scheduleआइतवार आश्विन ७ गते, २०७५

एमाले स्थायी समिति बैठक : अब प्रधानमन्त्री आफैंले छान्नेछन् मन्त्री, अरु यस्ता छन् निर्णय

काठमाडौं, ११ फागुन । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सरकारमा जाने मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा अाेलीलाई दिएको छ ।

‘भूगोल र अरु कुराको सन्तुलन, पार्टीमा व्यक्तिको योग्यता, क्षमताजस्ता सबै कुरालाई ध्यान दिंदै प्रधानमन्त्रीले मन्त्री छनोट गर्नुहुनेछ । स्थायी समितिले यहि सुझाव दिएको छ ।’  एमाले सचिव तथा पार्टी प्रवक्ता योगेश भट्टराईले बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग भने,  ‘प्रधानमन्त्रीले माओवादी केन्द्रसँग परामर्श गरेर छिटोभन्दा छिटो सके आजै टुङ्ग्याउनुहुनेछ ।’

त्यस्तै बैठकले एमाले–माओवादी केन्द्रबीच फागुन ७ गते पार्टी एकताका विषयमा भएको हस्ताक्षरलाई एमालेले सकारात्मकरुपमा लिएको उनले बताए । सरकार विस्तार सम्बन्धमा बैठकमा छलफल भएको र संसदमा भएका राजनीतिक दलहरु नेकपा एमाले र माओवादी केन्द्र मिलेर तत्काल सरकार विस्तार गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘त्यसबाहेक अन्य पार्टीहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँगसमेत आवश्यक परामर्श गरी उहाँहरुसँग सरकारमा अाउने कुरामा छलफल गर्ने कुरा भएको छ,’ भट्टराईले भने ।

बैठकले दुई पार्टीबीचमा एकता भईसकेकाे अहिलेकाे अवस्थामा मिति तोकिएका र मिति तोकिन लागेका जनसंगठन र तिनीहरुका अधिवेशन, सम्मेलनहरु तत्कालका लागि स्थगीत गर्ने निर्णय गरेको छ । ‘कतिपय मिति तोकिएका र कतिपय हुनेवालामा छन् । पार्टी एकताको संवेदनशिलता र दुई पार्टी एक भईसकेपछि पार्टी कमिटिलाई नै एक बनाउनुपर्ने अर्थात् मर्ज गरेर तदर्थ कमिटि बनाउनुपर्ने कारण अहिलेलाई ती सबै सम्मेलन स्थगीत गर्ने निर्णय गरेका छौं ।’ बैठकपछि उनले भने, ‘अरु आन्तरिक गतिबिधि पार्टी सदस्यता नविकरण, पार्टी सदस्यता विस्तार, भेला, बैठक प्रशिक्षणजस्ता अन्तरिक गतिबिधिहरु निरन्तर अगाडि बढाउने निर्णय भएको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob