान्त परिवारका मानिसले यसरी यसरी काम गर्न दिइरहेका छैनन् भनेर बोलेँ । मैले बेठिक गरेँ भने मन्त्रीज्यू र सचिवज्यूहरुले बेठिक भयो भनेर भन्दिनुपर्‍यो होइन भने मैले कुन हिसाबले काम गर्नुपर्ने हो त्यो भन्दिनुपर्यो । साथै मेरो शारीरिक सुरक्षाको समस्या पनि देखिएकाले आवश्यक व्यवस्था पनि गरिदिनु पर्‍यो भनेँ । मन्त्री, सचिव सबैले ट्वाँ परेर सुने ।

मन्त्रीको बोल्ने पालो आयो । मन्त्रीले तपाइँले एकदम ठीक गर्नुभएको छ । तपाइँको सरुवा आदि इत्यादि केही हुँदैन । यही हिसाबले काम गर्नूस । केही परे मलाई खबर गर्नू, म सिडियोलाई भनिदिन्छु भन्दै आड भरोसा दिए । पञ्चायती राजनीतिमा पोख्त मानिस उनले राजनीतिक रुपमा सम्भ्रान्त परिवार भन्ने बित्तिकै सबै बुझिगए । उनले मेरो कामको समर्थन गरिदिए । म आनन्द मान्दै कार्यक्षेत्र फर्किएँ । हरेक दिन आजै सरुवा हुन्छ, भोलि नै सरुवा हुन्छ भन्या छ बडो दिक्क भइरहेका बेला यस्तो भएको थियो । अभिषेकप्रताप साह (?) हो जस्तो लाग्छ क्याबिनेटमा प्रतिनिधित्व थियो । सायद उनी कृषि राज्यमन्त्री थिए । तर क्याबिनेटमा उनको केही चल्दो रहेनछ । स्थायी शिक्षकहरुलाई पोष्टिङ गर्दै गएँ । मेरो हक्की स्वभाव भएकाले हाजिर गराउनूस् नभए तपाइँको स्कूललाई जाने अनुदान रोकिन्छ भनिदिएँ ।

त्यो बेलामा एउटा सुखद् अनुभूति पनि भएको छ । तिनै पढेलेखेका मानिसमध्ये केही मधेसी समुदायका मानिसहरु पास भएका थिए । एक जना बूढा मानिस लट्ठी टेक्दै आएर टेबुलको अगाडि पट्टिको भूइँमा बसे । मैले सोफामा बस्नुस् न भनेँ । उनले मानेनन् । ती बूढा मानिस त्यहाँ बसेर मलाई ट्वाल्ल परेर हेरेको हेर्यै गर्छन् ! होइन तपाइँको के काम थियो भन्नोस्नँ भन्यो– होइन मेरो केही काम छैन भन्छन् । केही कामले त होला नि यहाँ आउनुभएको भन्यो– मेरो छोरो तपाइँहरुले लिनुभएको परीक्षामा पास भयो । मेरो भनिदिने मानिस कोही पनि थिएन । कसैले हाम्रो कुरा सुन्दैनथ्यो । तपाइँका कारणले गर्दा कसरी भयो ? न त्यो कुनै राजनीतिक समूहमा नै पर्थ्यो भने । ती बूढा मानिस अलिक सुझबुझ भएकै रहेछन् जस्तो लाग्यो । तपाइँकै कारण मेरो छोरा पास भयो, पोष्टिङ पनि भयो– तपाइँलाई भगवान्ले कल्याण गरुन् भने । तपाइँको निधार पनि ठूलो रहेछ, भाग्यमानी हुनुहोस् भनेर आशीर्वाद दिन आएको भने । एक किसिमको पीडामा रहेका मानिसले यी सबै कुरा अगाडि आएर बोलिदिँदा मैले पनि पुरस्कार नै पाएको अनुभूति गरेँ ।

साह परिवारका मानिस रहेकै स्कूलमा ती बूढाका छोरालाई पोष्टिङ गर्नुपर्ने थियो । केही गर्दा पनि मानिरहेका थिएनन् । मेरो स्कूलमा काम गरिरहेको अस्थायी मानिसलाई हटाएर तपाईँले पठाउनुभएको स्थायी शिक्षकलाई कुनै पनि हालतमा हाजिर गराउँदिन भने । ती मानिस जिल्ला शिक्षा समितिको सदस्य पनि थिए । यो सबै राजनीतिक प्रतिनिधित्व थियो । उनले हिन्दीमा भने– अरे हम उस टिचरको किसि भी हालतमा स्कूलमे हाजिर नहीँ कराएंगे, नहीँ कराएंगे, नहीँ कराएंगे । मैले उनलाई भने– सुन्नुस्, म हिन्दीमा बोल्न जान्दिनँ । म नेपालीमा बोल्छु । तपाइँहरु राजनीतिक रुपले सबल हुनुहुन्छ, त्यसमा मेरो भनाइ केही छैन । तर एउटा कुरा के छ भने तपाइँले त्यो टिचरलाई कुनै पनि हालतमा हाजिर गराउनुपर्छ । त्यो टिचरलाई त्यस स्कूलमा हाजिर गराउन सकिनँ भने अरु २०० टिचरलाई पनि हाजिर गराउन सक्दिनँ । किनभने त्यहाँ पनि अस्थायी शिक्षक काम गरिरहेका छन् । तपाइँले कुनै पनि हालतमा हाजिर गराउनै पर्छ नभए त्यो टिचरले यो सोफामा बसेर तपाइँको स्कूललाई निकाशा हुने रकमबाट तलब खान्छ ।

ऊ मन्त्रीको मानिस भएकाले केही दम्भ हुने नै भयो । ‘हम दिखा देंगे’ या वा भन्दै के के भन्यो । उसले केही गर्दा पनि नमानेकाले मैले निकासा हुन दिइँन । रकम रोकियो । मैले शिक्षा कार्यालयबाटै ती शिक्षकलाई तलब खुवाइरहेको थिएँ । निकै ठूलो खैलाबैला हुन थाल्यो । उनीहरु आफैं अब मिल्नु पर्‍यो भन्न थाले । ती मानिस त्यो स्कूलको सञ्चालक समितिको पनि अध्यक्ष रहेछन् । बिस्तारै मिल्नुपर्‍यो भन्नेहरु धेरै भए । अब कसरी मिलाउने ? हामी दुवै समूहले एउटा सम्झौता गर्‍यौं । तपाइँ सञ्चालक समितिका अध्यक्ष एक–दुई महिनाका लागि लखनऊतिर जानूहोस् । त्यो अवधिका लागि कोही एकजना निमित्त अध्यक्ष बन्नेछन् र स्थायी शिक्षकलाई त्यहाँका हेडमास्टरले हाजिर गराइदिनेछन् । तिनले एक महिनाजति त्यहाँ काम गरेपछि म सरुवा गरेर अन्त कतै लगिदिन्छु भन्ने सम्झौता भयो । त्यसपछि तपाइँ आउनूहोला । ए म नभएका बेलामा यसो गरेछन् भन्नुहोला । यसो गर्दा तपाइँको पनि इज्जत रहने मेरो पनि प्रशासनिक उद्देश्य पूरा हुने । यसो गरेर हाजिर गराएरै छाडेँ ।

म त्यही हुँदा हुँदै शिक्षा मन्त्री नारायणदत्त जोशी विदेश जानुपर्ने भएछ । मन्त्रालयमा निमित्त भएर तिनै कृषि राज्यमन्त्री पुगे । उनी क्याबिनेटमा पुग्नासाथ ल त्यो जिशिअलाई सरुवा गर्नुपर्‍यो भन्दै फाइल ल्याउनुहोस् भनेछन् । त्यसपछि मलाई लमजुङ सरुवा गर्दिहाले ।

प्रस्तुतिः ठमनाथ घिमिरे

यो पनि पढ्नुहोस्-
हामीले परीक्षा दिन्नम् भन्दा पनि जबर्जस्ती गर्ने ?
प्रहरी जवानले भने- सर ! हजूर त्यहाँ नगइस्योस् । हजूरलाई मार्छन्

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob