scheduleमगलवार आश्विन ९ गते, २०७५

बुद्धको जन्मभूमिमा बाबुराम, के गर्दैछ लुम्बिनीमा नयाँ शक्ति ?

कपिलवस्तु, ९ माघ । नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय परिषदको बिस्तारित बैठक लुम्बिनीमा सुरु भएको छ । पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बैठकको उद्घाटन गरेका हुन् ।

बैठक स्थल लुम्बिनीमा किन छानियो ? बैठकमा प्रस्तुत गरिएको ‘नयाँ शक्तिको दुई वर्षः वैकल्पिक राजनीतिको अपरिहार्यता’ शीर्षकको दस्तावेजमा संयोजक डा. बाबुराम भट्टराईले भनेका छन्, ‘पच्चीस सय वर्ष पहिले विश्वलाई नै नयाँ विचार र दिशा प्रदान गर्ने महामानव गौतम बुद्ध जन्मिएको यस ऐतिहासिक थलोबाट हामीले नेपाली राजनीतिलाई नयाँ दिशा दिन सक्नेछौं भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

नयाँ शक्तिले बैठक प्रस्तुत गरेको दस्तावेजमा पार्टी स्थापनादेखि अहिलेसम्मका सवल पक्षमा विचार निर्माणमा सफल भएको, आधारभूतरुपमा संगठनात्मक सञ्जाल बनेको, राजनीतिक ध्रुवीकरण र प्रतिभाहरुको संकेन्द्रण गर्न सफल भएको, रचनात्मक अभियान तथा जनसञ्चालन गर्न सफल भएको र तीनवटै निर्वाचनको सामना गर्न सफल भएको निष्कर्ष निकालेको छ ।

अहिलेसम्मको कमजोर पक्षहरुमा छिट्टै ठूलो पार्टी हुने महत्वाकांक्षा, अवसरवादी तत्वको जमघट र भागदौड, पार्टी स्कूलिङ र अन्तरविरोध व्यवस्थापनको अभाव, असफल ध्रुवीकरण प्रयासको नकरात्मक सन्देश, कम्युनिष्ट गठबन्धनको षड्यतन्त्र, निर्वाचन रणनीति कार्यान्वयनमा समस्या, आर्थिक व्यवस्थापन क्षमताको सीमितता लगायतका बुँदाहरुलाई समेटिएको छ ।

संगठनात्मक पुनर्गठनको प्रस्ताव
नयाँ शक्तिले बैठकमा ‘मिसन ५ वर्ष, भिजन ५ स’ नामक संगठनात्मक पुनर्गठनको प्रस्ताव अगाडि सारेको छ ।

पाँच वर्षको लागि यही नाराभित्र पार्टी पुनर्गठनको कार्ययोजनालाई अगाडि बढाइने दस्तावेजमा उल्लेख गरिएको छ । ‘मिसन ५ वर्ष’ को अर्थ नयाँ शक्तिलाई पाँच वर्षभित्र संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाउने । यो नै पार्टीको अर्जुनदृष्टि हुनेछ,’ दस्तावेजमा भनिएको छ, ‘भिजन ५ स को अर्थ नयाँ शक्तिलाई ५ वर्षभित्र शक्तिशाली बनाउन ५ सको रुपमा सूत्रवद्ध वैचारिक-राजनीतिक भिजनको मार्गदर्शनमा अगाडि बढ्ने ।’

यो कार्ययोजनाअन्तर्गत पहिलो दुई वर्ष संगठन सुदृढीकरण, विस्तार र ध्रुवीकरण, दोस्रो तीन वर्ष राष्ट्रिय अभियान र निर्वाचनको तयारीलाई प्राथमिकता दिइएको छ ।

०७५ फागुनमा संघीय महाधिवेशन

नयाँ शक्तिले ०७५ फागुनमा संघीय महाधिवेशन गर्ने गरी संगठनात्मक क्षेत्रमा तत्काल अवलम्बन गर्नुपर्ने नीति र संगठनको पुनर्गठन गर्ने प्रस्ताव गरेको छ । अहिलेको संगठनलाई टालटुल गरेर मात्र पार्टीले गति लिन नसक्ने निष्कर्षसहित संगठनात्मक पुनर्संरचनाको लागि तत्काल माथिदेखि तलसम्म निर्मम शल्यक्रिया गरेर निश्चित मापदण्डको आधारमा कमिटीहरुलाई पुनर्गठन गरी तलैबाट निर्वाचित कमिटीहरु निर्माण गर्दै एक वर्षभित्र केन्द्रीय महाधिवेशन सम्पन्ने गर्ने नयाँ शक्तिले जनाएको छ ।

संघीयता अन्तगर्त तीन तहको सरकारको स्वरुप प्रष्ट आइसकेको र जिल्ला संयोजनकारी भूमिकामा गइसकेको सन्दर्भमा नयाँ शक्तिले पनि सोही अनुसार संगठनात्मक पुनर्संरचना गर्ने जनाएको छ ।

चौथो बिस्तारित बैठकमा पेश गरिएको ५२ पृष्ठको राजनीतिक दस्ताबेजमाथि छलफल सुरु भएको नयाँ शक्तिका नेता देवेन्द्र पराजुलीले जानकारी दिए । उद्घाटनपछि बैठकमा नेताहरु नवराज सुवेदी र देवी ओझाले दस्तावेजमाथि मत राखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob