scheduleसोमवार आश्विन ८ गते, २०७५

अस्ट्रेलियाबाट फर्केर देश फेर्ने संकल्पसहित चुनावी मैदानमा खरेल

नवलपरासी, १५ मंसिर । झण्डै एक दशक अस्ट्रेलियामा रहेर पत्रकारितासहित विभिन्न पेशा व्यवसाय गर्दै आएका नवलपरासीका सरोज खरेल यतिबेला चुनावी मैदानमा छन् ।
लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै विदेश आखिर सपना नै हो । विपना फेर्ने हो भने स्वदेश फेर्नुपर्छ । खरेललाई यस्तै लाग्यो र देशमै केही गर्ने प्रतिवद्धता र संकल्प बोकेर स्वदेश फर्किए । हाल उनी नयाँ शक्ति पार्टी नेपालबाट नवलपुर क्षेत्र नं. १ ‘क’मा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । उनले गैंडाकोटमा कपडा गार्मेन्ट सुरु गरे भने काठमाडौंबाट अनलाइन चौतारी डटकमको कामलाई पनि निरन्तरता दिइरहे । तर, देशको अवस्था विरक्तलाग्दो देखेपछि उनलाई लाग्यो, देश बदल्न त राजनीति बदल्नुपर्नेरहेछ ।

‘मेरै उमेर समूहका ४० लाखभन्दा बढी युवायुवतीहरु शासकहरुको असक्षमताका कारण विदेशमा निर्वासित जीवन बाँचिरहेका छन्, ४० कटेसी रमाउँला भन्ने गीत गाएर रोइरहेका छन्,’ खरेल भन्छन्, ‘अहिले त युवालाई निर्वासित गराउने असक्षम नेता र दलहरु नै त्यही ४० लाख युवा बेचेर भोट मागिरहेका छन् ।’ राजनीति ट्र्याकभन्दा बाहिर छ, समृद्धिअनुकूलको राजनीतिलाई जिउँदो बनाउन युवा पनि राजनीतिमा जानै पर्ने उनको ठम्याई छ ।

‘बाहिर बसेर गाली गरेर मुलुक बन्दैन, राजनीतिक प्रक्रियाभित्रै समावेश भएर यहाँको फोहोर सफा गर्न सकिन्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘यसकारण म पनि उम्मेदवार बनेर मैदानमा उत्रिएको छु ।’ विदेशमा बसेर विभिन्न काम गरेका उनले आफ्नो अनुभवलाई स्वदेशमा लागू गर्न चाहेको बताउँछन् ।


‘नेपालको विविधतालाई जोड्न सक्ने, भिजन भएका नेता भएको र वाम-लोकतान्त्रकि राजनीतिक कार्यदिशा भएको अझ समृद्धिकै नेतृत्व गर्नुपर्छ भनेर स्थापित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मेरो रोजाईमा पर्‍यो,’ उनी भन्छन्, ‘म अत्यन्त उत्साहका साथ चुनावी मैदानमा उत्रिएको छु । जनताको माया र विकल्पप्रतिको उत्कट चाहना र लगाव देखेर हौसिएको छु ।’

‘तपाईंको उम्मेदवारी कसको विरुद्ध ?,’ प्रश्न भुईंमा झर्न नपाउँदै उनले भने, ‘मेरो उम्मेदवारी गरिबी, बेरोजगारी, पछौटेपन, भ्रष्टाचारविरुद्ध । कुनै दल वा उम्मेदवारविरुद्ध हाम्रो उम्मेदवारी होइन ।’ आन्तरिक र बाह्य दुश्मन किटान गर्ने तत्कालीन नेकपा माओवादी पार्टीमा लागेर जनयुद्धको समेत एकजना युवा नेता र कमाण्डर बनिसकेका उनले भने, ‘एकात्मक राजतन्त्रात्मक व्यवस्थाविरुद्ध लडेर संघीय गणतन्त्रको लागि त हामी लडिसकेका छौं ।’

अबको राजनीतिले युवाहरुको उद्यमशीलता जगाउनुपर्ने उनको तर्क छ । ‘मतदाताहरुमा देश परिवर्तन भएन, नेताहरुले ढाँटे, बेरोजगारीको अन्त्य भएन, दुःखको दिन गएन भन्ने गुनासो छ, जब म डा.भट्टराईको नेतृत्वमा यो सब अवस्था बदल्न सक्छौं भनेर मेरा योजनाहरु सुनाउँछु, मतदातामा नयाँ विश्वास र उत्साह बढेको पाउँछु ।’

खरेल पुरानो पार्टीहरुमा रुपान्तरणको सम्भावना सकिएसँगै नयाँ पार्टीको औचित्य सुरु भएको तर्क गर्छन् । ‘हुन त वहाँहरुको गठबन्धन बनेको छ, तर वहाँहरुको गठबन्धन माइनस टुमा माइनस टु जोडेको जस्तै हो, जसको नतिजा माइनस चार हुन्छ,’ उनको तर्क छ, ‘उनीहरु रुपान्तरण भए त हामीले किन दुःख गर्नुपर्थ्यो र ?’

हिजोका आन्दोलनहरु राजनीतिक व्यवस्था फेर्नका लागि भएकोले पुरानो पुस्तालाई सम्मान गर्नुपर्ने उनको तर्क छ । ‘पुराना पार्टीहरुमा पनि असल नेताहरु छन् र राजनीति बाहिर पनि प्रतिभा र क्षमताहरु छन्,’ उनी भन्छन्, ‘यी सबैलाई जोडेर युग सुहाउँदो पार्टी बनाउनुपर्छ, नयाँ शक्तिले पनि धेरै मेहनत गर्नुपर्नेछ तर, यो तथ्यलाई स्वीकारेको हुनाले हामी अगाडि जान सक्छौं भन्ने मेरो विश्वास हो ।’

नयाँ शक्तिको पाँच स ले पुँजीवाद र समाजवादको असफलताको समीक्षा गरेको र नेपाली मौलिकतामा वाम-लोकतान्त्रिक नयाँ मोडेल विकास गरेको खरेलको बुझाई छ । जननिर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई ठूला पार्टीले छाडेकोले नयाँ शक्तिले यो मुद्दालाई प्राथमिकतामा राखेर उठान गर्नुपर्ने बताउँछन् ।

‘जबसम्म विकास, समृद्धि र प्रगतिका सवाललाई राजनीतिको मूलधारमा स्थापित गरिँदैन, देशलाई समृद्धिको दिशातिर लैजान सकिंदैन भन्ने कुरा अब स्वतः स्पष्ट हुन गएको छ,’ उनी भन्छन्, ‘यसर्थ, विकास र समृद्धिको मुद्दालाई नै राजनीतिको केन्द्रीय विषय बनाएर नयाँ शक्ति पार्टीले यो देशलाई समुन्नत समाजवादको दिशातिर लैजाने लक्ष्य निर्धारण गरेको छ । यसका लागि युवा पुस्ताको भूमिका निर्णायक हुनेछ ।’

आम नागरिकको अवस्था फेर्ने ध्येयका साथ राजनीतिमा लागेका खरेल आर्थिक विकास, समृद्धि र प्रगतिमार्फत् आम नागरिकको मुहारमा मुस्कान भर्ने सपना देखेर राजनीतिमा क्रियाशील छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob