scheduleआइतवार आश्विन ७ गते, २०७५

आज प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । ६८ वर्ष पहिले १०४ वर्ष निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासन अन्त्य गरी जनताको लागि जनताले नै शासन गर्न जनप्रतिनिधिको संविधान परिषद् गठन गर्ने घोषणा भएको थियो ।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा भएको राजा, राणा र नेपाली काँग्रेसबीच मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याउने सहमतिअनुसार राजा त्रिभुवन स्वदेश फर्कनुभएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते ठूलो हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यो दिन सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनेकी छिन्, ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् । ’ प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २००७, २०४६ र २०६२÷६३ सालमा सफल आन्दोलनहरू भएको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छाअनुसार नै हामी गर्वका साथ सङ्घीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ भनिन् ।
राष्ट्रपति भण्डारीले उपलब्धिको मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु साझा जिम्मेवारी र दायित्व भएको बताइन् । राष्ट्रपतिले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण समेत गरिन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob