scheduleसोमवार आश्विन ८ गते, २०७५

नयाँ शक्ति र विवेकशील साझालाई केही समय टकराउन दिनुपर्छ

डम्बर खतिवडा, नेता– नयाँ शक्ति पार्टी, नेपाल
डम्बर खतिवडा

राजनीतिक विश्लेषक तथा लेखकको छवि बनाएका डम्बर खतिवडा डेढ वर्षदेखि नयाँ शक्ति पार्टी, नेपालसँग आवद्ध छन् । लामो समयदेखि वैकल्पिक राजनीतिको पक्षमा वकालत गर्दै आएका उनी कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेपछि खतिवडासँग साझापोस्टले निर्वाचन परिणामको विश्लेषण, नेपालमा वैकल्पिक राजनीतिको भविष्य र वैकल्पिक शक्तिबीच सहकार्य र संघर्षको सम्भावनामा केन्द्रित भएर कुरा गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तामझामसहित सुरु भएको नयाँ शक्ति निर्माण अभियानलाई यो निर्वाचनको परिणामसँग तुलना गरेर हेर्दा कहाँ पाउनुहुन्छ ?
यसपालीको निर्वाचन परिणाम हामीले सोचेभन्दा धेरै फरक त होइन, तर हाम्रा लागि अलि अनपेक्षित रह्यो । निर्वाचनअगाडि जसरी समाज ध्रुवीकरण भयो, विशेषगरी दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीले पार्टी एकता गर्ने लक्ष्यका साथ गठबन्धन बनाएर चुनाव लडे । यसको प्रतिध्रुवको रुपमा कांग्रेस र राप्रपाबीचमा गठबन्धन बन्यो । यो गठबन्धनले कम्युनिष्टहरुले जितेर आए भने देश भयंकर ठूलो अधिनायकवादतिर जान्छ, त्यसैले प्रजातान्त्रिक शक्तिहरु एकभएर कम्युनिष्टविरुद्ध लाग्नुपर्छ भन्ने प्रचार अगाडि लगे । कम्युनिष्टहरुले स्थिरता र दुई तिहाईको नारा दिए, अर्को ध्रुवले यसलाई रोक्नुपर्छ भन्ने आवाज जोडदाररुपमा उठायो । यसरी चर्को ध्रुवीकरणबीच यसपालीको चुनाव दुई ध्रुवीयजस्तो भयो । यसले गर्दा वैकल्पिक शक्तिहरुले पर्याप्तरुपमा जनताको ध्यान तान्न सकेनन् भन्ने लाग्छ ।

निर्वाचन परिणाम हेर्दा अब अर्को वैकल्पिक राजनीतिक ध्रुव असम्भव बन्दै गएको हो ?
वैकल्पिक राजनीतिमा लाग्दा सुरुदेखिकै मेरो बुझाई राजनीतिमा आधारभूत सैद्धान्तिक स्पेश हुन्छ । नेपालमो यस्तो वैचारिक स्पेश पाँच किसिमको छ भन्ने मेरो बुझाई हो । त्यो पाँचवटा मध्ये एउटा टिकेर हामीले निरन्तर राजनीतिक अभियान चलाउनुपर्छ । तब मात्र जनताले हामीलाई पत्याउँछन् । कांग्रेसको धारलाई म लिवरल डेमोक्रेटिक धार भन्ने गर्दछु । यो एउटा धार हो नेपाली राजनीतिको । छिरोलिएको कम्युनिष्टहरुको धार यसपालीदेखि एमाले, माओवादी केन्द्र र मसाल मिलेर अर्को ध्रुव बन्दैछ । यही ध्रुवमा अन्य साना कम्युनिष्ट पार्टीहरु पनि छन् । त्यस्तै कन्जरभेटिभहरुको अर्को पोल छ, जसको नेतृत्व राप्रपाले गर्दछ । उनीहरु फुटे र उनीहरुको पनि बेहाल भयो । उनीहरु नफुटी चुनावमा गएको भए अहिलेको जस्तो नहुन सक्थ्यो । चौथो, पहिचानमा आधारित राजनीति गर्नेहरुको धार, यसको नेतृत्व नेपालमा राजपा र फोरमले गरेका छन् । उनीहरु पनि चुनावमा मिलेर गए । यसो गर्दा उनीहरुको ठिक्कैको उपस्थिति संघीय संसदमा पनि भयो र प्रदेशमा त उनीहरुले बहुमत नै हासिल गरे । प्रादेशिक सरकार नै गठन गर्ने स्थिति देखिन्छ । हामी चाहिँ पाँचौं ध्रुव हौं, त्यो पनि वैकल्पिक ध्रुव हो । त्यो भनेको नेपालमा वाम लोकतान्त्रिक शक्तिहरुको ध्रुव हो । यो कुरालाई हामीले यो छोटो अवधिमा बुझाउन सकेनौं । वैकल्पिक भन्ने एउटा शब्द प्रयोग गर्दैमा वैकल्पिक हुने होइन । तर, नयाँ आउनेजति सबै वैकल्पिक भन्ने बुझाई पनि बन्यो । वैकल्पिक शक्तिको पनि एउटा वैचारिक स्पेश हुन्छ । समयलगायतका कारण यो कुरा बुझाउन सकिएन ।

यहाँले वाम लोकतन्त्रको कुरा गर्नुभयो । तर, यहाँ त कि वाम हुन्छ, कि लोकतान्त्रिक, कहाँ दुवै एकचोटि हुन्छ भन्नेहरु पनि छन् नि !
यो चाहिँ एकदमै शास्त्रीय चिन्तनबाट ग्रस्त भएका मानिसहरुको बुझाई हो । सानो उदाहरण भनौं, कि गाई मात्रै भएको सिक्का हुन्छ, कि त्रिशुल मात्रै भएको सिक्का हुन्छ भनेर एउटा पूर्ण सिक्का बन्छ र ? कुनै पनि एउटा अस्तित्व निर्माण हुनको लागि त्यहाँ त दुई पक्ष हुनैपर्दछ । लेनिनको, माओको भनेर चिनिने हिजोको साम्यवाद आजको युगमा काम लाग्छ र ? नेपालका कुनै कम्युनिष्टले आँट गरेर यहाँ रुस, क्युबा, उत्तर कोरिया वा चिनको जस्तो साम्यवाद ल्याउँछौं भनेर भन्न सक्छन् ? अनि कसरी वामको मात्रै कुरा हुन्छ ? अनि प्रजातान्त्रिक भन्नेहरुले संसदीय लोकतन्त्र र खुल्ला बजार अर्थतन्त्रको मात्रै पक्षधर हो भने भन्न सक्छन् ? यो खालको वैचारिक बहस त आजभन्दा ५०/६० वर्ष अगाडि नै सक्किइसक्यो । मलाई दुःख लाग्छ, नेपालमा अझै पनि यस्ता तर्क गर्नेहरुलाई बुद्धिजिवी भनिन्छ । अहिले त्यो युग नै बाँकी छैन । अहिले संसारमा हिजोका वाम वा कम्युनिष्ट भन्नेहरु पनि कम्युनिष्ट होइनन् ।

प्रजातान्त्रिक भन्नेहरु पनि प्रजातान्त्रिक होइनन् । उनीहरुको कम्युनिज्ममा पनि एउटा गत्यावरोध देखिइसक्यो भने हिजो प्रजातान्त्रिक भन्नेहरुको प्रजातन्त्रमा पनि एउटा गत्यावरोध देखिइसक्यो । त्यसैले आर्थिक प्रणाली र राजनीतिक प्रणाली दुवैमा हामीले एउटा नयाँ संश्लेषण निर्माण गर्नुपर्छ भनेर नै वाम लोकतान्त्रिक भनिएको हो ।

यही कुरा तपाईंहरुले दुई वर्षदेखि गर्दै आउनुभयो । चुनावमा जाँदा त जनताले अनुमोदन त गरेनन् ?
म प्रष्टसँग यो कुरा स्वीकार्छु । हामीले दुईटा गल्ती गर्यौं वा हामीले गरेका कामहरुले जनतामा राम्रो छाप परेन । एउटा, कुनैबेला फोरमसँग मिल्यो नयाँ शक्ति भन्ने कुरा आयो । त्यो गल्ती थियो अथवा त्यसले हाम्रो इमेज बिगार्यो । यो त पहिचानमा आधारित राजनीति गर्ने पार्टी पो हो कि भन्ने अथवा मधेसी दलसँग गएर मिसिने पार्टी हो कि भन्ने भ्रम पर्यो । खासगरी पहाडी क्षेत्रमा । अर्को गल्ती वामगठबन्धनमा गएर निस्कियौं । त्यहाँ जानु र निस्किनुका व्यवहारिक बाध्यताहरु आफ्नै ठाउँमा छन् । तर, बाहिर जनतामा के पर्यो भने यिनीहरु जुनसुकै कम्युनिष्ट पार्टीमा जान्छन्, वामलोकतन्त्र भनेको यिनीहरुको गफ मात्रै हो । अब यिनीहरुलाई छुट्टै पार्टी मानेर किन भोट दिनु पर्‍यो र ? भन्ने पर्‍यो । यी दुई गल्ती वा यी घटनाक्रमले पैदा गरेको छाप राम्रो रहेन । चुनावी नतिजा यसबाट प्रभावित छ ।


थोरै, वैकल्पिक राजनीतिक शक्तिहरुकै कुरा गरौं न । नयाँ शक्ति र विवेकशील साझा नयाँ राजनीतिक संस्कारसहित वैकल्पिक राजनीति गर्ने भनेर गठन भएका पार्टी । तर, नेतादेखि कार्यकर्तासम्मको गाली गलौज हेर्दा कस्तो संस्कार बनाउने भए भन्ने लाग्दैन ?
विवेकशील साझाका साथीहरुको बारेमा आजको दिनमा आएर म कुनै पनि कमेन्ट गर्न चाहन्छ । उहाँहरु एउटा सन्दर्भबाट एउटाखालको वैकल्पिक राजनीतिको अभ्यास गरिरहनुभएको छ । देशमा आज बोल्नका लागि अरु धेरै मुद्दाहरु छन् । ठूला पार्टीहरुले गरेका भ्रष्टाचारका मुद्दा छन्, सिन्डीकेटालिज्म छ । देशमा गरिबी कति बढिरहेको छ भन्ने हिजो मात्र एउटा रिपोर्ट आयो । २६ हजारलाई वार्षिक आय मान्दा पनि ३८ प्रतिशत गरिबी भनेपछि महंगीलाई आधार मान्दा त ६०/७० प्रतिशत गरिबी छ । भ्रष्टाचार त्यत्तिकै छ । यी यावत मुद्दाहरुको बीचमा यसपाली राष्ट्रिय पार्टी बन्ने नसकेको र बन्दै गरेको दलको बारेमा टिप्पणी गर्नुपर्ने देख्दिनँ । उहाँहरुले एउटा अभ्यास गर्दै हुनुहुन्छ, त्यसले के नतिजा दिन्न भन्ने कुरा हामीले पर्खेर हेर्ने हो । राम्रा कुराहरुमा सहकार्य गर्ने हो । नराम्रो कुराहरुको आलोचना गर्ने हो ।

नयाँ शक्तिकै कुरा गर्दा, स्थापनाकालको तामझाम टिक्न नसक्नुमा वैकल्पिक राजनीतिको आवश्यकता जनतामा अनुभूत नभएर होइन कि वैकल्पिक राजनीति गर्छौं भन्ने हामीहरुले वैकल्पिक पाराको ढंग नपुर्‍याएर माहौल बिग्रिएको हो जस्तो लाग्छ ।

यहाँहरुको पार्टी नेतृत्व एउटा टावर पर्सनालिटी हुनुहुन्छ । यो व्यक्तित्वको प्रभाव पार्टीमा कस्तो पर्दोरहेछ ? व्यक्ति हेरेरै पार्टीमा लाग्ने पनि होलान् । पार्टीबाट व्यक्तिभन्दा व्यक्तिबाट पार्टी चलेजस्तो पनि होला ? निर्णयहरुमा स्वामित्व लिनसक्ने अवस्था रहे कि रहेनन् ?

यो सवालमा केही समस्याहरु रहे । हामी धेरै संस्थागत हुनसकेनौं । पार्टी स्थापना भयो । केही मानिसहरु आए । पदको बार्गेनिङ गरे । फेरि, भाग्न थाले । पुरानै संस्कार र संस्कृतिका बोकेका मानिसहरुको ठूलो जमघट भयो । उहाँहरुको अपेक्षा र वैकल्पिक राजनीतिको मूल्य मान्यताहरु टक्राए । तत्काल चुनावहरु आए । स्थानीय चुनाव पनि तीन चरणमा भयो । प्रदेश र केन्द्रको चुनावहरु पनि आए । जन्मिँदै गरेको पार्टी यो परिणामको भागदौडको जटिलता, बारम्बार चुनाव आदिजस्ता अप्ठेराहरुको बीचमा हामीले पार्टीलाई संस्थागत गर्न नसकेकै हो ।

दुई वर्ष पार्टीमा बसेर वैकल्पिक राजनीतिको गफ दिनेहरु छाडेर जानासाथ सकेजति गाली गर्न थाले । इनपुटभन्दा आउटपुट झन पिछडिएको जस्तो । यसरी हेर्दा त यहाँ त कुनै प्रभावकारी संस्था नै बनेन कि जस्तो लाग्दैन ?
हाम्रोमा समाज र संस्कार नै यस्तै छ । अरु पार्टीको पनि हेर्नुस्, एमाले छाड्यो भने छाड्नासाथ एमालेलाई नै सत्तोसराप गर्ने । कांग्रेस छाड्नेले पनि छोडेको भोलिपल्ट कांग्रेसलाई नै सबैभन्दा धेरै गाली गर्छ । अरु पार्टीहरुमा यस्तै । यो नेपालीको आम संस्कार हो । नयाँ शक्ति भन्ने पार्टी भर्खरै बन्दै थियो । त्यो पार्टीले के चाहिँ बिगारिदियो त्यति ठूलो र यतिधेरै विरोध गरेर हिड्नुपर्ने ? यसले दिइहाल्नुपर्ने कुनै मन्त्री पद पनि थिएन । सशस्त्र युद्धमा होमिएर बलिदानमा लाग्न उत्प्रेरित गरेको पनि थिएन । ठूलै योगदान गर्नुपरेकोले यहाँ लागेर आर्थिक र पारिवारिक क्षति भएको पनि थिएन । नयाँ शक्तिले व्यक्तिहरुको के बिगारिदिएको थियो, जसले छाड्नासाथ यतिधेरै गाली गर्छन् ।

भनेपछि, दुई वर्षसम्म त केही सिकाउन सकेनछ त नयाँ शक्तिले ?
बन्दै गरेको पार्टी, बारम्बार चुनाव आयो । स्कूलिङ्ग पनि राम्रो भएन होला । डेढ वर्षमा सबै ठिकठाक पार्छौं भन्ने हाम्रो दावी थिएन । यो आन्दोलनले कम्तिमा एक दशक समय लिन्छ भनेर हामीले यसलाई सुरु गरेका हौं । कम्तिमा एक दशकको लागि धैर्यता राखेर आउनुस् भनेकै थियौं । तर, भागदौड त तीन महिनामै सुरु भयो । जो मानिस तीन महिनासम्म धैर्यता गर्न सक्दैन, उसले कस्तो वैकल्पिक पार्टी बनाउँछ होला ?

घोषणासभासम्म आउँदा त उभार नै देखिन्छ नयाँ शक्तिमा । तर, जसरी कुनै मापदण्डबिना टिका लगाउने र नेता बनाउने प्रक्रिया सुरु भयो, वैकल्पिक भन्दा पनि शक्तिको खोजी धेरै भयो, त्यतैतिरबाट बिग्रियोजस्तो लाग्दैन ?
म स्वीकार्छु । प्रक्रियाहरुमा कहिँ न कहिँ त्रुटिहरु भएकै छन् । सँगसँगै ध्यान दिनुपर्ने कुरा, लोकतन्त्रमा मान्छेलाई नआउ भन्न त मिल्दैन नि । पार्टीमा आउँछु भन्नेको पनि राजनीतिक अधिकार हुन्छ । तथापि ल्याउनेबित्तिकै मान्छेहरुलाई उनीहरुले भनेअनुसारकै पद दिइयो । क्षमता के हो, मनोवृत्ति के हो ? काम गर्छ कि गर्दैन ? यी सबै चिजको आंकलन गरिएन, यहाँ गल्ती भयो भन्ने मलाई लाग्छ ।

एकपटक पुराना पार्टीसँग तपाईंको पार्टीलाई तुलना गर्नुस् न । यो डेढ वर्षमा पुरानाले भन्दा वैकल्पिक हामीले यी यी काम गर्यौं भनेर सामान्य नागरिकले बुझ्ने गरी केही कुराहरु भन्न सक्नुहुन्छ ?
पहिलो कुरा डेढ वर्ष हाम्रो लागि पर्याप्त समय थिएन । दोस्रो कुरा, नयाँ शक्तिले ५ सको रुपमा जुन एजेन्डा उठायो, त्यो आज पनि सही छ । हामीले उठाएका एजेन्डा सम्झेर कहिँकतै पश्चात्ताप गर्नुपर्छ जस्तो लाग्दैन । नेपालमा राजनीतिक क्रान्तिको एउटा चरण सकियो र संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरेर अब आधारभूतरुपमा आर्थिक क्रान्तिमा लाग्नुपर्छ । आर्थिक क्रान्तिको युगमा बस्दा हामीले सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । आर्थिक समृद्धिको लागि भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउनुपर्छ ।

राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्नुपर्छ । हामीले परम्परागत समाजवादको परिभाषा पनि बदल्नुपर्छ र यसको नयाँ ढाँचासहित नेपाली राजनीतिलाई अगाडि लैजानुपर्छ भन्ने विश्लेषण, भाष्य हामीले निर्माण गर्‍यौं । यी सबै ठीक हुन् । यसमा कतिपनि पश्चात्ताप छैन । तर, अरु अभ्यासहरुमा भने हामीले त्यति नयाँपन दिन सकेनौं । यसको लागि मैले कुनै दावी गर्ने भन्दा जनसमुदाय र नयाँ शक्तिका समर्थक शुभचिन्तकसँग क्षमा माग्नुपर्ने हुन्छ । मलाई, आगामी दिन नेपालमा वाम लोकतान्त्रिक शक्तिको रुपमा नयाँ शक्तिलाई स्थापित गरेर लैजान सकिन्छ भन्ने विश्वास छ ।

अब नागरिकले पनि महसुस गर्नेगरी साँच्चै नयाँ र वैकल्पिक ढंगले यसरी अगाडि बढ्नुपर्छ भन्ने कुनै योजना छ ?
हामी दुई चार महिना आन्तरिक कामहरुमा लाग्छौं । हामीसँग जत्रो पार्टी छ, त्यसैलाई केन्द्रीकृत गर्दै बैठक, छलफल र समीक्षा गर्दै हामी कहाँनेर चुक्यौं ? भन्ने प्रश्नको उत्तर खोज्दै सुधारतिर लाग्छौं । यसैगरी वैकल्पिक शक्तिहरुबीचको वृहत एकता, वृहत ध्रुवीकरण र मोर्चाबन्दीको लागि प्रयास गर्छौं । यसैगरी, हामी तत्काल सरकारबारे बोल्दैनौं, निर्माण हुँदैछ । हनिमुन पिरियड पनि होला । त्यसपछि राज्यले गर्ने बेथितिविरुद्ध र जनसरोकारका मुद्दाहरुमा बलियोगरी प्रस्तुत हुने प्रयास गर्छौं । चौथो कुरा, अर्को चुनाव लक्षित गर्दै तत्काल रणनीति बनाउँदै लागू गरेर अगाडि बढ्छौं । पाँचौं कुरा आउँदो पाँच वर्षभित्र नेपालमा सैद्धान्तिक वैचारिक हिसाबले वाम लोकतान्त्रिक र शक्तिका हिसाबले कम्तिमा तेस्रोदेखि पहिलो पार्टीसम्म बन्ने लक्ष्यसहित अगाडि बढ्छौं । एउटा नयाँ पार्टी नेपालको संसदमा र राजनीतिक क्षितिजमा शासनदार ढंगले स्थापित गर्ने हाम्रो उद्देश्य हुन्छ ।

यही तरिका, शैली र संगठनात्मक संरचनाले कि केही बदलाव पनि ल्याउनुहुन्छ ?
अहिलेकै तरिकाले यो उद्देश्य पूरा गर्न सक्दैनौं । एउटै कुरालाई उही तरिकाले निरन्तरता दिए फरक परिणाम आउँदैन । सधैं हिडिराख्ने बाटोमा हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिँदैन । इनपुट परिवर्तन नगरी आउपुट परिवर्तन गर्न गाह्रो हुन्छ । त्यसैले हामी इनपुट पनि परिवर्तन गर्छौं । शैली फेर्छौं । विचारमा रहेका अस्पष्टता हटाउँछौं । आमरुपमा नागरिकलाई अपिल गर्छौं । करिब १० लाख मतदाता समानुपातिक प्रणालीभन्दा बाहिर छन् । यो समूहमा पनि पुग्छौं । अन्तरक्रियालाई व्यापक बनाउँछौं । वैकल्पिक भन्ने पार्टीहरुसँग पनि छलफल हुन्छ । यी सबै प्रक्रियाबाट एउटा नयाँ सिनर्जी पैदा हुन्छ ।

तर नयाँ शक्तिले बाटो भन्दा गन्तव्य नै फेरिदिने हो आशंका गर्नेहरु पनि छन् ?
हामीले विगतमा गरेका केही गल्तीहरुका कारण मानिसहरुले आशंका गर्नु स्वभाविकै हो । विगतका गल्तीहरु दोहोरियो भने नयाँ शक्ति भन्ने पार्टी नै रहँदैन । म ढुक्क छु, आगामी दिनमा यी गल्तीहरु दोहोरिँदैनन् । नदोहोर्याउनको लागि विगतबाट सिक्दै मैले पनि सक्दो प्रयास गर्छु ।

विवेकशील साझा र नयाँ शक्तिका राम्रा नराम्रा दुवै पक्षहरु होलान् । एकजना वैकल्पिक राजनीतिक नेतृत्वका हिसाबले यी दुई पार्टीबीचको सहकार्य र संघर्षको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपालमा वैकल्पिक राजनीतिको शक्तिको स्पेश स्पष्ट देखिएको छ । यो कुरा दुवै पक्षले बुझ्नुपर्छ । हामीबीच ठूला विमतिहरु पनि छैनन् । सेन्टर लेफ्ट र लेफ्ट डेमोक्र्याट भन्नुमा दार्शनिक हिसाबले खासै भिन्नता देखिन्न । नयाँ शक्तिले समृद्धि सम्भव छ हाम्रो पालामा भन्ने नारा सुरुमै बनाएको सबैलाई थाहा छ । उहाँहरुले पनि समृद्धि गरेरै छाड्ने हो, हेरेरै मर्ने हो भन्ने नारा दिनुभएको छ । यसमा पनि भिन्नता छैन । त्यसैले विकास, समृद्धि र सुशासन युगमा हामी छौं, राजनीति त्यतै मोड्नुपर्छ भन्ने कुरामा पनि समानता छ । शासकीय स्वरुपमा पनि समानता छ । बाह्य र आन्तरिक लोकतन्त्रको विषयमा पनि समानता नै देख्छु । यसर्थ, विचार, कार्यक्रम, नीति र एजेन्डामा मैले त्यत्ति भिन्नता देख्दिन । ९० देखि ९५ प्रतिशत समानता देख्छु, पाँच प्रतिशत फरक भनेको संसारमा जहाँ पनि हुन्छ ।

तर पनि दूरी त धेरै नै छ जस्तो देखिन्छ नेता कार्यकर्ताहरुको अभिव्यक्ति हेर्दा त ?
यो भनेको संगठनात्मक इगो हो । पार्टीहरु भिन्नाभिन्नै जन्मिएपछि आआफ्नै अहमहरु हुन्छन् । स्वतत्व हुन्छन्, संस्कार हुन्छन्, तिनीहरु टक्राउँछन् । यिनीहरुलाई टकराउन दिनुपर्छ । तपाईं हेर्नुस् न, कम्युनिष्टहरुमा के भयो ? हिजो मोहनविक्रम र प्रचण्डले एकअर्कालाई कति गाली गर्थे ? माओवादी र एमालेले एकअर्कालाई कति गाली गर्थे ? भौतिक हमलामा नै उत्रिएका देखेकै छौं । आज उनीहरु मिलेर हिँडिरहेका छन् । समय पनि आउनुपर्छ कतिपय सन्दर्भमा । भिन्न रहुन्जेल आफ्नो पार्टी ठूलो बनाउन नै प्रयास गर्ने हो । यो राजनीतिमा लाग्नुको न्यूनतम् नैतिकता हो । म जहिलेसम्म नयाँ शक्तिमा हुन्छु, यसलाई ठूलो र राम्रो बनाउन र यसको हितमा नै मेरो सम्पूर्ण प्रयास केन्द्रित हुन्छ । यसको अर्थ, मैले अरुको अस्तत्विलाई निषेध गर्छु वा अरुलाई गाली गर्छु भन्ने होइन । एउटा खास समय आएपछि सबै कुराहरु मिल्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob