scheduleसोमवार आश्विन ८ गते, २०७५

युवा नेतृत्व खोज्दै आँधीखोला

सागर पौडेल

स्याङ्जा क्षेत्र नं. १ अन्तर्गत पर्ने आधीखोला गाउँपालिकामा मेरो स्थायी घर पर्दछ । आधा जीवन अरबको खाडीमा बित्यो । आज मेरो मोबाइलको घण्टिले पुराना कुरा सम्झिने र लेख्ने प्रेरणा आयो । ४८ डिग्रीको तापक्रममा काम गर्दै गर्दा मोबाइलको घण्टी बज्यो । २/३ मिसकल भए लगातार फोन आउँदा हेरेँ, नेपालबाट रहेछ ।

फोन खुसी हुँदै उठाएँ । चिने जानेका भाइको रहेछ । कुरा गर्दै गएपछि बुझे चुनावमा भोटको कुरा गर्दै थिए । मलाई झनक्क रिस पनि उठ्यो । आफुले अहिलेसम्म भोट हाल्न पाएको छैन । मेरा बुबा आमाले धानको बाला, रूख, सुर्य हुँदै हँसिया हथौडासम्म भोट हालेकै हुन् । खै म आजसम्म पनि अरबको खाडीमा श्रम बेच्दै छु । केहि बर्ष अगाडि बुबाको मृत्युमा परदेश भएको हुँदा बुबाको अन्तिम मुख हेर्न पाइनँ । पार्टीहरूले सम्झेको पाइएन ।

दिनेश पौडेल

फोन काटी दिएँ । बेलुका कामबाट फर्केपछि दिउँसोको घटना सम्झिएर केहि पछुतो पनि लाग्यो । इतिहास सम्झने कोसिस गरेँ । सबैको नाम याद भएन । याद भएका केहि अग्रजको नाम लेख्दा यस्तै योगदान पुर्‍याएका पात्रहरू छुटेका होलान् । यसमा म क्षमाप्राथि छु । आधीखोला सबै कालखण्डमा युवा नेतृत्वको खोजीमा रहन्छ । आज मलाई खुसी बनायो, नयाँ चिन्तन र योजना बोकेर एउटा भाइले फोन गरेकोमा ।

स्याङ्जा सदरमुकामको काखबाट बग्ने आँधीखोलाको उद्गम क्षेत्र जुन आँधीखोला गाँउपालिका भित्र पर्दछ । श्रवण कुमार र दृष्टिविहिनहरुको नामबाट रहन गएको हो उक्तनाम । द्वापर युगको रामायणको कालखण्डमा अयोद्यासम्म जोडिएको छ । धेरै समयको अन्तरालपछि नामभए पनि आएको छ । यसैलाई हामीले उपलब्धि नै मान्नुपर्छ । उक्त क्षेत्र आजसम्म पनि धार्मिक र पर्यटकीय दृष्टिकोणले आफ्नु नाउँ केन्द्रसम्म चलाउनसकेको छैन । दशरथले श्रवण कुमारलाई वाण हानेको ठाउँ तिखे चुली र लागेको ठाउँ पञ्चासेको जंगल यसैभित्र पर्दछ । परापूर्वक कालदेखि नै आफ्नु छुट्टै पहिचान बोकेको यो क्षेत्रलाई देश तथा विदेशमा किन प्रचार गर्न सकिएन भन्ने प्रश्न उठ्न सक्छ । यसभित्र विभिन्न कुराहरू जोडिएका हुनसक्छन् । समग्रमा हेर्ने हो भने यस भेगबाट हुनुपर्ने राजनीतिक क्षेत्रमा पहुँचको अभाव नै हो । शैक्षिक दृष्टिकोणले अति नै विकसित यो क्षेत्र भौतिक, सामाजिक, आर्थिकरूपमा विकास हुन सकेन । कारण मानिस बस्नको लागि आवश्यक पुर्वधारको विकास नहुनु हो ।

राजनीतिक चेतना जतिसुकै भएपनि नेतृत्व गर्ने क्षमताको विकास हुन सकेन । फलस्वरूप आज पनि पछाडि परेकै छ । यस क्षेत्रबाट राजनीतिमा अगाडि आउन धेरै महानुभावले प्रयास नगर्नु भएको होइन । कतिजना सफल देखिनुभयो भन्ने कुराहरू हाम्रो इतिहासले बताई रहेको छ । त्यस ठाउँबाट राजनीति गरेर आफ्नो पहुँचलाई केन्द्रसम्म पुर्‍याउन सफल व्यक्ति अम्बिका पौडेलको नाम अगाडि आउँछ ।

उहाँको कार्यकालमा भएका विकास निर्माणले यस क्षेत्रको विकासको जग बसाएको छ । जस्तो- चिलाउनेबासको मावि, सुरक्षा र केहि झोलुङ्गे पुलको निर्माण नै सबैभन्दा ठूलो विकासको दियो हो । उहाँ पछि क्याप्टेन रूद्रमान गुरूङले पन्चमुल शिरूवारीलाई प्रथम ग्रामिण पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा परिचित गराउनु भएको थियो । तर त्यो डाडा काटेर आधीखोलामा झर्न सकेन । २०५१ पछि त्रिलोचन ढकाल कृषि मन्त्रि हुँदा यस क्षेत्रले धेरै आस गरेकै हो ।

जति जनशक्ति यस ठाउँले उत्पादन गर्न सफल भयो त्यो सबै निजामति, जंगी, शैक्षिक, न्यायिक क्षेत्रतिर गए तर, राजनीति नेतृत्व विकासतर्फ अगाडि बढ्न सकेन र केन्द्रसँग जोडिन सकेन । तर, शैक्षिक क्षेत्रबाट त्यस क्षेत्रले फड्को मारेको छ । त्यति राजनैतिक क्षेत्रमा अगाडि बढ्न सकेको छैन । राजनीतिक क्षेत्रबाट नेतृत्व लिन सकेन भने त्यस ठाउँ पछाडि पर्नेरहेछ । गाउँबाट बाहिर गएका बौध्दिक व्यक्तिहरू गाउँ फर्केर बस्न छोडेपछि विकास पनि हुँदो रहेनछ ।

यस क्षेत्रबाट नेपाल सरकारका सचिव, सह-सचिवहरू नभएका हैनन्, छन् । तर, किन त यस क्षेत्रमा राम्रोसँग सबै जनता चिसो पानी र मिठो हावासँग साईनो गाँस्न सकेनन् । पुराना राजनीतिक गर्नेहरूमा लिला पौडेल, थानेश्वर पौडेलको नाम आउँछ । नेपालको राजनीतिक परिवर्तन हुँदा यस क्षेत्रबाट त्यस्तो चमत्कारी नेतृत्व पाउन सकेनन् जनताले । चिलाउनेबासको नेतृत्व गर्ने गुणाखर सापकोटा भुवन केसीहरूको नाम २०४६ पछि आएको थियो ।

समयको चक्रसँगै राजनीतिमा लाग्नेहरूमा सुधिर पौडेल, प्रेम पौडेल, विश्व पौडेल आदिहरूको नाम आउँछ । तर पनि कति निर्वाचनहरू गए, यस क्षेत्र र भेगका जनताले नजिकैको उमेदवारलाई भोट दिन पाएनन् । नाम चलेकाहरूबाट नेतृत्व हुने छ भन्ने आसमा जनता थिए। आजभोलि जनता केहिरूपमा खुशी देखिन्छन् किनकि नयाँ संरचना अनुसार गठन भएको गाउँपालिकामा सुधिर पौडेलले नेतृत्व पाएकोमा ।

अहिले हालको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा प्रदेश सभाको लागि एकजना युवा दिनेश पौडेल नयाँ जोस र जाँगरका साथ केहि गर्ने अठोटका साथ निर्वाचनमा होमिएका छन् । आफ्नो अध्ययन सकेर विदेश तथा अन्य क्षेत्रका धेरै अवसरहरूलाई समेत त्यागी वैदेशिक रोजगारमा गएका युवाहरूलाई यही क्षेत्रमा उनीहरूले सिकेको शिपलाई पुँजीमा बदलेर स्थायी रोजगारको सिर्जना गर्ने उद्देश्य बोकी आफ्नो ठाउँको नेतृत्व लिन खोज्नु, चिनाउन खोज्नु नै उसको विशेषता हो ।

उसको आँटलाई हामीले स्विकार्नु कति हदसम्म राम्रो हुन्छ भन्ने कुरालाई सोच्ने बेला आएको छ । घरमाथि मुल छ भने आँगन अवश्य चिसो हुन्छ । त्यसैले उसले विकास गर्न खोजे नखोजे पनि आफ्नो घर आँगन बनाउन अवश्य खोज्लान् नि । राजनीतिक गफ, जसले नि जानेका हुन्छन् । झण्डा र झोला सबैले बोक्छन् तर, नेतृत्व लिने खोज्ने आँट सबैमा हुँदैन । एउटा होनहार युवा जोसँग लोभ लालच, छलकपट केहि छैन । उसँग केवल आफ्नु ठाउँ समाजको कसरी विकास गर्न सकिन्छ भन्ने सोच साथै सबै सामु अफुलाई चिनाउने र भविष्यमा आफ्नो ठाउँको आफैले नेतृत्व लिने आँट जोसका साथ ऊ अगाडि बढिरहेको छ भन्दा फरक पर्दैन ।

आर्थिक अभावले गर्दा, जागिर खानुपर्ने बाध्यताले कतिपय बौध्दिक व्यक्ति राजनैतिक क्षेत्रमा हामफाल्न सक्नु भएन । त्यसैले भोलि यस क्षेत्रको प्रतिनिधित्व गर्न सक्ने र आफ्नो क्षेत्रलाई अगाडि बढाउन सक्ने क्षमता राख्न उसले खोजिरहेको छ । उसँग आँट र अठोट छ त्यसलाई अगाडि बढ्नबाट बन्चित गर्नु कतिको राम्रो होला ? भविष्यमा यो आँट राख्न सक्ने क्षमता हामीमा छ कि छैन त्यो सोच्नु जरूरी छ । कि हामी आफैले त्यो आँट राख्नुपर्‍यो वा अगाडि बढ्न खोज्नेलाई आवश्यक सहयोग गर्ने बेला आएको छ ।
राजनीतिक दर्शन जेसुकै होस्, सिद्धान्त जुनसुकै होस्, हामीलाई चाहिएको हाम्रो पहिचान हो । त्यो क्षेत्रको प्रतिनिधित्व भएमा हामीलाई काम गर्न पनि सजिलो होला । आगामी निर्वाचन ऊ एकल साझा नेतृत्वको रूपमा अगाडि आएको छ । खै त यो क्षेत्रबाट उमेदवार ऊ बाहेक को छ ? आफ्नो चौपारीको पिपललाई हेरेर चाहना गर्नु यहाँका जनताको कर्तव्य हो । आँधीखोलाको विकासमा नयाँ नेतृत्व दिनेश पौडेल आउन खोजेका छन् । हाम्रा सबै कुन्ठाहरू त्यागेर एकपटक सोचौं । अब ढिला नगरौं ।

हालः दोहा, कतार

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob