scheduleआइतवार आश्विन ७ गते, २०७५

प्रचण्डले किन चिनेनन् लेखनाथलाई ?

देवराज गुरुङ

‘फ्रेन्च कट’ दारी । एक तिहाईजति फूलेको पातलो कपाल । सेतो चस्मा । रङ खुइलिएको कालो ज्याकेट । उस्तै पुरानो देखिने खैरो पाइन्ट । हातमा पुरानो हेल्मेट । क्याम्पस पढ्ने विद्यार्थीझैँ कालो झोला बोकेर गोल्ड स्टार जुत्तामा हतार–हतार हिँड्दै गरेको अवस्थामा देखिए एक युवा नेता, अर्थात् लेखनाथ न्यौपाने ।

नजिकै देखिएका उनलाई बोलाउन पनि सकिनँ । बोलाउँदा आफ्नो परिचय दिनुपर्थ्यो । उनीसँग दोहोरो चिनजान थिएन । राजा चिनाई थियो । मैले उनलाई चिन्थेँ, उनले मलाई चिन्दैनथे । तर, त्यो भेट पहिलो भने थिएन ।

२०६३ को असारमा अखिल (क्रान्तिकारी) गोरखा जिल्ला कमिटीको सम्मेलनमा यिनै तत्कालिन केन्द्रीय अध्यक्ष लेखनाथ नै प्रमुख अतिथी थिए । उनको बारेमा धेरै नै सुनेको भए पनि नजिकबाट देखेको भने त्यही नै पहिलोचोटी थियो । बीबीसीका अन्तर्वार्तामा उनलाई बेलाबेलामा सुन्न पाइन्थ्यो ।

युद्धविरामपछि २०६३ मा खुल्ला मञ्चमा माओवादीका शीर्ष नेता प्रचण्ड, वैद्य, बाबुरामलगायत सार्वजनिक हुने कार्यक्रम थियो । तर, शीर्ष नेताहरु अनुपस्थित भए पनि उनैको भाषणले सबै कार्यकर्तालाई तृप्त बनाएको थियो । उनको भाषण सुन्ने अवसर भने मैले गुमाएँ । जुलुसमै हराएर बसन्तपुरतिर पुगेछु । फर्किँदा अन्य सहभागीले ‘लेखनाथले खतरा भाषण गरे’ भनेर सुनाएका थिए ।

गोरखाको सो सम्मेलनको उद्घाटन समारोहमा म सबैभन्दा अघि बसेर एकोहोरो उनैलाई हेर्दै सुनिरहेको थिएँ । ‘फ्रेन्च कट’ दारीमा नेता न्यौपाने असाधारणजस्ता देखिन्थे । उनले के बोल्लान् ? कूतुहलताले सतायो । उनी बोल्न थालेपछि सहभागीहरु मौन धारण गरेजस्तै ‘साइलेन्ट’ भए ।

बन्द सत्रमा उनले मलाई नै उठाएर सोधे, ‘तपाईँ जिल्ला अध्यक्ष हुनुभयो भने संगठन कसरी चलाउनुहुन्छ ?’ प्रश्नको उत्तर मसँग थिएन । प्रश्न आउला र उत्तर दिनुपर्ला भनेर कुनै तयारी गरेको पनि थिइनँ । गृहकार्य नगरेको ठग विद्यार्थीझैँ निहुरिँदै भूइँतिर हेरेर बस्नु बाहेकको अन्य विकल्प मसँग थिएन । त्यो प्रश्नपछि मात्रै उत्तर खोज्दै म राजनीतिमा सक्रिय भएको थिएँ ।

उनको भाषण, नेतृत्व छनौटको तरिका र बहस सुनेपछि म वास्तवमै उनीबाट प्रभावित भएँ र आजका मितिसम्म पनि प्रभावित नै छु । गोरखाको नेता भनेर गर्व गरेँ । किनकि, म आफैँ पनि गोर्खाली थिएँ । त्यतिबेलैको मेरो निष्कर्ष थियो, बाबुराम भट्टराईपछि गोरखाको क्षमतावान् र अध्ययनशील नेता लेखनाथ नै हुन् ।

देवराज गुरुङ

म मात्रै होइन, लेखनाथबाट अरु लाखौँ युवाहरु पनि प्रभावित छन् । समकालीन नेपाली राजनीतिका युवा नेतामध्ये लेखनाथ सबैभन्दा क्षमतावान् नेता हुन् । उनी अहिले पार्टीको जुनसुकै हैसियतमा होउन् तर ठोकुवा गरेर भन्न मिल्छ, उनीजत्तिकै युवा नेता नेपालमा अरु कोही पनि छैनन् । त्यसैले पनि नेता न्यौपानेको युवा पुस्ताले खुलेर प्रशंसा गर्दछन् ।

लेखनाथ र गगन थापाले एउटै मञ्च ‘फेस’ गर्दा लेखनाथ हावी हुन्थे । क्याम्पसका कैयौँ कार्यक्रममा गगनले लेखनाथकै तर्कमा सहमति जनाउँथे । तसर्थ, मजस्तै लाखौँ युवाहरुको एउटै प्रश्न छ, ‘लेखनाथ न्यौपाने किन पछि परे ?’ कांग्रेसभित्र गगन र विश्वप्रकास चम्किँदा कम्युनिष्ट नेता लेखनाथहरुलाई किन अँधेरोमा पारिएको हो ? प्रश्न भावनात्मक मात्रै होइन, उत्तिकै सैद्धान्तिक छ । के कम्युनिष्ट पार्टी सिमित नेताहरुसँगै बुढो हुँदै जाने र तिनको जीवनसँगै सिद्धिने हो ?

माओवादीले सुरु गरेको जनयुद्धमा होस् वा शान्ति प्रक्रियामा पनि उनको क्रियाशीलता, अध्ययनशीलता, लेखन, नेतृत्व र वाक क्षमता अरुमा देखिँदैन । जनयुद्धको समयमा र पछि पनि उनले लेखेका कृतिहरु अध्ययन गर्दा र सञ्चार माध्यममा उनका बहस तथा जनतामा उनको अभिव्यक्ति सुन्दा अधिकांसले भन्ने गर्छन्– नेता होस् त लेखनाथजस्तो !

तर, त्याग र क्षमताका आधारमा माओवादी पार्टीले उनलाई भूमिका दिएन । पार्टीमा उनीभन्दा धेरै जुनियर पनि नेता भए, उनलाई बनाइएन । भलै उनी अहिले नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य छन् । तर, उनीजत्तिको क्षमतावान् युवा नेतालाई यतिका पटक चुनाव हुँदा पनि कहीँ कतै उम्मेदवार बनाइएन । यही कारण पनि माओवादी नेतृत्व र मुख्यतः प्रचण्डमाथि धेरै नै प्रश्न र शंका थपिने गरेको छ ।

माओवादीको उच्च स्रोत बताउँछ- लेखनाथले प्रचण्ड र अरु नेताको पनि खुलेरै विरोध र भण्डाफोर गरेकाले उनी पछि परेका हुन् । उनले जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा नेतृत्वको जीवनशैलीको चर्को विरोध गरेका थिए । दिल्लीमा प्रचण्ड, बाबुरामलाई भेटेपछि पार्टीको आन्तरिक बैठकमा नेताहरुको उछितो काढेका रहेछन् ।

‘यहाँ साथीहरु सहिद र बेपत्ता हुन प्रतिष्पर्धा छ । दिनहुँ दर्जनौँ सहिद, बेपत्ता, घाइते र जेलनेल भएका छन् तर, उता नेताहरु भने मिठो खान र राम्रो लाउन मात्रै प्रतिष्पर्धा गरेको देखेँ । नेताको जीवनशैली देख्दा म निराश छु, यो नेतृत्वले क्रान्तिलाई पार लगाउला भन्नेमा विश्वास लाग्न छोड्यो,’ लेखनाथले त्यतिबेलै पार्टीको बैठकमा भनेका रहेछन् । त्यसपछि उनलाई नेतृत्व विरुद्ध लागेको आरोपमा प्रचण्ड र उनको वरिपरी घुमेर ठूलो भाग खान खोज्ने नेताहरुले भौतिक रुपमै सिध्याउनसमेत खोजेको उनका समकक्षी नेताहरु नै बताउँछन् ।

न्यौपाने दुई कार्यकालसम्म अखिल (क्रान्तिकारी) को अध्यक्ष भए । उनकै कार्यकालमा लाखौँ विद्यार्थी माओवादी भएका थिए । संख्यात्मक दृष्टिले माओवादी निकट विद्यार्थी संगठन सबैभन्दा शक्तिशाली र ‘सडक बाघ’का रुपमा स्थापित भएको थियो । उनले शिक्षा क्षेत्रमा यति ठूलो बहस चलाइदिए कि शिक्षाविद्, शैक्षिक व्यापारी र सबै शैक्षिक सरोकारवालाहरु हल्लिएका थिए । ‘जनताका छोराछोरी, सबै अखिल (क्रान्तिकारी)’ भन्ने आम रुपमा स्थापित बनेको थियो । उनले शब्द, तर्क र योजनाबाटै आफू र आफ्नो संगठनलाई ‘एक नम्बर’ बनाएको माओवादी नेताहरु स्वीकार्दछन् । तर, उनले आफू शक्तिमा हुँदा पनि पदको कहिल्यै दुरुपयोग गरेनन् ।

माओवादी नेतृत्वले यो कुरा नबुझेर हो वा नचाहेर उनलाई महत्वपूर्ण भूमिका दिएन । नारायणकाजी समूहसँग एकता गर्दा उनको विद्यार्थी संगठनका अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्य बनाईयो तर, लेखनाथलाई बनाइएन । उनलाई केन्द्रीय सदस्य बनाउन त्यतिबेलै विद्यार्थीको ठूलै समूह ‘डेलिकेसन’ जाँदा प्रचण्डले जवाफ दिएछन्, ‘लेखनाथजी भनेकै मान्नुहुन्न, कसरी केन्द्रीय समितिमा ल्याउने ?’
नेता न्यौपानेले गोरखाको पालुङटार प्लेनमा पनि वैद्य समूहबाट टोली नेता भएर प्रचण्डको चर्को आलोचना गरेका थिए । त्यसपछि पनि उनले निरन्तर गलत पात्र र प्रवृत्तिको भाषण र लेखबाट भण्डाफोर गर्दै आएका छन् । माओवादीमा वैचारिक बहस चलाउने एक मात्रै नेताका रुपमा उनी चिनिन्छन् । यसो भनौँ, जनयुद्धका योद्धाहरु थाकेपनि उनी भने अझै थाकेका छैनन् । स्नाकोत्तरसम्मको औपचारिक अध्ययन गरेका उनले दर्जनजति किताब लेखिसकेका छन् । पत्रिकाहरुमा लेख लेखिरहन्छन्- कार्यक्रममा पुगेर नेतालाई खबरदारी र कार्यकर्तालाई वैचारिक खुराकसहित ऊर्जा दिन्छन् । उनलाई बुझेकाले भन्छन्, ‘लेखनाथसँग नेतृत्वको चाप्लुसी गर्ने आदत छैन ।’

प्रचण्ड ‘एस म्यान’ चाहन्छन् तर, लेखनाथको स्वभाव त्यस्तो छैन । औपचारिक कार्यक्रममा बाहेक लेखनाथ शीर्ष नेतासँग भेट्दैनन् । त्यसैकारण प्रचण्ड लेखनाथप्रति पूर्वाग्रही रहेछन् भन्ने राष्ट्रिय सभाको चुनावसम्म आईपुग्दा पुष्टि हुन्छ ।

गत चुनावमा जनार्दन शर्माका भाइ अनिललाई काठमाडौँ क्षेत्र नं १ को उम्मेदवार बनाइयो । काठमाडौँकै जिल्ला इन्चार्ज लेखनाथलाई किन उम्मेदवार बनाइएन ? न्यौपाने अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हुँदा शर्मा सदस्य मात्रै थिए । शर्माको पक्षमा जनार्दन लडे तर, लेखनाथको कोही भएन । सायद लेखनाथलाई उम्मेदवार बनाएको भए काठमाडौँमा माओवादीको ‘क्लिन स्वीप’ हुने थिएन । प्रतिनिधि सभामा उम्मेदवार नबनाउँदा लाग्थ्यो, उनलाई राष्ट्रिय सभामा लगिएला ! तर, यो अनुमान पनि पार्टीप्रतिको कमजोर बुझाई मात्रै रहेछ ।

लेखनाथको युवावर्गमा अत्यधिक ‘चाम’ भएपनि उनले कहिल्यै गुटबन्दी गर्नतिर लागेनन् । यसो भनौँ, संसदीय राजनीति गर्न उनले जानेनन् । संसदीय राजनीति ‘पावर गेन गेम’ हो भन्ने उनले बुझेका नहोलान् ? किन बुझ्थेनन्, चाहेनन् होला । तर, उनलाई सुझाव छ–उनले आँट गरुन्, उनको साथमा लाखौँ युवाहरु छन् ।

प्रचण्ड आफू ३४ वर्षकै उमेरमा पार्टीको अध्यक्ष भएका थिए । तर, नेतृत्व विकासमा उनको ध्यान किन गएन ? कतै उनी शोसितबाट सामन्ति शासक त बनिसकेका होइनन् ? प्रश्न यतातर्फ पनि गरौँ । आशा गरौँ, एमाले र माओवादीबीच एकता भएमा लेखनाथजस्ता नेताको पूनोर्दय हुन्छ कि ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob