scheduleसोमवार आश्विन ८ गते, २०७५

वाम गठबन्धनको टेकोमा अडियो राजतन्त्र र हिन्दू राज्यको नारा

साझापोस्ट/काठमाडौं, २४ मंसिर । कसैको हारमा रमाउनु राम्रो होइन । तर जब हार कुनै पिछडिएको एजेन्डा र विचारको हुन्छ र त्यसलाई बोक्ने नेताहरु हार्छन्, नागरिक खुसी नभई रहन सक्दारहेनछन् । यस्तै देखियो सामाजिक सञ्जालमा यो निर्वाचनको नतिजाले । हजारौं सहिदको बलिदानबाट मुलुकमा जनताले संघीय गणतन्त्र नेपालको संविधान लेखे । राजतन्त्रीय शासन व्यवस्थामा गणतन्त्रको नारा लगाउनु वर्जित् हुन्थ्यो । तर, गणतन्त्रमा केही राजतन्त्रवादीहरु राजतन्त्रको नारा लगाउँदै सदनमै थिए ।


ठूला दलहरुको सत्ता स्वार्थको भर्‍याङ बन्दै सरकार र सदनमा लामो समयसम्म अस्तित्वमा रहेको राप्रपा नेपाल यो चुनावबाट बढारिने संकेत देखिएको छ । संविधानविपरित राजतन्त्र र धर्म सापेक्षताको नारा लगाउँदा पनि सत्ता हल्लने डरले गणतन्त्रवादी भनिएका दलहरु चुपचाप सहन्थे । तर, यो निर्वाचनबाट जनताले यो कुरा नसहेको पुष्टि भएको छ ।

राप्रपाका विभिन्न धारका प्रायः सबै नेताहरु पराजयी भएका छन् । पशुपति शम्शेरले गणतन्त्रको एजेन्डालाई सम्बोधन गर्ने प्रयास गरेका थिए । उनी पनि पराजित भए ।

हिन्दू राज्य र राजतन्त्रको नारा लगाउने कमल थापा र उनको पार्टीका सबै नेताहरु केही पराजित भइसके भने केही पराजय नजिकै छन् । कमल थापा, दिपक बोहरा, सुनिल थापा लगायतका नेताहरु पराजित भइसके भने चितवनमा विक्रम पाण्डे प्रचण्डभन्दा पछाडि नै छन् ।

सबैतिर बढारिएर पनि झापा क्षेत्र नं. ३ मा वाम गठबन्धनको सहयोगमा राप्रपाका नेता राजेन्द्र लिङ्देन विजयी हुने निश्चित जस्तै भएको छ । कांग्रेसमा गणतन्त्रवादी नेता भनेर चिनिने कृष्ण सिटौला वाम गठबन्धनले राप्रपालाई सघाएपछि पराजयको नजिक पुगेका छन् र उनै राप्रपाका लिङ्देनले विजय हासिल गर्दैछन् । लिङ्देनलाई विजयी गराउन ओली आफैंले सिटौलाविरुद्ध भोट मागेका थिए ।

कतिपय माओवादी र एमालेकै नेता कार्यकर्ताले यस्तै प्रतिक्रिया दिइरहेका छन् । अधिवक्ता देवेन्द्र कोइराला भन्छन्, ‘शान्ति प्रक्रियाका सक्रिय कांग्रेस नेता कृष्णप्रसाद सिटौला हारेर पञ्चे जित्नु र जिताउनु उदेकपूर्ण छ ।’

यो निर्वाचन जनताले बनाएको संघीय गणतन्त्र नेपालको संविधान अनुमोदन गर्ने निर्वाचन पनि हो । यो निर्वाचनमा जनताले राजतन्त्रलगायत आन्दोलनको म्यान्डेटविपरित एजेन्डा लिने दलहरुलाई निषेधजस्तै गरेका छन् ।

जनताले बाटो बन्द गरिदिए पनि वाम गठबन्धनकै टेकोमा अडिएका झापाका लिङ्देनले संसदबाट राजतन्त्र र धर्म सापेक्षताको नारा लगाए भने अनौठो नमाने हुने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob