scheduleआइतवार आश्विन ७ गते, २०७५

लोकल सुन्तला र भ्यालेन्टाईन डे

माधव दाहाल

हाम्रो घरको आँगनको डिलमा सुन्तलाको एउटा बुढो रुख छ । सुन्तलाको त्यो रुख हामीले देखेदेखि नै जस्ताको तस्तै छ । बाले भन्नुहुन्थ्यो सायद ५० बर्ष जति पुरानो होला त्यो रुख । आज पर्यन्त त्यस रुखले न त समय समयमा मलखाद पाएको छ, नत हाम्रो हेरचाह नै । हरेक बर्ष हिउँदमा परालको टौवा हाल्न त्यहि सुन्तलाको बोटले एकातिरको खाँबोको काम गर्ने गरेको छ । यति धेरै बेवास्ताका बाबजुद पनि त्यसले विगत पाँच दशकदेखि हाम्रो परिवारलाई अनवरतरुपमा सुन्तला दिइरहेको छ जसको गुणस्तर जस्तो पहिला थियो अहिले पनि उस्तै छ ।

बीचमा बाले घरबारीमा केहि विकासे सुन्तलाका बिरुवाहरु लगाउनु भएको थियो । घरमा भएको लोकल सुन्तला जसलाई त्यति बिधि हेरचाह नै गरिएको छैन र पनि यति लामो समयसम्म फल दिन्छ भने यदि यसको सट्टा चाँडै हुर्कने, उत्पादन राम्रो दिने र दाना ठुला हुने सुन्तलाका बिरुवाहरु लगायो भने त अवश्य पनि राम्रो उपलब्धी लिन सकिन्छ भन्ने उहाँको धारणा थियो । हाम्रो यहि योजना अन्तर्गत उहाँले जिल्ला कृषि विकास कार्यालय धादिङबाट सुन्तलाका केहि बिरुवाहरु ल्याउनु भयो र घरबारीमा लगाउनु भयो । जसको आडमा विगत ५० वर्षदेखि रहँदै आएको लोकल सुन्तलाको बोट थियो ।

नयाँ सारिएका विकासे सुन्तलाका ती बोटहरुबाट सुरुका केहि बर्ष त राम्रै उपलब्धी भएको थियो । तर अनायासै उत्पादन दिन थालेको चार पाँच वर्षभित्रै प्रायः सबै सुन्तलाका हाँगोहरुमा माथिबाट पात सुक्दै जाने रोग देखा पर्न थाल्यो र ती रुखहरु उत्पादन नै दिन नसक्ने अवस्थामा पुगे । लगाएको ९/१० वर्ष भित्रै हामीले सबै सुन्तलाको बोट काट्यौ र दाउरा बाल्यौं ।

यसबाट हामीले सिकेको व्यवहारिक कुरा के हो भने हाम्रो घरको त्यो लोकल सुन्तला जुन हाम्रो आफ्नै हावा पानी, वातावरण र मौसमसँग मिल्दोजुल्दो थियो त्यसलाई कुनै रोगव्याधी लागेन । समयको परिवर्तनसँगै उसले पनि आफुलाई बिस्तारै एडजस्ट गर्दै लगेको थियो । तर, अर्कातिर ती विकासे सुन्तलाहरु जसलाई अन्य कुनै मुलुकबाट आयात गरिएको थियो , हाईब्रिड जातको थियो, अनि स्थानीय हावा पानी वातावरणसँग घुलमिल हुनसक्ने खालको थिएन र मर्दै गयो । बरु ऊ आफै मात्र मर्दै गएन उसले अरुलाई पनि रोग सार्‍यो ।

भ्यालेन्टाईन डेका अवसरमा अप्रासङ्गिक जस्ता लाग्ने यी दुई उदाहरणहरु मैले यहाँ किन पेश गरेँ भने कुनै पनि सभ्यता, संस्कृति र पर्वहरु, स्थानीय सभ्यता, रहनसहन र वातावरण सुहाउँदो हुनुपर्छ । ती आयातित सभ्यता र चालचलनहरु समाजमा रोगव्याध नसार्ने, उच्छृङ्खलतालाई प्रोत्साहन नगर्ने अनि सामाजिक सन्तुलन, मानवीय चरित्र तथा साँस्कृतिक सभ्यतामा आँच नपुर्‍याउने खालको हुनु पर्दछ । अन्यथा त्यसले आफु पनि नसप्रने र अरुलाई पनि रोग सार्ने हुनसक्छ जुन कुरा हामीले आयातित सुन्तलाखेतीबाट बेहोरेका थियौं ।

माधव दाहाल

मलाई लाग्छ, हामीले उत्सवको रुपमा मनाउन थालेको भ्यालेन्टाईन डे पनि पुर्विय सभ्यता र संस्कारसँग त्यति मिल्दो बिषय हैन । यो आयातित इसाई संस्कार हो । कथाअनुसार नै भन्ने हो भने इसाको तेस्रो शताव्दीताका रोमन क्याथोलिक इसाई धर्मगुरु सेन्ट भ्यालेन्टाईन लाई राज्यको निम्ति युद्ध लड्न जानुको सट्टा एउटी महिलाप्रति बढी आशक्ति देखाएको र आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै तत्कालिन शासक क्ल्याडियसद्वारा टाउको काटिन्छन् । यसरी राज्यको आँखामा एउटा स्त्रीलम्पट भनिएका भ्यालेन्टाईन तन्नेरी केटाकेटीहरुका आँखामा भने प्रेमका सहिद हुन् । यसरी उनकै सम्झनामा मनाईन थालेको यस चाड आयातित क्रिश्चियन चाड हो । हिन्दु धर्मसँग यसको कतै तिरबाट पनि साईनो जोडिएको छैन ।

हो, भ्यालेन्टाईन डेले दिने सन्देश प्रेम र समर्पण कै होला, तर यसप्रतिको हाम्रो लगावले भने हाम्रो हिनताबोध, संस्कारगत दासता र सतही मुल्याङ्कनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यसरी आयातित भने पछि सबै ठिक हुन्छ भन्ने हाम्रो समाजमा भ्यालेन्टाईन डेलाई आवश्यक भन्दा बढी महत्व दिनु कुनै आश्चर्यको कुरा हैन । पश्चिमाहरुले अबलम्वन गरेका सबै कुराहरु ठिक मात्र देख्ने तथा हाम्रो सभ्यता र संस्कृतिअनुरुप अवलम्बन गरिएका यावत कुराहरुमा खोट मात्र देख्ने हाम्रो आँखाले लैला र मजनुको समर्पण, महादेव र सतिदेवीको प्रेम अनि कृष्ण र राधाको प्रसंगलाई बिर्सेको छ जसले दिने सामाजिक सन्देश पनि प्रेमपूर्वक पारिवारिक वातावरणमा बाँच्न सिक्नुपर्छ भन्ने नै हो ।

एउटै घरमा बसेका श्रीमान् श्रीमतीहरु फुर्सद मिल्ने बित्तिकै आआफ्ना ग्याजेटमा व्यस्त रहन्छन् । उनीहरुका बीचमा न त कहिल्यै हार्दिकता पूर्वक वार्तालाप हुन्छ न त एक आपसमा पारिवारिक दुःखसुखका बारेमा छलफल नै हुन्छ न कुनै प्रेमिल वातावरण नै घरमा कायम रहेको हुन्छ ।

यसरी जब आयातित सभ्यता र संस्कार स्थानीय पद्धति र व्यवहारसँग मेल खाँदैन तब त्यसले जतिसुकै परिश्रम गरे पनि अपेक्षातित उपलब्धि दिन सक्दैन । अझ त्यसले त समाजलाई दुषित बनाउन मात्र बनाउने हो ।

सच्चा प्रेम गर्न भ्यालेन्टाइन डे नै पर्खनु पर्दैन । जब यो संसार नै माया प्रेम, सद्भाव र हार्दिकतामा अडेको छ भने प्रेम गर्नुलाई कसैले पनि अन्यथा मान्न सक्दैन । तर एक दिनको लागि गरिने प्रेम, एक दिनको लागि गरिने समर्पण र एक दिनको लागि गरिने व्यवहारले प्रेमलाई प्रतिनिधित्व गर्न सक्दैन । यो एउटा ढोंग मात्र हो । प्रेमलाई पश्चिमाहरुले मात्र बुझेझैं उनीहरुले नै बनाएको किम्वदन्ती अनुसार हिड्नु चाहिँ हामीहरुको अल्पज्ञान हो ।

प्रेम न त विज्ञापन हो न त यो प्रदर्शनीमा राखिएको कुनै वस्तु नै । त्यस्तै प्रेम, बासना र सहवास यी तीन पृथक कुरा हुन् भन्ने कुरा अहिलेको पुस्ताले हेक्का राखेको देखिदैन । अक्सर गरेर हिजो आज बासना र सहवासलाई प्रेमको पर्यायको रुपमा परिभाषित गर्न खोजिँदैछ र हामी यसैमा अभ्यस्त हुँदै छौं । र, यसैकारण त भ्यालेन्टाईन डेलाई हामीहरुले प्रेम दिवस उर्फ समागम दिवस, गुलाफ दिवस, होटल दिवस, मदिरा दिवस, कण्डम दिवस, आफ्नै विज्ञापन दिवस आदि जस्ता दिवसहरुमा परिणत गर्‍यौं । यसरी प्रेमको भावनात्मक पक्ष गौण र भौतिक पक्ष सबल बन्दै गएको वर्तमान दुनियाँमा भ्यालेन्टाईन डे एउटा निरस तथा भद्दा प्रदर्शन बाहेक माथि उठ्न सकेको छैन ।

हिजो आजको हाम्रो समाज, हृदयदेखि नै प्रेम गर्न हैन कथित प्रेम प्रदर्शन गर्न मै व्यस्त छ । परिणाम स्वरुप “प्रेमको बजारीकरण” नयाँ सभ्यता र संस्कारको रुपमा नै समाजमा प्रस्थापित भै सकेको छ ।

एउटै घरमा बसेका श्रीमान् श्रीमतीहरु फुर्सद मिल्ने बित्तिकै आआफ्ना ग्याजेटमा व्यस्त रहन्छन् । उनीहरुका बीचमा न त कहिल्यै हार्दिकता पूर्वक वार्तालाप हुन्छ न त एक आपसमा पारिवारिक दुःखसुखका बारेमा छलफल नै हुन्छ न कुनै प्रेमिल वातावरण नै घरमा कायम रहेको हुन्छ । तर फेरि पनि उनीहरु भ्यालेन्टाईन डेका दिन सँगै बसेर फोटो खिच्छन् र कुनै दार्शनिकले झै विचारोत्तेजक क्याप्सनसहित डिजिटल दुनियाँमा आफ्ना फोटाहरु शेयरिङ गर्छन् । प्रदर्शन गरिएका फोटाहरु र त्यसको साथमा प्रेसित ‘सँगै बाँच्ने र मर्ने कसम खाएका उद्दरणहरु’ लेखिन्छन् । उनीहरु गुलाबको फुल साटासाट गर्छन् र कुनै एक महङ्गो होटलमा सगैं खाना खान्छन् । उनीहरुको टुटेको दिल र फाटेको मनलाई सामाजिक सञ्जालमा प्रशारित गरिएका उनीहरुका फोटाहरुले जलप मात्र लगाएका हुन्छन् ।

जबसम्म श्रीमान् श्रीमती वा प्रेमी प्रेमिकाहरु उनीहरु बिचको आपसी सम्वन्धलाई भौतिक सुखसयल र पैसासँग तुलना गर्ने अवस्थामा रहन्छन्, जबसम्म उनीहरुको बीचमा माया र प्रेमको सट्टा पैसा र भौतिक सुखसुविधाले प्रधानता पाउन थाल्छ, तबसम्म उनीहरुको सहकार्य प्रेमिल बन्ने कुरा कल्पना गर्न सकिदैन । जबसम्म पारिवारिक सौहार्दतालाई भौतिकताको रस्सिले जोड्न खोजिन्छ, तबसम्म उनीहरुको सम्बन्ध व्यवसायिक मात्र बनिरहन्छ जस भित्र माया र प्रेमको सट्टा नाफा र घाटाको मात्र हिसाब हुने गर्दछ । हामीले देखेकै छौं कि एउटी आमाले आफ्ना सन्ततिको लागि गर्ने सच्चा प्रेम भित्र न त कतै बजारीकरण गरिएको हुन्छ न त त्यस्तो प्रेम भित्र कुनै लाभको अपेक्षा नै । हाम्रो समाज बाबु र आमाले आफ्ना सन्ततिप्रति दर्शाउने उक्त प्रेमलाई प्रेमको परिभाषा भित्र राख्न हिचकिचाउँछ ।

यस्तो लाग्छ, इसाई प्रेमी भ्यालेन्टाईन र उनकी प्रेमिकाले गरेको प्रेम मात्र सच्चा प्रेम हो, जसका अगाडि अन्य धर्मावलम्बी मानिसहरुले गरेको प्रेमको कुनै महत्व रहँदैन ।

आशा गरौं, यसपटकको पश्चिमा प्रणय दिवस सच्चा प्रेमी र प्रेमिकाहरुका लागि साच्चै प्रेमिल बन्न सकोस् । भ्यालेन्टाईन डेलाई उत्सवका रुपमा मनाउने व्यक्तिहरुका लागि यहि शुभकामना ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob