scheduleमगलवार श्रावण २९ गते, २०७५

एमाले नेताहरुले धर्ती टेकून्

दूध बेच्ने युवती, दम्भको भकुण्डो र वाम एकता !

‘एकादेशमा एउटी युवती थिइन् । उनी गाउँबाट दूध खरिद गरेर बजारमा बेच्ने गर्दिथिन् । तर, उनको उष्ण महत्वकांक्षाले साना सपना देख्दैनथ्यो । एकदिन उनी घैंटो टाउकोमा राखेर दूध बेच्न उनी बजार निस्किइन् । महत्वकांक्षी सपनामा उनी अभ्यस्त थिइन् । सोचिन्, ‘यो दूध बेचेर कुखुरा किन्छु, त्यसले धेरै अण्डा दिन्छ । अण्डाबाट सयौं चल्ला कोरलिन्छन् । चल्लाहरु बेचेर भैंसी किन्छु । भैंसीले दूध दिन्छ, दूध बेचेर जग्गा किन्छु, जग्गाको मूल्य बढ्छ, अनि त्यसलाई बेचेर घर किन्छु ।’

उनको सपनाको रेल त्यतिमै रोकिएन । सोचिन्, ‘घर किनेपछि म ठूलो महलको मालिक हुन्छु, अनि राजकुमारसँग बिहे गर्छु । अनि हैट–हैट गर्दै घोडा चढेर हिड्छु ।’ जब उनले घोडा चढेर हैट–हैट गरेको कल्पना गरिन्, उनको उफ्राईले टाउकोको घैंटो भुँईमा झर्‍यो, दूध पोखियो । अनि, उनको राजकुमारसँग बिहे गर्ने सपना पनि क्षणभरमै भष्म खरानी भयो ।’

२०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो । युद्धबाट भर्खर शान्तिमा पर्दापण गर्दाको खास अनुभव माओवादीसँग थिएन । त्यसमाथि ब्यालेटको लडाईं त बिल्कूल नयाँ थियो । माओवादीले एमालेसँग प्रस्ताव गर्‍यो, ‘५०/५० को अनुपातमा भागबण्डा गरौं र चुनाव लडौं ।’ तर, शान्तिपूर्ण राजनीतिको मसिहा ठान्ने एमाले घमण्डको बेलुन बेस्सरी फूल्यो, उसले माओवादीसँगको तालमेल पूर्णतः ईन्कार गर्‍यो । २०६४ चैत्र २८ मा चुनाव भयो । परिणाम माओवादीले १२१ सिट ल्यायो भने एमाले ३३ सिटमा मरिच बन्यो ।

एमालेको घमण्डको सरुवा रोग अब माओवादीतिर सर्‍यो । माओवादी ठूलो पार्टी थियो । तर, एकल बहुमत थिएन । तर, उनको घमण्ड दुई तिहाई बहुमतभन्दा कम थिएन । उसले आफ्नो क्याल्कुलेटरको हिसाबमा एमाले र कांग्रेसलाई राख्न जरुरी ठानेन । उसको ब्रह्माले गिरिजालाई राष्ट्रपति दिनुपर्ने देखेन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै पद आफ्नै हातमा लिने अहमले नराम्रोसँग घर गर्‍यो । परिणामतः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सबैमा माओवादी चिप्लियो । तीन महिनाको कुस्तीपछि फेला परेको प्रधानमन्त्रीको कुर्सी पनि ९ महिनामा ढल्यो । यो अधिक माओवादी दम्भको परिणाम थियो ।

शिव पौडेल

माओवादी दम्भलाई नजिकबाट नियालेका जनताले २०७४ मंसीर ४ मा गज्जवको फैसला गरे । २०६४ को पहिलो माओवादी २०७० मा तेस्रोमा झर्‍यो । कांग्रेस पहिलो दलका रुपमा उदायो । तर, माओवादी दम्भको सरुवा रोग कांग्रेसतिर सर्‍यो । संविधान निर्माणपछि कांग्रेसको राष्ट्रपति, एमालेको प्रधानमन्त्री र माओवादीको सभामुख हुने लिखित सहमति लागू गर्न सुशीलले आवश्यक ठानेनन् । राष्ट्रपति र प्रधानमन्त्री आफैं हुनुपर्ने सुशील ग्रन्थीबाट निस्किएको र्‍यालमा कांग्रेस चिप्लियो । सुशील आफैं प्रधानमन्त्रीका लागि तम्सिँदा कांग्रेसले ठूलो दल भएरै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै पद गुमायो । यो पनि अधिक दम्भकै परिणाम थियो ।

२०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय चुनावले अहंकारको सरुवा रोग एमालेतिर सल्कियो । एमालेले अरु कुनै दललाई प्रतिस्पर्धी नै देख्ने छोड्यो । तर, २०७४ असार १४ मा मधेशमा सम्पन्न स्थानीय चुनावले एमाले अहंकारको पारो झर्यो । कांग्रेस र माओवादी मिल्दा पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने र सत्ताबाहिर रहेर पार्टी धान्न धौ–धौ हुने देखेपछि एमाले घैंटोमा घाम लाग्यो । अहंकार बोकेर पाँच वर्ष प्रतिपक्षमा बस्दा एमालेको नामोनिसान मेटिन सक्थ्यो । एमालेका दोस्रो पुस्ताका नेताहरुले केपी शर्मा ओली र उनका समर्थकहरुको बुद्धि फिराए । माओवादीसँग तालमेल गरेर मात्रै एमालेको भविष्य सुरक्षित हुने देखेपछि नेताहरुले प्रचण्डसमक्ष तालमेलको प्रस्ताव गरे ।

‘एमाले धोका’बाट भुक्तभोगी प्रचण्डले केपी शर्मा ओलीलाई सहजै विश्वास गर्ने सहज आधार थिएन । कांग्रेससँगको सहकार्यबाट पनि माओवादी भविष्य सुरक्षित थिएन । माधव नेपाललाई संसदको सदस्य, झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले उनीहरुबाट सधैं धोका पाउँदै आएका थिए । एमाले नेताहरु जति पनि लाभका पदमा पुगेका थिए, ती सबै प्रचण्डको सदिक्षाका परिणाम थिए । तर, खोलो तरेर लौरो बिर्सन अभ्यस्त एमाले नेताहरुले यसपटक पनि धोका दिनसक्ने खतराप्रति प्रचण्ड सचेत थिए । त्यसैले प्रचण्डले सर्त राखे, ‘तालमेल गर्ने हो भने पार्टी एकता गर्ने संकल्पसहित गरौं ।’ अनि, प्रचण्ड प्रस्तावमा ओलीले पनि सहमतिको टाउको हल्लाए र बाम तालमेलसहित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयो ।

चुनावमा नेताहरुले भाषण ठोके, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने हाम्रो संकल्प हो । हामी एक भइसक्यौं । तपाईले एमाले–माओवादी नभनी भोट दिनुस् ।’ जनताले पत्याए, भोट दिए । तर, जब चुनावको परिणाम आयो, एमाले अहंकारी ग्रन्थी फेरि रसायो । ओली आफू बोलेनन्, पार्टी एकता र जिम्मेवारी बाँडफाँडको लिखितम् गरेका उनी जिम्मेवारी बाँडफाँडमा चुकिसकेका थिए । माओवादीले भन्यो, ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोजेर लिनुस्, छोडेको हामी लिउँला ।’ ओली ग्रन्थीले दुवै छोड्न आवश्यक ठानेनँ । पार्टी अध्यक्ष लिउँ प्रधानमन्त्री लाभको पद, प्रधानमन्त्री लिउँ पार्टीमा दोस्रो बरियतामा बस्नुपर्ने । अनि, उनले आफ्ना भकुण्डेहरु उचाले । उनका अन्धभक्तहरु कुर्लन थाले, ‘केपी ओली प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष हुने र प्रचण्ड सह–अध्यक्ष हुने मोडालिटीमा छलफल हुँदैछ ।’ कतिले भन्न थाले, ‘केपी ओली प्रधानमन्त्री बन्ने, ओली–प्रचण्ड दुवै सह–अध्यक्ष बन्ने मोडालिटीमा सहमति भएको छ ।’ यी दुवै तर्क जगत भ्रमित पार्ने एमाले अस्त्र थिए ।

निर्वाचनमा एमालेले ८० र माओवादी केन्द्रले ३७ सिट जित्यो । यो एकल चुनावी परिणाम होइन । एमाले–माओवादी तालमेलबाट मात्र सम्भव भएको हो । एमाले र माओवादी अलग अलग लडेको भए कांग्रेस नै पहिलो दल हुन्थ्यो । एमालेले जितेका ८० सिटमध्ये २५ सिट माओवादीको सहयोगबाट जितिएको देखिन्छ भने माओवादीले जितेको ३७ सिटमध्ये १७ सिट एमालेको सहयोगले जितेको छ । एक्लाएक्लै लडेको भए कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बन्ने परिणाम देखिन आउँछ । समानुपातिक मत हेर्दा कांग्रेसभन्दा एमालेको १ लाख मत बढी देखिन्छ । तर, त्यो एमालेको एकल मत होइन । ६० प्रतिशत स्थानमा माओवादीको उम्मेदवार नहुनुको परिणाम त्यो मत एमालेतिर खस्यो । अर्कोतिर, चुरेभावर, परिवार दल, हृदयेश त्रिपाठीको समूहजस्ता दलहरु सूर्य चिन्हमै चुनाव लडेका कारण पनि एमालेको मत बढ्यो । तर, त्यो एमालेको बास्तविक मत होइन । यसरी हेर्दा एमालेले निर्वाचन परिणामबाट दम्भ लिनुपर्ने ठाउँ देखिँदैन ।

निर्वाचन परिणामले भन्छ, ‘देशको ठूलो दल एमाले हो, एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ ।’ तर, जब पार्टी एकताको सवाल आउँछ, त्यहाँ अंकगणितीय समीकरण मात्र प्रधान बन्दैछ । विचार, दृष्टिकोण, इतिहास, त्याग, बलिदान, आगामी दिशा र नेतृत्वजस्ता विषय पार्टी एकताका प्रमूख आधार हुन् । इतिहासका कालखण्डमा कहिले कुन पार्टी, कहिले कुन पार्टी ठूलो सानो हुन्छ, यो सामाजिक विज्ञानको सामान्य नियम पनि हो । तर, दृष्टिकोण, लक्ष्य र नेतृत्व त्यसभन्दा फरक कुरा हो, त्यसलाई अवमूल्यन गरेर पार्टी एकता हुँदैन । प्रचण्डको आफ्नो संघर्षको इतिहास, नेपालको परिवर्तनमा खेलेको भूमिका, उनको दुरदृष्टि र निर्णय क्षमता देख्नेले भन्छन्, ‘प्रचण्ड बिना राजनीतिको पात पनि हल्लिँदैन ।’ यो नै आजको यथार्थ हो ।

राष्ट्रपति, प्रधानमन्त्री, संसदीय दलको नेता, पार्टी अध्यक्ष, सबै प्रदेशका मूख्य मन्त्री एमालेले माग्नुमा अहंकारको भकुण्डो नै मूख्य रुपमा जिम्मेवार छ । अहिले देशको ठूलो दल एमाले हो । तर, निर्णायक शक्ति माओवादी । माओवादीलाई पेल्ने र गलाउने सोंचसहित पार्टी एकताको प्रयास गर्दा त्यो एमालेका निम्ति प्रतिउत्पादक हुन्छ । ओली र उनका पक्षधरहरुको दम्भले फेरी पनि एमाले पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने खतरा टरिसकेको छैन ।

एमालेलाई राष्ट्रपति र प्रधानमन्त्री दिन माओवादी तयार नै छ । तर, एमालेले सबै कुरामा लोभ गर्‍यो र अहंकारको भकुण्डो उफ्रिरहे एमाले पाँच वर्ष प्रतिपक्षमा जानेछ, त्यसले एमाले भित्रकै एकता जोगिने छैन । कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षे पूर्ण कार्यकालकै प्रधानमन्त्री हुने अवसर प्रचण्डका लागि सुरक्षित छ, पाँच वर्षपछि कुन पार्टीको आयातन र हैसियत कता पुग्ला ? त्यो सहजै अनुमान गर्न सकिने विषय हो । तर, जनादेश त्यो होइन, जनादेश एकताका बलमा आर्थिक समृद्धि र विकासको लक्ष्य हासिल गर्नु हो ।

अहिलेको एमाले–माओवादी एकताको विपक्षमा उभिनु अन्ततः लोकतन्त्र र स्थायित्वका विरुद्धमा उभिनु हो, जुन छुट अब एमाले र माओवादीलाई छैन । तर, एमालेले आफ्नो अहंकार त्याग्ने कि नत्याग्ने ? २०६४ को अहंकारले माओवादीलाई डुबायो, २०७० को अहंकारले कांग्रेसलाई डुबायो, २०७४ को अहंकारले एमाले नडुबोस् । राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रदेशका मूख्यमन्त्री सबै आफै खोज्दा सबै गुमाउनुपर्ने हालतमा एमाले नपुगोस् । एमाले नेताहरुले धर्ती टेकून्, मेरो शुभकामना ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob