scheduleमगलवार श्रावण २९ गते, २०७५

वाम-एकताः अध्यक्ष हाताहाती, सिद्धान्त उधारो, एम्बुसको स्वीच माओवादीसँगै

समाचार टिप्पणी

सुदर्शन खतिवडा/काठमाडौं, १८ माघ । केही साता अगाडि पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले माओवादी र एमालेको एकतालाई बैंक गाभिने प्रक्रियाजस्तै भएको टिप्पणी गरेका थिए । ‘उहाँहरूको एकता अभियानमा विचारको बहस छैन, कसले के पद लिने भन्ने मात्रै छ,’ उनको तर्क थियो, ‘यसले रूपान्तरण, ध्रुवीकरण होइन, बैंकको मर्जरमा सीईओ र चेयरम्यान को हुने भन्ने किसिमको संकेतमात्रै गर्छ । यसले नयाँपन दिँदैन ।’

एमाले र माओवादी नेताहरुले बोलेका केही वर्ष मात्र पुराना समाचार र विचारहरु हेर्ने हो भने उनीहरुको वैचारिक प्रतिवद्धताको कुरा स्पष्ट हुन्छ । तर पछिल्लो समय नेताहरुको बहस विशुद्ध पदमा मात्र केन्द्रित भएको पाइन्छ । मानौं, कुनै एउटा नेताले अध्यक्ष अथवा अध्यक्ष र प्रधानमन्त्री दुवै पाउनासाथ माओवादको सम्मान हुन्छ र समाजवाद आइहाल्छ । अमूक नेताले पद पाउनासाथ मृत्यू भइसकेका माओ र मदन भण्डारी एकसाथ खुसी भइहाल्छन् ।

दोस्रो तहका नेताहरुको कुम्भकर्ण निद्रा झनै उदेकलाग्दो छ । सामन्तवादविरुद्ध लड्दा नेपालका राजनीतिक पार्टीहरुले पार्टी अध्यक्षलाई यति शक्तिशाली बनाएछन् कि यो पद राजाभन्दा शक्तिशाली बनेको छ । पछिल्लो समय एकाध नेताको पछाडि हजारौं नेता कार्यकर्ताको लम्पसार र त्वम्शरणम् लाजमर्दो छ ।

दुई पार्टी एकताको प्रक्रिया हेर्दा यहाँ यस्तै भइरहेछ । दुई पार्टीको एकतामा तगारो बनिरहेको छ- एकीकृत पार्टीको अध्यक्ष पद । एमाले अध्यक्ष केपी ओली न अध्यक्ष छाड्न सक्छन् न प्रधानमन्त्री । त्यसो त, माओवादी केन्द्रको प्रधानमन्त्रीमा दावी छैन । उक्त पार्टी निशर्तरुपमा भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई स्वीकार्न तयार छ । यसको पछाडि माओवादी केन्द्रको रणनीतिक लक्ष्य लुकेको छ । सरकारभन्दा पार्टी सत्ता कब्जा गर्नुको रणनीतिक फाइदा छन् । यो अर्थमा प्रचण्डको रोजाईलाई मान्नै पर्छ ।

तर, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पद त्यागेर पार्टी अध्यक्ष लिन तयार छैनन् । उनी सके दुवै पद लिने नसकने अध्यक्ष नै छाडिदिने रणनीतिमा छन् । यो कुरा उनी आफैंले बोल्न मिल्दैन । गठबन्धनको प्रमुख नेताको हैसियतले उनले आफ्नो प्रधानमन्त्री र अध्यक्ष दुवै बन्ने लोभलाई दोस्रो तहको नेताको मुखबाट बोलाइरहेका छन् । ‘ओलीले प्रचण्डलाई अध्यक्ष मान्न तयार छन् तर दोस्रो तहका नेता तयार भएनन्’ भन्ने तर्कको पछाडि तथ्यभन्दा बढी ओलीको चाहना लुकेको छ । ओलीको चाहनालाई चुनौती दिनसक्ने नेताहरु ओली समूहमै निस्किए भनेर बोल्नु नेपाली राजनीतिक बजारमा खपत नहुने अथवा नपत्याइने तर्क हो । यदि माधव वा झलनाथ वा वामदेव समूहका कुनै नेताबाट प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनौं भन्ने कुरा बोलाउन सकेको भए त्यसलाई ओलीको सफलताको रुपमा मान्न सकिन्थ्यो ।

अध्यक्ष ठूलो कि प्रधानमन्त्री ?
अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक रोज्ने कुरा रणनीतिक महत्वसँग जोडिएको छ । शक्तिको आगो ताप्ने नेपाली समाजमा झलक्क हेर्दा प्रधानमन्त्री लोभलाग्दो पद लाग्न सक्छ तर विचार र सिद्धान्तलाई प्राथमिकता दिने हो भने एकीकृत पार्टीको अध्यक्ष प्रधानमन्त्रीभन्दा कयौं गुणा महत्वपूर्ण पद हो ।

यसर्थ, प्रचण्ड यो कुरामा यसपालि पनि चतुर निस्किएका छन् । यतिबेला माओवादीका नेताहरु भेट्दा पार्टी एकताको लागि उनीहरुको बटम लाइन हो- पार्टी अध्यक्ष । पार्टी अध्यक्ष पाएपछि उनीहरु माओवादलाई तपशीलमा राख्न तयार देखिएका छन् । यद्यपि पार्टी एकताको लागि तीन गाँठो सँगै देखिएका छन्- पार्टी अध्यक्ष, माओवाद र जबज । कम्युनिष्ट सिद्धान्तको ठेलीहरु होइन, सामान्य राजनीतिक कखरा जानेको मानिसहरुको लागि पनि यी तीन गाँठोमा महत्वपूर्ण हुनुपर्ने हो सैद्धान्तिक प्रश्न ।

दुवै पार्टी अध्यक्ष पदमा भागबण्डा मिलेपछि सिद्धान्तमा त्यति बहस गर्नेवाला छैनन् । नेपाली राजनीतिमा उधारो हिसाबकिताब धेरै हुन्छ । तर, अध्यक्ष पदमा उधारो हिसाबकिताब मिल्दैन । अध्यक्षमा हाताहाती हिसाब मिलेपछि एकता प्रक्रिया एक साता पनि नलम्बिने दुवै पार्टीका जिम्मेवार नेताहरु नै बताउँछन् । दुवै पार्टीका नेताहरु अध्यक्ष पदमा कुरा मिलेर माओवाद र जबजको कुरामा महाधिवेशनसम्म बहस गर्दै टुंग्याउने उधारो हिसाब गर्न तयार देखिन्छ ।

माओवादीका एक नेताले मन खोलेरै भने, ‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष । जबज र माओवाद दुवै छाडेर बीचको बाटो खोज्नुपर्छ ।’ पंक्तिकारको प्रश्न थियो, ‘के हो त्यो बीचको बाटो ?’ तात्तातै जवाफ आयो, ‘अहिले तनाव लिनुपर्दैन । यो कुरा महाधिवेशनले मिलाउँछ । त्यतिबेलासम्म बहस लैजाने ।’ तत्काल केही समय अड्याउँदा प्रचण्डले अध्यक्ष छाडिहाल्छन् कि भन्ने एमालेमा ओली पक्षको बुझाई छ । तर, माधव, झलनाथ र वामदेवको दह्रो ‘ब्याकअप’ पाइरहेका प्रचण्डलाई ओलीको यो कमजोर सुत्रले गाल्ने देखिँदैन ।

प्रधानमन्त्री देशको हुन्छ र पार्टी अध्यक्ष पार्टीको । पार्टीका हरेक सभा, सम्मेलन, अधिवेशन र बैठकहरुमा पार्टी अध्यक्षको रुपमा प्रचण्डले गर्ने भाषण र प्रशिक्षणले स्वभाविकरुपमा माओवादी लाइनको वकालत गर्दछ । यसर्थ, अध्यक्षको रुपमा एमालेले प्रचण्डलाई स्वीकार्नु नै माओवादीको रणनीतिक जित हो । एमालेले जनयुद्धलाई स्वीकार्नु जस्तै हो । प्रचण्डको अन्तरविरोधको परिचालन गर्ने ‘प्रचण्ड’ क्षमताले पाँच वर्षभित्र अस्वस्थ भनिएका ओली र उनी नेतृत्वको जबजलाई उठबस गराइसकेको हुनेछ ।

अन्ततः समाजवादी केन्द्र
प्रचण्ड, केपी ओली र बाबुराम भट्टराईको साझा बैठकमा तीनै नेता समाजवादी केन्द्र बनाउन सहमत देखिएको खबर यसअघि नै सार्वजनिक भइसकेको छ । ‘नेपालका कम्युनिष्टहरु नाम मात्रको कम्युनिष्ट अथवा ब्रान्ड मात्र कम्युनिष्ट रहेको’ एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमा स्वीकारिसकेका छन् । उनले अबको वाम एकताको निष्कर्ष समाजवादी केन्द्रको रुपमा नयाँ पार्टीको रुपमा जन्मने बताउने गरेका छन् । तत्कालको लागि यो निर्णय गर्न प्रचण्डलाई गाह्रो छ ।

‘अहिले नै समाजवादी केन्द्रमा गइयो भने त (माओवादसँगै कम्युनिष्ट पनि छाड्ने) मभन्दा गोपाल किराँतीहरु बलियो बनाउने कुरा हो । बिस्तारै मिलाउँदै जानुपर्छ,’ प्रचण्डले तीन शीर्ष नेताको अगाडि गरेको यो स्वीकारोक्तिले पनि जबज र माओवादीको समानान्तर बहसपछि हुने वाम गठबन्धनको महाधिवेशनले जन्माउने पार्टीको चित्र र चरित्र दुवै स्पष्ट बनाउन मद्दत गर्दछ । प्रचण्डले बाबुरामसँग भेटमा पनि ‘अबको बाटो तपाईंले भनेकै हो, तर मिलाउँदै जानुपर्छ, तपाईंले जस्तो आत्तिएर हुँदैन’ भन्दै दिएको अभिव्यक्तिले पनि माथिको तथ्यलाई पुष्टि गर्न बल पुर्‍याउँछ ।

एम्बुसको स्वीच माओवादीकै हातमा
एम्बुस भनेको छापामार ढंगले दुश्मनमाथि आक्रमण गर्न बाटोमा विछ्याइने एकप्रकारको बम हो । एम्बुस कतिबेला पड्काउने भन्ने कुरा स्वीच समाउने मानिसको हातमा हुन्छ । वाम एकता हुने दिन अर्थात् मंसिर १७ गते दुई पार्टीले अहिलेसम्म सार्वजनिक नगरिएको सम्झौता गरेका छन् त्यो पनि लिखित ।

माओवादी स्रोत भन्छ, ‘अहिले हामी त्यो सार्वजनिक गर्दैनौं, जसमा सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने भन्ने लेखिएको छ । यसले कार्यकर्ता र नागरिक तहमा बाँढिचुडी खाने निर्णय भनेर आलोचना हुनसक्छ । तर, एमाले सम्झौतामा इमान्दार देखिएन भने त्यो सम्झौता सार्वजनिक गर्नैपर्ने हुन्छ ।’ स्थिर सरकारको नारालाई भोट दिएको जनताले बाँडीचुडी चलाउने कुरालाई नपचाउने माओवादीको बुझाई छ । तर, एमालेले ‘मर्ता तो क्या  नहि कर्ता‘को अवस्थामा पुर्‍याएमा लिखित सम्झौता सार्वजनिक गर्ने माओवादीको तयारी छ ।

६०/४० बाट ७०/३० मा माओवादीलाई खुम्च्याइरहँदा एमालेको एउटा पंक्तिमा अध्यक्ष पनि माओवादीबाट फुत्काउन सकिने आत्मविश्वास भरिँदै गएको छ । तर, आन्तरिक एकता मजबुत नभएको एमालेका केही नेताहरुको यो सपना प्रचण्डले पूरा हुन देलान् ? सही जवाफको लागि केही समय कुर्नुको विकल्प छैन ।

यो पनि पढ्नुहोस्-

रविन्द्र मिश्रलाई खुलापत्रः तपाईंको निर्णयले भ्रष्टाचारीको मुखमा किरा पर्छ त ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob