scheduleसोमवार आश्विन ८ गते, २०७५

‘बाबुरामलाई वामपन्थी गठबन्धनबाट बाहिर्‍याउनेहरु नै बाहिरिए’

समाचार टिप्पणी/काठमाडौं, २४ मंसिर । ‘नारायणकाजी र बामदेवको व्यवहारका कारण बाबुराम वामपन्थी गठबन्धनबाट बाहिर निस्किए,’ नयाँ शक्तिका एक युवा भन्दैथिए, ‘यिनीहरुले वैकल्पिक राजनीतिलाई गुन लगाए ।’

एमाले अध्यक्ष केपी ओलीको प्रयासका कारण अन्तिम समयमा भित्रिएका थिए वाम गठबन्धनमा बाबुराम भट्टराई । भित्रिँदा जुन उत्साहका साथ भित्रिए बाबुराम, निस्कँदा एउटा नमिठो अनुभूति संगालेर निस्किएका थिए । उनी वैकल्पिक राजनीतिक धेरथोर मैदान पनि गुमाएर फर्किए, जसको प्रत्यक्ष प्रभाव समानुपातिक मतमा देखिन सक्छ । प्रचण्डले पनि बारम्बार ‘साथीहरुले अप्ठेरो पारे भन्ने र ओली र ओली निकटकाले पनि पार्टीभित्रै गाह्रो भयो भन्ने । आखिर को थियो माओवादी र एमालेभित्र बाबुरामलाई देखिनसहने पात्र ? समयले पर्दा उठाइसकेको छ । यससम्बन्धी धेरै खबरहरु सञ्चार माध्यमहरुमा आइसकेका छन् ।

नयाँ शक्तिका ती युवाले भनेजस्तै ती नेताहरुको भूमिका वैकल्पिक राजनीतिलाई सघाउन थियो कि आफ्नो भूमिका सुरक्षित गर्न थियो, यसको जवाफ समयले दिनेछ । ‘वाम गठबन्धनबाट बाहिरिन बाध्य पार्ने र मुख्य नेतालाई घेरा हालेर बाबुराम भट्टराईलाई राजनीतिकरुपमा बदनाम गर्न खोज्ने दुई जना पात्रलाई कार्यकर्ता र जनताले सजाए दिए,’ नयाँ शक्तिकी नेतृ अरुणा रायमाझी फेसबुकमा लेख्छिन्, ‘समय सधैं आफ्नो पोल्टोमा हुँदैनरहेछ कमरेड ।’

बाबुराम आएपछि वाम गठबन्धनमा आफ्नो ‘स्पेस’ कम हुने सोच्ने माओवादी र एमालेका पात्रहरु नारायणकाजी श्रेष्ठ र वामदेव गौतम नै रहेको नयाँ शक्तिका एक नेताले बताए । वाम गठबन्धन भइसकेपछि त्रिपक्षीय बैठक बोलाइएको थियो । नयाँ शक्तिबाट पुगेका थिए गंगा श्रेष्ठ । सम्भवतः वामदेवले गंगालाई चिनेनन् र उनले भने, ‘यो नयाँ शक्तिको मान्छे किन चाहियो, यसो कतै प्रतिनिधि भनेर नाम लेखिदिऊँ, भइहाल्यो नि ।’


वामदेवको यस्तो होच्याउने अभिव्यक्ति सुनेपछि नयाँ शक्तिका प्रतिनिधि गंगा श्रेष्ठ अमिलो मन बनाएर फर्किए । त्यसपछिका बैठकहरुमा नयाँ शक्तिलाई बोलाइएन् । ‘एमाले र माओवादीको नेतृत्वले मुखै खोलेर उहाँहरु (गौतम र श्रेष्ठ)को नाम लिनुभएको छ,’ नयाँ शक्तिका एक नेता भन्छन्,’बाबुराम आउँदा आफूले पाउने भूमिका खोसिने डरमा नयाँ शक्तिलाई अघोषित रुपमा निषेध नै गरियो ।’

उम्मेदवार छनौट गर्दैगर्दा माओवादीका कतिपय नेतादेखि कार्यकर्तालाई ‘बाबुरामको हिम्मत भए गोरखाबाहिर उठ्न र जितेर देखाउन’ उनीहरुले चुनौती दिन्थे । ‘एकपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई होच्याउने ढंगले अभिव्यक्ति दिइयो,’ एक नयाँ शक्तिका नेताले भने, ‘अपमानित पनि गरियो, कतिपय नेताहरुले त्यतिबेला दिएको अभिव्यक्ति अहिले सम्झँदा पनि अप्ठेरो लाग्छन् ।’ बाबुरामका प्रतिस्पर्धी बनेका श्रेष्ठले नै बाबुरामले वडा अध्यक्ष पद पनि नजित्ने जस्ता अभिव्यक्ति दिए । ओलीले गोरखा पुगेर ‘करकलोलाई बञ्चरो’ भन्दै दिएको अभिव्यक्ति र प्रचण्डले ‘ठाडो’ भाषामा दिएको धम्की अहिले पनि गोर्खालीहरुले सम्झिरहेका छन् ।

यो कुरा बाबुरामको लागि ‘इगो’ जस्तै बन्यो । बाबुरामले गोरखाबाट जित्न अत्यधिक मेहनत गरे । रोटी र साग खाँदै ६३ वर्षको उमेर १८ घन्टासम्म खटेका बाबुरामले अन्ततः नारायणकाजीको भन्दा झन्डै ७ हजार बढी मत ल्याएर विजयी भए ।

उता बर्दियाबाट वामदेव गौतम पनि पराजित भएका छन् । आफ्नो पूर्व पार्टी मालेका उम्मेदवार र नयाँ शक्तिको उम्मेदवारले काटेको मतले उनी पराजित हुनुपर्‍यो ।
‘उहाँहरुले सिंगो वामपन्थी आन्दोलन र मुलुकको समृद्धिभन्दा पनि फलानू आउँदा मेरो हैसियत के हुन्छ भनेर सोच्नुभयो,’ एक नयाँ शक्तिका नेताले भने, ‘उहाँ (बाबुराम) जुनसुकै भूमिका रहेर पनि समृद्धिको लागि मर्नुअघि केही गर्नुपर्छ भन्ने मानसिकतामा हुनुहुन्थ्यो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob